भगवद्गीता नेपाली

अध्याय ९ · परमगोपनीय ज्ञान

श्लोक १: भगवानले भन्नुभयो- प्रिय अर्जुन ! तिमीले कहिल्यै पनि मेरो ईर्ष्या गरेनौ त्यसैले म तिमीलाई परमगोपनीय ज्ञान र अनुभव भन्दछु । यसलाई जान्नाले तिमी समस्त कष्टमय संसारिक बन्धनहरूबाट मुक्त हुनेछौ ।


श्लोक २: यो ज्ञान विद्याको राजा हो, समस्त रहस्यहरूमध्यको महागोपनीय रहस्य हो, यो नै शुद्ध-पवित्र ज्ञान हो, यसले अनुभूतिद्वारा आत्माको प्रत्यक्ष बोध गराउँदछ, यही नै धर्मको पूर्णता हो, यो नित्य-अविनाशी छ र यसलाई आनन्दपूर्वक सम्पन्न गर्न सकिन्छ ।


श्लोक ३: हे परन्तप अर्जुन ! भक्तियोगमा श्रद्धा नभएका व्यक्तिहरू मलाई प्राप्त गर्न नसकि फेरि जन्म र मृत्युको चक्र चलिराख्नी यस संसारमा फर्किन्छन् ।


श्लोक ४: यो समस्त ब्रह्माण्ड मेरो अव्यक्त रूपले ढाकिएको छ, सम्पूर्ण जीव ममा आश्रित छन् तर म उनीहरूमाथि आश्रित छैन ।


श्लोक ५: तापनि मद्वारा सृजित यो शृष्टि मैमा स्थित हुँदैन । मेरो योगशक्तिलाई हेर, म सम्पूर्ण प्राणीहरूको पालनकर्ता हूँ, सबै ठाउँमा म व्याप्त छु तर पनि म यस जगतको अंश होइन, म त स्वयं सृष्टिको कारण हूँ ।


श्लोक ६: जसरी सबैतर्फ प्रवाहित हुने शक्तिशाली हावा आकाशमै स्थित रहन्छ त्यसै गरी सृष्टि भएका सम्पूर्ण प्राणीहरू ममा नै स्थित रहन्छन भन्ने कुरा तिमीले बुझ ।


श्लोक ७: हे कुन्तीपुत्र ! कल्पका अन्त्यमा सम्पूर्ण भौतिक सृष्टिहरू मेरो प्रकृतिमा प्रवेश गर्दछन् अनि अर्को कल्पको सुरुवातमा तिनलाई म आफ्नो शक्तिद्वारा फेरि सृष्टि गर्दछु ।


श्लोक ८: यो सम्पूर्ण दृश्यमान भौतिक जगत् मेरो अधीनमा छ । मेरो इच्छाद्वारा स्वचालित ढंगमा यो सृष्टि बारम्बार प्रकट हुन्छ र मेरा इच्छाले अन्त्यमा यसको विनाश पनि हुन्छ ।


श्लोक ९: हे धनञ्जय ! ती सारा कार्यहरूले मलाई बन्धनमा पार्न सक्दैनन् । म तटस्थ छु र यी सम्पूर्ण भौतिक क्रियाकलापहरूप्रति म सधैँ अनासक्त छु ।


श्लोक १०: हे कुन्तीपुत्र ! यो भौतिक जगत् मेरो निर्देशनअनुसार काम गर्ने मेरै एउटा शक्ति हो । त्यही शक्तिले गर्दा यी सम्पूर्ण चर-अचर प्राणीहरू उत्पन्न हुन्छन् र त्यसैका नियन्त्रणमा रहेर यो जगत्‌को बारम्बार उत्पत्ति र विनाश हुन्छ ।


श्लोक ११: म मनुष्य स्वरूपमा अवतिर्ण हुँदा मूर्खहरू मेरो निन्दा गर्दछन् । तिनीहरूले म परमेश्वरको दिव्य स्वभावलाई बुझ्दैनन् ।


