भगवद्गीता नेपाली

अध्याय १० · भगवानको ऐश्वर्य

श्लोक १: भगवानले भन्नुभयो- हे महाबाहु अर्जुन ! फेरि सुन । तिमी मेरा प्रिय मित्र भएका हुनाले तिम्रा भलाईका लागि म यस्तो ज्ञान दिन्छु जुन मैले अहिलेसम्म दिएका ज्ञानमध्ये सर्वोत्तम ज्ञान हो ।


श्लोक २: मेरो उत्पत्ति र ऐश्वर्यलाई न देवताहरूले जान्दछन्, न महर्षिहरूले जान्दछन्, किनभने म त हरेक दृष्टिबाट ती देवताहरू र महर्षिहरूको पनि उत्पत्तिको श्रोत हुँ ।


श्लोक ३: जसले मलाई अजन्मा, अनादि, सबै लोकका परमस्वामी भनेर बुझेको छ त्यही व्यक्ति मनुष्यहरूमा मोहरहित हो र त्यही व्यक्ति सबै पापहरूबाट मुक्त पनि हुन्छ ।


श्लोक ४-५: बुद्धि, ज्ञान, सन्देह र मोहबाट मुक्ति, क्षमा, सत्य, इन्द्रिय नियन्त्रण, मन नियन्त्रण, सुख, दुःख, जन्म, मृत्यु, डर, निडर, अहिंसा, समता, सन्तोष, तप, दान, यश, अपकीर्तिलगायत जीवात्माका सबै भावहरू मबाट नै उत्पन्न हुन्छन् ।


श्लोक ६: सात महर्षिहरू, त्योभन्दा पूर्वका चार महर्षिहरू, मनुहरू (मनुष्य जातिका पिता) सबै मबाट (मेरा मनबाट) उत्पन्न भएका हुन् र विभिन्न लोकमा निवास गर्ने सबै जीवात्माहरू तिनीहरूबाट उत्पन्न भएका हुन् ।


श्लोक ७: मेरो यो ऐश्वर्य र योगलाई जो यथार्थमा जान्दछ, त्यो मनुष्य मेरो अहैतुकी भक्तिमा लाग्दछ, यसमा कुनै सन्देह छैन ।


श्लोक ८: समस्त आध्यात्मिक तथा भौतिक जगतको उत्पत्तिको श्रोत म नै हूँ, सबै वस्तुहरु मबाट नै उत्पन्न हुन्छन् । यति कुरा बुझेका बुद्धिमान् मनुष्यहरू पूरा हृदय लगाएर मेरै भक्तिमा संलग्न हुन्छन् र मेरै पूजा गर्दछन् ।


श्लोक ९: मेरा शुद्ध भक्तहरू मेरो बारेमा चिन्तन गर्दछन्, आफ्ना जीवन मेरो सेवामा पूर्ण रुपमा समर्पित गर्दछन्, अनि तिनीहरू सधैँ आपसमा ज्ञानको आदान प्रदान गरेर र मेरो विषयमा चर्चा परिचर्चा गरेर परमसन्तोषको अनुभव गर्दछन् ।


श्लोक १०: प्रेमभावले मेरो सेवा गर्ने कार्यमा जो निरन्तर लागिरहन्छ, त्यसलाई म बुद्धि दिन्छु र त्यही बुद्धिको सहायोगले उसले मलाई प्राप्त गर्दछ ।


श्लोक ११: उनीहरूलाई विशेष कृपा गर्नका लागि म तिनीहरूको हृदयमा निवास गरि ज्ञानको उज्यालो बत्ती बनी अज्ञानद्वारा उत्पन्न अन्धकारलाई नाश गरिदिन्छु ।


श्लोक १२-१३: अर्जुनले भने- भगवान् ! हजुर परब्रह्म हुनुहुन्छ, परमधाम हुनुहुन्छ, परमसत्य हुनुहुन्छ, शाश्वत-सनातन हुनुहुन्छ, दिव्य हुनुहुन्छ, अनादि हुनुहुन्छ र महानतम हुनुहुन्छ । नारद, असित, देवल, व्यास जस्ता ऋषि-देवर्षीहरूले यही सत्यको पुष्टि गरिसकेका छन् र स्वयं हजुरले पनि मसँग यही कुराको घोषणा गरिरहनुभएको छ ।


