भगवद्गीता नेपाली

अध्याय ३ · कर्मयोग

श्लोक १: अर्जुनले भने - हे जनार्दन ! हजुरले भन्नुभए अनुसार यदि सकाम कर्म भन्दा राम्रो बुद्धियोग नै हो भने किन मलाई यो घोर युद्धमा लडाउन चाहनुहुन्छ ?


श्लोक २: हजुरका यी थुप्रै अर्थ लाग्ने उपदेशहरुले मेरो बुद्धि भ्रमित भइरहेको छ त्यसैले निश्चिय गरेर मलाई त्यती कुरा भन्नुहोस् जसबाट मेरो वास्तव भलो होस् ।


श्लोक ३: भगवानले भन्नुभयो- हे निष्पाप अर्जुन ! मैले अघि भनिसकें आत्मसाक्षात्कार गर्न चाहने मानिसहरू दुई थरिका हुन्छन् । एक हुन् जो प्रतक्ष्यज्ञान मार्फत दार्शनिक चिन्तनद्वारा भगवानलाई जान्न खोज्छन भने दोस्रा हुन् भक्तहरू जो भक्ति-सेवाद्वारा भगवानलाई बुझ्ने प्रयत्न गर्छन् ।


श्लोक ४: मनुष्यले गर्नुपर्ने कर्म गर्न छोडेर कर्मफलबाट मुक्ति पाउन सक्दैन न त संन्यासद्वारा नै जीवनको पूर्णता पाउन सक्दछ ।


श्लोक ५: कोही व्यक्ति पनि एक क्षणका लागि नि केही कर्म नगरी रहन सक्दैन । हरेकले प्रकृतिबाट प्राप्त गुणहरूको वशमा रही तदनुसार कर्म गर्नुपर्दछ ।


श्लोक ६: जो आफ्नो कर्मेन्द्रियहरूलाई नियन्त्रित गरेर बस्दछ तर मनले इन्द्रियतृप्तिको बारेमा मात्रै चिन्ता गरिरहन्छ भने त्यो पाखण्डी हो ।


श्लोक ७: तर जो आफ्नो मनद्वारा इन्द्रियहरूलाई नियन्त्रित गरेर राख्ने प्रयास गर्छ त्यो व्यक्तिले यदि अनासक्त रहेर भक्तिमय कर्मयोग गर्दछ भने त्यो व्यक्ति विशेष प्रकारको हो ।


श्लोक ८: तिमीलाई निर्धारित गरिएको कर्म गर, काम नगर्नुभन्दा गर्नु श्रेष्ठ हो । काम नगरीकन तिमीले आफ्नो शरीर पनि चलाउन सक्ने छैनौ ।


श्लोक ९: यज्ञका (भगवान विष्णुका) लागि कर्म गर अन्यथा यस संसारका हरेक कर्मबाट बन्धनका फसनेछौ । त्यसैले हे कुन्तीपुत्र ! विष्णुकै (यज्ञकै) निमित्त आफूलाई निर्धारित कर्म गर । त्यसो गरेमा तिमी कर्मबन्धनबाट मुक्त हुनेछौ ।


श्लोक १०: सृष्टिको सुरुवातमा सम्पूर्ण जीवात्माहरूका पिता प्रजापति ब्रह्मदेवले भगवान विष्णुका लागि भनेर यज्ञको सृष्टि गर्नुभयो र साथमा मनुष्य र देवताहरूको पनि सृष्टि गर्नुभयो । अनि आशीर्वाद दिँदै भन्नुभयो - तिमीहरू यो यज्ञबाट खुसी रहने छौ र यज्ञ गर्नाले तिमीहरूलाई चाहिने हरेक वस्तु पाउने छौ र जीवनको अन्त्यमा मोक्ष पनि पाउने छौ ।


श्लोक ११: यसै यज्ञद्वारा देवताहरूलाई प्रसन्न पारेर तिमीहरूलाई पनि उनीहरुले सन्तुष्ट राख्नेछन र यसरी मनुष्य र देवताहरुबीचको पारस्परिक सदभाव सहित सबैको कल्याण हुनेछ ।