श्लोक १२: यसरी मोहग्रस्त भएका व्यक्तिहरू नास्तिक र आसुरी दृष्टिकोणतर्फ आकर्षित हुन्छन् । यस्तो भ्रमित अवस्थामा तिनीहरूको मुक्ति पाउने आशा, सकाम कर्म र ज्ञानको चिन्तन-मनन सबै निष्फल हुन पुग्दछन् ।


श्लोक १३: हे पार्थ ! मोहबाट मुक्त भएका महात्माहरू दैवी प्रकृतिका संरक्षणमा रहन्छन् । तिनीहरू पूर्णतः भक्तिमय सेवामा लागेका हुन्छन्, किनभने तिनीहरुले मलाई नै सृष्टिका आदि कारण र अविनाशी भगवान् सम्झन्छन् ।


श्लोक १४: यी महात्माहरू मेरो महिमागान गर्दै, दृढ सङ्कल्पका साथ मलाई प्राप्त गर्ने प्रयत्न गर्दै र मलाई दण्डवत् प्रणाम गर्दै सधैँ भक्तिभावना साथ मेरो उपासना गर्दछन् ।


श्लोक १५: ज्ञानयज्ञमा (ज्ञानको अनुशीलनरूपी यज्ञमा) लागेका अन्य भक्तहरूमध्ये कसैले द्वैत भावमा, कसैले अद्वैत भावमा र कसैले विश्वरूप भावमा अनेक प्रकारले मेरो पुजा गर्दछन् ।


श्लोक १६: तर म नै वैदिक अनुष्ठान हूँ, म नै देवयज्ञ हूँ , म नै पितृतर्पण हूँ । त्यसै गरी यज्ञमा पढिने मन्त्र, होमिने घिउ, यज्ञको अग्नि र आहुति सबै मै हूँ।


श्लोक १७: म यस ब्रह्माण्डको पिता, माता, आश्रय दाता र पितामह पनि हूँ, म नै जान्नयोग्य वस्तु तथा पवित्र ॐकार हूँ र ऋग्वेद, सामवेद तथा यजुर्वेद पनि मै हूँ।


श्लोक १८: म नै सबैको लक्ष्य हूँ, पालन कर्ता हूँ, स्वामी हूँ, साक्षी हूँ, धाम हूँ, शरण लिने ठाउँ हूँ र परममित्र हूँ । म नै सृष्टि र प्रलयको आधार हूँ, आश्रय स्थल हूँ र अविनाशी बिउ पनि हूँ ।


श्लोक १९: हे अर्जुन ! मैले नै पृथ्वीलाई ताप प्रदान गर्दछु, वर्षा गराउँदछु अनि रोक्दछु । म अमरता हूँ र साक्षात् मृत्यु पनि हूँ । आत्मा र पदार्थ दुवै ममा नै छन् ।


श्लोक २०: जो मानिस वेदहरूको अध्ययन र सोम रसको पान गर्दछन् तिनीहरू स्वर्ग प्राप्तिको खोजी गर्दै अप्रत्यक्ष रूपले मेरो पूजा गर्न पुग्दछन् । पाप कर्मबाट शुद्ध भएर तिनीहरू पवित्र इन्द्रलोकमा जन्मिन्छन् र त्यहाँ देवताहरूले जस्तै आनन्दको भोग गर्दछन् ।


श्लोक २१: यसरी तिनीहरू स्वर्गमा गएर विस्तृत इन्द्रियसुखको भोग गर्दछन् र आफ्ना पुण्य कर्मको फल सकिएपछि फेरि यही मृत्युलोकमा फर्किन्छन् । अतः तीनै वेदका सिद्धान्तमा दृढ रहेर इन्द्रियभोगको मात्र चाहना राख्ने व्यक्ति बारम्बार जन्मिने र मर्ने चक्रमा पर्दछ ।


श्लोक २२: जो अनन्य भावले सदा मेरो दिव्य स्वरूपको ध्यान तथा चिन्तन गर्दछन्, तिनीहरूको आवश्यकता मैले पूरा गरिदिन्छु र तिनीहरूसँग भएका वस्तुको संरक्षण पनि मैले नै गरिदिन्छु ।