श्लोक १४: हे केशव ! हजुरले मसँग भन्नुभएका यी सबै कुरा म पूर्ण सत्यका रूपमा स्वीकार गर्दछु । हे भगवान् ! हजुरको व्यक्तित्वलाई न देवताहरूले जान्न सक्दछन् न दानवहरूले नै ।


श्लोक १५: हे परमपुरुष ! हे सबैका सृष्टिकर्ता ! हे सम्पूर्ण जीवात्माहरूका स्वामी ! हे देवताहरूका पनि देवता ! हे ब्रह्माण्डका स्वामी ! स्वयं हजुरले मात्रै आफ्नी अन्तरंगा शक्तिद्वारा आफूले आफैँलाई जान्नुहुन्छ ।


श्लोक १६: जुन जुन ऐश्वर्यहरूद्वारा हजुर सम्पूर्ण लोकहरुमा व्याप्त भएर बस्नुभएको छ कृपा गरेर ती सबै ऐश्वर्यहरूका बारेमा विस्तारपूर्वक मलाई भन्नुहोस् ।


श्लोक १७: हे कृष्ण ! हे परमयोगी ! मैले कसरी सधैँ हजुरको चिन्तन गरूँ, हजुरलाई मैले कसरी बुझूँ । हे भगवान् ! हजुरलाई म कुन कुन रूपमा स्मरण गरूँ ।


श्लोक १८: हे जनार्दन ! कृपा गरेर फेरि पनि हजुरको योगशक्ति तथा ऐश्वर्यहरूका बारेमा विस्तारपूर्वक वर्णन गर्नुहोस् । हजुरका शब्दरूपी अमृतको स्वाद जति सुन्यो उति मीठो हुने भएकाले हजुरका बारेमा सुनेर म कहिल्यै सन्तुष्ट हुँदिन ।


श्लोक १९: भगवानले भन्नुभयो- हुन्छ, अब म तिमीलाई मेरा मुख्य-मुख्य दैवी ऐश्वर्यहरूको वर्णन गर्दछु तर अर्जुन ! मेरा ऐश्वर्यको कुनै अन्त्य छैन ।


श्लोक २०: हे अर्जुन ! म सबै जीवात्माका हृदयमा अवस्थित परमात्मा हूँ र म नै सम्पूर्ण जीवहरूको आदि, मध्य र अन्त पनि हूँ ।


श्लोक २१: म आदित्यहरूमा म विष्णु हूँ, ज्योतिहरूमा म तेजस्वी सूर्य हूँ, वायुहरूमा म मरीचि हूँ र ताराहरूमा म चन्द्रमा हूँ ।


श्लोक २२: म वेदहरूमा सामवेद हूँ, देवताहरूमा म स्वर्गको राजा हूँ, इन्द्रियहरूमा म मन हूँ र समस्त प्राणीहरूमा म चेतना हूँ ।


श्लोक २३: म सबै रुद्रहरूमा शिव हूँ, यक्ष र राक्षसहरूमा म धनका देवता कुवेर हूँ, वसुहरूमा म अग्नि हूँ र सबै पर्वतहरूमा म सुमेरू पर्वत हूँ ।


श्लोक २४: हे अर्जुन ! म सबै पुरोहितहरूमा प्रमुख वृहस्पति हूँ, सबै सेनापतिहरूमा म कार्तिकेय हूँ र जलाशयहरूमा म सागर हूँ ।


श्लोक २५: म महर्षिहरूमा भृगु हूँ, वाणीमा म दिव्य ध्वनि ओंकार (ॐ अक्षर) हूँ, सबै यज्ञहरूमा म पवित्र जप यज्ञ वा संकीर्तन हूँ र सम्पूर्ण अचल वस्तुहरूमा म हिमालय पर्वत हूँ ।


श्लोक २६: सबै वृक्षहरूमा म पीपल हूँ, देवर्षिहरूमा म नारद हूँ, गन्धर्वहरूमा म चित्ररथ हूँ र सिद्ध पुरुषहरूमा म कपिल मुनि हूँ ।


श्लोक २७: मलाई घोडाहरूमा अमृतका लागि समुद्रमन्थन गर्दा उत्पन्न भएको उच्चैश्रवा घोडा हुँ भन्ने जान, प्रमुख हात्तीहरूमा म ऐरावत हूँ र मनुष्यहरूमा म राजा हूँ ।