श्लोक १२: जीवनका विभिन्न इच्छाएका वस्तुहरु देवताहरूले यज्ञद्वारा सन्तुष्ट भएर तिम्रा सबै इच्छाहरू पूर्ति गरिदिनेछन् तर जसले देवताहरूद्वारा दिईएका भोग्य वस्तुहरू उनीहरूलाई अर्पण नगरी भोग्दछ भने त्यो ठग हो ।


श्लोक १३: यज्ञ सम्पन्न गरेर बाँकी रहेको खाने भगवानका सच्चा भक्तहरू सबै प्रकारका पापहरुबाट मुक्त हुन्छन् तर जो आफ्नो इन्द्रियतृप्तिका लागि मात्र भोजन पकाउँदछ त्यसले निश्चय नै पाप मात्रै खान्छ ।


श्लोक १४: सबै जीवहरू अन्नमा आश्रित छन्, अन्न वर्षाका कारणले फल्छ, यज्ञहरू सम्पन्न गर्नाले वर्षा हुन्छ र यज्ञ निर्धारित कर्तव्य सम्पन्न गर्नाले पूर्ण हुन्छ ।


श्लोक १५: वेदमा यज्ञ तथा नियमित कर्तव्य कर्महरूको विधान छ र वेदहरू साक्षात् परब्रह्मबाट शृष्टि भएका हुन्, त्यसैले सर्वव्यापी परब्रह्म शाश्वत रूपले यज्ञमा नै उपस्थित हुनुहुन्छ ।


श्लोक १६: हे पार्थ ! जसले यस जीवनमा वेदहरूद्वारा यसरी स्थापित यज्ञ चक्रको पालन गर्दैन त्यसले आफूलाई पापपूर्ण जीवनतिर लैजान्छ । केवल इन्द्रियतृप्तिका लागि मात्र बाँच्ने यस्ता व्यक्ति व्यर्थ नै बाच्दँछ ।


श्लोक १७: तर जो आफैँमा आनन्दित छ, आत्मसाक्षात्कारपूर्ण जीवन जिउँछ र आफूमै पूर्ण सन्तुष्ट छ त्यस्ता पुर्नात्माका लागि कुनै पनि कर्म गर्न बाँकी रहन्न ।


श्लोक १८: यो जगतमा आफैंमा सन्तुष्ट रहने व्यक्तिलाई न त कुनै निर्धारित कर्म गर्नैपर्ने वाध्यता हुन्छ, न त यस किसिमको कर्म सम्पन्न नगर्नुका पछाडि कुनै कारण नै हुन्छ । उसलाई त कुनै अरू प्राणीहरु माथि निर्भर रहने आवश्यकता नै पर्दैन ।


श्लोक १९: त्यसैले कर्मफलमा अनासक्त रही मनुष्यले निरन्तर कार्य गर्दै जानुपर्दछ । अनासक्ति भै कर्म गर्नाले मनुष्यले परब्रह्मलाई प्राप्त गर्दछ ।


श्लोक २०: जनक र अन्य राजाहरूले केवल आफ्नो निर्धारित कर्म गर्नाले मात्रै पनि परमसिद्धि प्राप्त गरे तसर्थ साधारण जनमानसलाई प्रेरणा दिने सोचले पनि तिमीले कर्म गर्नैपर्दछ ।


श्लोक २१: महान व्यक्तिले जस्तो जस्तो आचरण गर्दछ, सामान्य व्यक्तिले त्यसैको अनुसरण गर्दछन् । महान व्यक्तिले उदाहरणीय कार्य गरेर जस्तो आदर्श स्थापित गर्दछ, सारा संसारले त्यही व्यक्तिको चरणचिन्हको अनुसरण गर्दछ ।


श्लोक २२: हे पार्थ ! त्रिलोकमा मैले गर्नुपर्ने कुनै कार्य छैन । न त मलाई कुनै वस्तुको इच्छा छ, न त केहि पाउँनु नै तापनि म आफ्नो कर्ममा लागिरहन्छु ।