श्लोक २३: हे कुन्तीपुत्र ! जो मानिस अरू देवताका भक्तहरु छन् र श्रद्धापूर्वक तिनको पूजा गर्दछन्, वास्तवमा तिनीहरुले पनि त्रुटिपूर्ण तरिकाले मेरै पूजा गरिरहेका हुन्छन् ।


श्लोक २४: सबै यज्ञहरूका एकमात्र भोक्ता र स्वामी म नै हुँ, तसर्थ मेरो वास्तविक दिव्य स्वभावलाई जसले बुभदैन त्यसको पतन हुन्छ ।


श्लोक २५: देवताहरूको पुजा गर्ने व्यक्ति देवताकै बीचमा गएर जन्मिन्छन्, पितृहरूको पुजा गर्ने व्यक्ति पितृलोकमा जान्छन्, भूतप्रेतको पूजा गर्नेहरू भूतप्रेतकै बीचमा गएर जन्मिन्छन् र मेरा उपासकहरू मेरै धाममा गएर मसँगै बस्न पाउँदछन् ।


श्लोक २६: कसैले मलाई भक्तिपूर्वक पत्र, पुष्प, फल, जल जे अर्पण गर्दछ त्यो म खुशीसाथ स्वीकार गर्दछु ।


श्लोक २७: है कुन्तीपुत्र ! तिमी जे गर्दछौ, जे खान्छौ, जे होम गर्दछौ, जे दान गर्दछौ र जस्तो तपस्या गर्दछौ त्यो सबै मलाई अर्पण गर ।


श्लोक २८: यस प्रकार तिमी कर्मको बन्धन तथा त्यसको शुभ र अशुभ फलबाट मुक्त हुनेछौ । यो संन्यास योगले आफ्नो मनलाई ममा स्थिर गराएर, तिमी मुक्त हुनेछौ र मलाई पाउनेछौ ।


श्लोक २९: म न त कसैप्रति द्वेष गर्दछु न कसैको पक्ष लिन्छु । म सबैप्रति समानभाव राख्दछु तर जसले भक्तिपूर्वक मेरो सेवा गर्दछ, त्यो मेरो मित्र हो, त्यो मैमा रहन्छ र म पनि उसको मित्र हूँ।


श्लोक ३०: अत्यन्तै जघन्य कर्म गर्ने दुराचारी नै भए पनि अनन्य भावले मेरो भक्ति गर्द्छ भने त्यसलाई साधु नै मान्नुपर्दछ, किनभने ऊ आफ्नो सङ्कल्पमा अडिग भइसक्यो ।


श्लोक ३१: त्यो तुरुन्तै धर्मात्मा हुन्छ र त्यसले स्थायी शन्ति पनि प्राप्त गर्दछ, त्यसैले हे कुन्तीपुत्र ! तिमी निडर भएर घोषणा गर- मेरो भक्तको कहिल्यै विनाश हुँदैन ।


श्लोक ३२: हे पृथापुत्र ! मेरो शरणमा आएका तिनीहरू तल्लो कुलमा जन्मिएका स्त्री हुन्, वैश्य हुन् वा शूद्र हुन्, ती सबैले मेरो परमधाम प्राप्त गर्दछन् ।


श्लोक ३३: फेरि धर्मात्मा ब्राह्मण, भक्त तथा राजर्षिहरूलाई त झन् के भन्नपर्यो र ? त्यसैले यो दुःखमय अशाश्वत संसारमा आएको हुनाले तिमी आफूलाई मेरै प्रेमाभक्तिमा लगाऊ ।


श्लोक ३४: मनलाई सधैँ मेरै चिन्तनमा लगाऊ, मेरै भक्त बन, मेरै पूजा गर, मलाई नै नमस्कार गर । यसरी पूर्णतया ममै लीन भएपछि तिमीले निश्चय नै मलाई प्राप्त गर्नेछौ ।