भगवद्गीता नेपाली

अध्याय १२ · भक्तियोग

श्लोक १: अर्जुनले भने - कोही हजुरको भक्तिमा निरन्तर लागेर हजुरको पूजा गर्दछन् भने कोही अव्यक्त निराकार ब्रह्मको उपासना गर्दछन् । यी दुई मध्य कुनचाहिँलाई वास्तवमा पूर्ण वा सिद्ध मान्ने हो ?


श्लोक २: भगवानले भन्नुभयो - जो मेरो सगुण साकार स्वरूपमा आफ्नो मन स्थिर गरेर निरन्तर श्रद्धापूर्वक मेरो नै पूजामा लागिरहन्छ त्यसलाई म परमसिद्ध योगी मान्दछु ।


श्लोक ३-४: तर जसले इन्द्रियहरूलाई आफ्ना नियन्त्रणमा राखेर सबैप्रति समानभाव राख्दै र भगवान निराकार हुनुहुन्छ भन्ने कल्पना गर्दै इन्द्रियका अनुभूतिभन्दा पर रहनुभएका, सर्वव्यापक, अचिन्त्य, अपरिवर्तनीय, स्थिर तथा अचल अव्यक्त स्वरूपको पूजा गर्दछन्, त्यस्तो लोककल्याण कार्यमा लागेका व्यक्तिले अन्त्यमा मलाई नै प्राप्त गर्दछन् ।


श्लोक ५: भगवानको निराकार रूपप्रति आसक्त हुनेहरूलाई अध्यात्ममा प्रगति गर्न निकै कठिन हुन्छ । शरीरधारीहरूका लागि त्यस प्रकारको अनुशासनमा रहेर प्रगति गर्न निकै गाह्रो हुन्छ ।


श्लोक ६-७: हे पार्थ ! आफ्ना जीवनका सारा कर्म ममै समर्पित गरेर अनन्य भावले मेरो भक्ति सेवामा संलग्न रहेर, आफ्नो मनलाई मैमा स्थिर राखेर र मैमा ध्यान लगाएर सधैँ मेरो पूजा गर्ने व्यक्तिलाई म यो संसाररुपी जन्ममृत्युको सागरबाट तुरुन्त उद्धार गरिदिन्छु ।


श्लोक ८: आफ्नो मनलाई ममा स्थिर गर र सम्पूर्ण बुद्धि मैमा लगाऊ । यसो गर्नाले तिमी निःसंशय सधैँ ममै निवास गर्नेछौ ।


श्लोक ९: हे धनञ्जय ! अतः तिमी अनन्य भावले ममा आफ्नो मन स्थिर गर्न सक्दैनौ भने दृढ़तापुर्वक भक्तियोगका विधि-नियमहरूको अभ्यास गरि मलाई प्राप्त गर्ने इच्छाको विकास गर ।


श्लोक १०: यति अभ्यास पनि गर्न सक्दैनौ भने मेरा लागि कार्य गर्ने प्रयास गर किनभने मेरा लागि कार्य गर्नाले पनि तिमीले सिद्धि प्राप्त गर्नेछौ ।


श्लोक ११: यति पनि गर्न सक्दैनौ भने तिमी सबै कर्मफलहरुलाई त्यागेर आफ्नो आत्मामा स्थित हुने प्रयास गर ।


श्लोक १२: यदि तिमी यति पनि गर्न सक्दैनौ भने ज्ञानको चिन्तन-मननमा लाग । तर ज्ञानभन्दा ध्यान श्रेष्ठ छ र ध्यानभन्दा पनि कर्मफलको त्याग अझैं श्रेष्ठ छ किनभने यस प्रकारको त्यागबाट मानिसले मानसिक शान्ति प्राप्त गर्दछ ।


श्लोक १३-१४: जो ईर्ष्यारहित छ र सबै जीवात्माप्रति मैत्रीभाव राख्दछ, जो स्वामित्वभावरहित छ र मिथ्या अहंकारबाट मुक्त छ, जो सुख र दुःखमा समानभावमा रहन्छ र क्षमाशील छ, जो सधैँ सन्तुष्ट रहन्छ, आत्मसंयमी छ र दृढनिश्चयका साथ भगवद्भक्तिमा संलग्न छ, जसको मन र बुद्धि मैमा स्थिर छ त्यस्तो व्यक्ति मलाई असाध्यै प्रिय लाग्छ ।


श्लोक १५: जसबाट अरू कसैलाई कुनै दुःख पुग्दैन र जो अरू कसैबाट पनि दुःखी हुँदैन र जो सुख-दुःख, डर-त्रासमा पनि समानभावमा रहन्छ त्यो व्यक्ति मलाई अति प्रिय हुन्छ ।


श्लोक १६: अपेक्षारहित, शुद्ध, कुशल, चिन्तारहित, सबै किसिमका सन्तापहरुबाट मुक्त र कुनै फल पाउनका लागि प्रयास नगर्ने मेरो भक्त मलाई अति प्रिय हुन्छ ।


श्लोक १७: जो न कहिल्यै हर्षित हुन्छ, न शोक गर्दछ, न चिन्ता गर्दछ, न विलाप गर्दछ, न चाहना गर्दछ तथा जसले शुभ र अशुभ दुवै खाले वस्तुहरूको परित्याग गर्दछ त्यस्तो भक्त मलाई अति प्रिय लाग्छ ।


श्लोक १८-१९: जो मित्र र शत्रुमा समान भाव राख्दछ, जो मान र अपमानमा, जाडो र गर्मीमा, सुख र दुःखमा, निन्दा र प्रशंसामा समान भाव राख्दछ, खराब सङ्गतबाट जो सधै मुक्त रहन्छ, जो सधैँ मौन रहन्छ र जे पायो त्यसैमा सन्तुष्ट रहन्छ, जसलाई कुनै प्रकारको घरबारसँग चिन्ता छैन, जो ज्ञानमा दृढ रहन्छ र जो भगवद्भक्तिमा लागेको छ त्यस्तो मनुष्य मलाई अति प्रिय लाग्छ ।


श्लोक २०: मलाई नै परमलक्ष्य बनाएर श्रद्धापूर्वक भक्तिमा आफूलाई पूर्णतया संलग्न राख्ने भक्तहरू मलाई अत्यन्त प्रिय हुन्छन् ।