श्लोक २३: हे अर्जुन ! यदि मैले आफ्ना निर्धारित कर्मलाई अति सावधानीपूर्वक सम्पन्न गरिन भने सारा मनुष्य समाज मेरै नकल गरि अल्छी हुनेछन् ।


श्लोक २४: यदि मैले आफ्नो निर्धारित कर्म गरिन भने सबै लोकहरु नष्ट हुनेछन्, म वर्णसंकर सन्तानहरुको वृद्धिको पनि कारण बन्नेछु र यसरी सम्पूर्ण प्राणीहरूको नाश गर्न पुग्नेछु ।


श्लोक २५: हे भरतवंशी अर्जुन ! अज्ञानीहरु फलमा आसक्ति राखेर कर्म गर्दछन्, विद्वानले पनि त्यसरी नै कर्म गर्दछ तर उसको कर्म मनुष्य समाजलाई सत्मार्गमा हिडाउँने निश्चय लिएर फलमा आसक्त न रही गरिएको हुन्छ ।


श्लोक २६: ज्ञानी व्यक्तिले सकाम कर्ममा आसक्त भएका अज्ञानीहरूको बुद्धिभेदन गरिदिनुहुन्न र तिनलाई सकाम कर्म गर्नबाट पनि रोकिदिनुहुन्न बरु भक्तिभावनाका साथ काम गर्दै तिनीहरूलाई सबै प्रकारका क्रियाकलापमा संलग्न गराउनुपर्दछ ।


श्लोक २७: अहंकारले भरिएको जीवले प्रकृतिका गुणहरुद्वारा सम्पन्न गरिएका कर्मलाई पनि ऊँ आफैँले गरेको ठानेर आफूलाई नै कर्ता मान्दछ ।


श्लोक २८: हे महाबाहु अर्जुन ! तर परमसत्यका ज्ञाता भक्तिमय कर्म र सकाम कर्म बीचको अन्तर जानेर कहिल्यै पनि आफूलाई इन्द्रिय र इन्द्रियतृप्तिका कार्यमा आसक्त हुँदैन ।


श्लोक २९: प्रकृतिका गुणबाट मोहित भएका अज्ञानी व्यक्तिहरू भौतिक क्रियाकलापमै आसक्त हुन्छन् । अल्पज्ञानी रही गरिएका तिनका ती क्रियाकलापहरू निम्न कोटिका हुन्छन् तापनि यथार्थ ज्ञानी व्यक्तिले तिनीहरुको मनलाई विचलित गराईदिनु हुँदैन ।


श्लोक ३०: तिमी आफ्ना सबै कर्महरू ममा समर्पण गरेर, मेरै पूर्ण चेतनाले युक्त भएर, सबै इच्छाहरु प्रति आसक्त रही र सम्पूर्ण स्वामित्व भाव त्यागि अल्छी नगरी युद्ध गर ।


श्लोक ३१: जसले मेरो उपदेशलाई नित्य रुपमा नियमित पालन गर्दछ र श्रद्धासहित र ईर्ष्यारहित भएर मैले दिएको ज्ञानको अनुसरण गर्दछ त्यसले सकाम कर्मका बन्धनबाट मुक्ति पाउँदछ ।


श्लोक ३२: तर जो ईर्ष्यावश यी उपदेशको नियमित रुपमा पालन गर्दैन, त्यो व्यक्ति सबै प्रकारका ज्ञान रहित भएको महामूर्ख मानिन्छ र आत्मज्ञान पाउनका लागि गरेको सबै प्रयासहरू पनि खेर जान्छन ।


श्लोक ३३: ज्ञानी तथा विद्वान व्यक्तिले पनि प्रकृतिका तीन गुणअनुसार प्राप्त हुन आएका आफ्नाआफ्ना स्वभावअनुसार कर्म गर्दछ । प्रत्येक व्यक्तिले तीन गुणहरूबाट प्राप्त हुन आएको आफ्नै स्वभावको कारणले कर्म गरेको हुन्छ भने त्यसलाई दमन गर्नाले के होला ?