श्लोक २८: हतियारहरूमा म वज्र हूँ, गाईहरूमा म सुरभि हूँ, सन्तान उत्पत्तिका कारणहरूमा म प्रेमका देवता कामदेव हूँ र सर्पहरूमा म वासुकि नाग हूँ ।


श्लोक २९: अनेक फणाधारी नागहरूमा म अनन्त हूँ, सबै जलचरहरूमा म वरुण देवता हूँ, पितृहरूमा म अर्यमा हूँ र नियम पालनकर्ताहरूमा म मृत्युका देवता यम हूँ ।


श्लोक ३०: असुरहरूमा म भक्त प्रल्हाद हूँ, दमनकारीहरूमा म समय हूँ, पशुहरूमा सिंह हूँ र पक्षीहरू म गरूड हूँ ।


श्लोक ३१: पवित्र गर्नेहरूमा म वायु हूँ, शस्त्रधारीहरूमा म राम हूँ, माछाहरूमा म गोही हूँ र नदीहरूमा म गङ्गा हूँ ।


श्लोक ३२: हे अर्जुन ! समस्त सृष्टिको आदि, मध्य र अन्त्य म हूँ, म सबै विद्याहरूमा आत्म विज्ञान हूँ र तर्कशास्त्रहरूमा म सारभूत सत्य हूँ ।


श्लोक ३३: अक्षरहरूमा म अकार हूँ, समासहरूमा म द्वन्द्व समास हूँ, म शास्वत समय पनि हूँ र सृष्टिकर्ताहरूमा ब्रह्मा पनि मै हूँ ।


श्लोक ३४: म सर्वभक्षी मृत्यु हूँ र भविष्यमा सृष्टि हुनेहरूको सृष्टि नियम पनि म नै हूँ । स्त्रीहरूमा कीर्ति, लक्ष्मी, वाणी, स्मृति, बुद्धि, धृति र क्षमा पनि म नै हूँ ।


श्लोक ३५: सामवेदका ऋचाहरूमा म बृहत्साम हूँ, कविताहरूमा म गायत्री हूँ, महिनाहरूमा मंसीर महिना हूँ र ऋतुहरूमा म फूलहरू फुलाउने वसन्त ऋतु हूँ ।


श्लोक ३६: म धोखाहरूमा जूवा हूँ, तेजस्वीहरूमा म तेज हूँ, म विजय हूँ, म नै साहस हूँ र बलियाहरूको बल पनि मै हूँ ।


श्लोक ३७: वृष्णिकुलमा म वासुदेव (श्रीकृष्ण) हूँ, पाण्डवहरूमा म अर्जुन हूँ, मुनिहरूमा म व्यास हूँ र महान् विचारकहरूमा म शुक्राचार्य हूँ ।


श्लोक ३८: अराजकतालाई दमन गर्ने सम्पूर्ण साधनहरूमा म सजायँ हूँ, विजयको चाहना गर्नेहरूमा म नैतिकता हूँ, रहस्यहरूमा मौन हूँ, बुद्धिमानहरूमा म बुद्धि हूँ ।


श्लोक ३९: हे अर्जुन ! म त अझ सम्पूर्ण सृष्टिलाई जन्माउने बीज हूँ, त्यस्तो कुनै चर वा अचर प्राणी छैन जो मबिना रहन सकोस् ।


श्लोक ४०: हे परन्तप ! मेरा दिव्य ऐश्वर्यहरूको कुनै अन्त्य छैन । मैले तिमीसँग जे भने त्यो त मेरो अनन्त विभूतिहरूको उदाहरण मात्रै हो ।


श्लोक ४१: यी समस्त ऐश्वर्य, सौन्दर्य र यो गौरवशाली सृष्टि मेरा तेजको एक झिल्काबाट उत्पन्न भएको हो भन्ने कुरा तिमीले बुझ ।


श्लोक ४२: तर अर्जुन ! यस्ता धेरै विस्तृत ज्ञानको आवश्यकता नै के छ र ? म त आफ्नो एउटा मात्र अंशले यो समस्त ब्रह्माण्डमा व्याप्त भएर यसलाई धारण गर्दछु ।