श्लोक ३४: हरेक इन्द्रिय र त्यस इन्द्रियका विषयसँग सम्बन्धित आसक्ति र अनासक्तिलाई व्यवस्था गर्ने केही नियमहरू हुने गर्दछन् । मानिस यस्ता आसक्ति र अनासक्तिबाट प्रभावित हुनु हुँदैन किनभने यी आसक्ति र अनासक्तिहरू आत्मसाक्षात्कारका मार्गमा अवरोध बनेर बस्दछन् ।


श्लोक ३५: परधर्म राम्ररी सम्पन्न गर्नुभन्दा त्रुटिपूर्ण तरिकाले भए पनि स्वधर्म पालन गर्नु नै उपयुक्त छ । परधर्ममा लाग्नुभन्दा आफ्नै धर्ममा रहेर मर्नु बरु श्रेयस्कर हुन्छ, किनभने परधर्ममा लाग्नु भयानक हुन्छ ।


श्लोक ३६: अर्जुनले भने - हे वृष्णिवंशी कृष्ण ! त्यसो भए मानिसले नचाहँदा नचाहँदै पनि बलपूर्वक कसैले गर्न लगाए जस्तै गरि के बाट प्रेरित भएर पापकर्म गर्न पुग्दछ ?


श्लोक ३७: भगवानले भन्नुभयो - मानिसलाई पापकर्ममा लगाउने तत्त्व काम (विषयवासना) हो । यो रजोगुणबाट उत्पन्न भएको हुन्छ र पछि यो क्रोधमा परिवर्तित हुन्छ । यसलाई नै तिमीले यो संसारको सर्वभक्षी महापापी शत्रु मान ।


श्लोक ३८: जसरी आगो धूवाँले ढाकिएको हुन्छ, दर्पण (ऐना) धूलोले ढाकिएको हुन्छ र गर्भ सालनालले ढाकिएको हुन्छ त्यसरी नै यो आत्मा पनि विभिन्न तहका कामवासनाले ढाकिएको हुन्छ।


श्लोक ३९: हे कुन्तीपुत्र ! यसरी ज्ञानवान जीवात्माको शुद्ध चेतनालाई आगो जस्तै दनदन बलिरहने र कहिल्यै तृप्त नहुने कामरूपी शाश्वत शत्रुले ढाकिराखेको हुन्छ ।


श्लोक ४०: इन्द्रियहरू, मन र बुद्धि नै यस कामवासनाका घर हुन् । यिनैका माध्यमद्वारा यो कामइच्छाले शरीरधारीहरुको आत्माको वास्तविक ज्ञानलाई ढाकिदिन्छ र उसलाई यस संसारमा मोहित पारी राख्दछ ।


श्लोक ४१: हे भरतवंशीहरूमा श्रेष्ठ अर्जुन ! त्यसैले पहिले नै इन्द्रियहरूलाई अधिनमा राखेर पापको महान् लक्षण (काम) लाई दमन गर र ज्ञान र आत्मज्ञानको यो विनाशकारी कामइच्छालाई मार ।


श्लोक ४२: भनिन्छ जड पदार्थभन्दा इन्द्रियहरू श्रेष्ठ छन्, इन्द्रियहरूभन्दा मन श्रेष्ठ छ, बुद्धि मनभन्दा अझ महान छ र आत्मा बुद्धिभन्दा पनि श्रेष्ठ छ ।


श्लोक ४३: हे महाबाहु ! यस प्रकार आफूलाई इन्द्रिय, मन र बुद्धिभन्दा दिव्य आत्मा सम्झेर सुविचार सहित आध्यात्मबुद्धिद्वारा मनलाई दृढ निश्चयी बनाउ र त्यही आध्यात्मिकबुद्धिद्वारा यो कामरूपी जित्नै नसकिने शत्रुलाई जित ।