भगवद्गीता नेपाली

अध्याय १६ · दैवी तथा असुरी स्वभाव

श्लोक १-३: भगवानले भन्नुभयो - हे भरतवंशी ! अभय, आत्मशुद्धि, आध्यात्मिक ज्ञानको नियमित अध्ययन र पालना, दान, मनको निग्रह, यज्ञपरायणता, वेदाध्ययन, तपस्या, सरलता, अहिंसा, सत्यता, क्रोधबाट मुक्ति, त्याग, शान्ति, अर्काको दोष देख्न नचाहने, सम्पूर्ण प्राणीहरुमाथि दया, लोभबाट मुक्ति, भद्रता, लाज, दृढ सङ्कल्प, बल, क्षमा, धैर्य, पवित्रता, ईर्ष्यारहित र मनका इच्छारहित आदि सबै दिव्य गुणहरू मात्र दैवी प्रकृतिले सम्पूर्ण देवतुल्य पुरुषमा पाइन्छन् ।


श्लोक ४: हे पार्थ ! अहंकार, घमण्ड, गर्व, क्रोध, निष्ठुरता र अज्ञानता यी समस्त गुण आसुरी स्वभाव भएका मनुष्यमा पाइन्छन् ।


श्लोक ५: दिव्य गुणहरू मोक्षका लागि आवश्यक मानिन्छन् भने आसुरी गुणले बन्धनमा राख्दछन् । हे पाण्डुपुत्र ! तिमी चिन्ता नलिउ, किनभने तिमी दैवी गुणले युक्त भएर जन्मेका छौ ।


श्लोक ६: हे पार्थ ! यस जगतमा जन्म लिन पुगेका जीवहरू दुई प्रकारका छन् । एक हुन् दैवी र अर्को हुन् आसुरी । मैले तिमीलाई दैवी गुणबारेमा त पहिला नै विस्तारमा भनिसकेको छु, अब तिमी मबाट आसुरी गुणका भएका प्राणीहरुका बारेमा सुन ।


श्लोक ७: आसुरी गुण भएकाहरुले के गर्नुपर्दछ र के गर्नुहुँदैन भन्ने बुझदैनन् । तिनमा न पवित्रता हुन्छ, न सहि आचरण हुन्छ, न सत्यता नै हुन्छन् ।


श्लोक ८: तिनीहरू यो दृश्य जगत मिथ्या हो र यसको कुनै आधार छैन र यसलाई नियन्त्रण गर्ने कुनै ईश्वर पनि छैन भन्दछन् । तिनीहरू अनुसार यो सबै मात्र काम इच्छाद्वारा उत्पन्न भएको हो र कामवासनाबाहेक यसको अरू कुनै अस्तित्व छैन ।


श्लोक ९: यस्तै तरिकाका दर्शनको पछी लागेर आफैँमा हराएका अल्पज्ञानी आसुरी मनुष्यहरू संसारको विनाशका लागि अहितकारी कर्ममा लाग्दछन् ।


श्लोक १०: कहिल्यै सन्तुष्ट नहुने कामवासनाको शरण लिएर अहंकार, मद र झुटो प्रतिष्ठामा डुबेका आसुरी मनुष्यहरूले मोहित भएर क्षणिक वस्तुप्रति आकर्षित हुँदै अशुद्ध कर्म गर्ने विचार लिन्छन् ।


श्लोक ११-१२: इन्द्रियतृप्ति नै मानवसभ्यताको प्रथम आवश्यकता हो भन्ने धारणा तिनीहरूको हुन्छ । यसरी मर्ने बेलासम्म पनि तिनीहरूलाई असीमित इन्द्रियतृप्तिको इच्छा भइरहन्छ । लाखौं इच्छाहरुको जालमा बाँधिएर तिनीहरू कामवासना, क्रोधमा लीन हुँदै इन्द्रियतृप्तिका लागि विधि-विरुद्ध धन सञ्चय गर्दछन् ।


श्लोक १३-१५: आसुरी स्वभावका मनुष्यहरू सोच्दछन् - “आज मसँग यति सम्पति छ, आफ्ना योजनाहरुबाट यति बढी पैसा कमाउनेछु । यतिखेर मसँग यति छ, भविष्यमा बढेर आजभन्दा अझ धेरै हुनेछ । त्यो मेरो शत्रु हो यदि मैले त्यसलाई मारिदिएँ भने मेरा अरू शत्रु पनि मारिनेछन् । म सबै वस्तुको स्वामी हूँ । म आनन्द लिने हूँ, म सिद्ध, शक्तिमान र सुखी छु । म सबैभन्दा धनवान छु । मेरा वरिपरि मेरा कुलीन आफन्तहरू छन् । म जत्तिको बलवान र खुसी संसारमै कोही पनि छैन । म यज्ञ, दान गर्नेछु र आनन्द लिनेछु ।” यसरी यस्ता अज्ञानी मनुष्यहरू मोहित हुन्छन् ।


श्लोक १६: यसरी विभिन्न चिन्ताहरूद्वारा अलमल्लमा परेका र मोहजालमा बाँधिएका तिनीहरू इन्द्रियभोगमा अति आसक्त भई नरकमा खस्दछन् ।


श्लोक १७: आँफैलाई श्रेष्ठ ठान्नेहरू र सधैँ घमण्ड गर्नेहरू धन र झुठा प्रतिष्ठामा मोहग्रस्त भएर कहिलेकाहीँ विधिविधानको पालना नगरी केवल नामका लागि मात्र भएपनि अति अभिमानपूर्वक यज्ञ गर्ने गर्दछन् ।


श्लोक १८: अहंकार, बल, दम्भ, काम र क्रोधले मोहग्रस्त भएको आसुरी मनुष्य आफ्ना र अरूका शरीरमा रहेका भगवानसँग पनि ईर्ष्या गर्दछ र वास्तविक सनातन धर्मको निन्दा गर्न थाल्दछ ।


श्लोक १९: जो ईर्ष्यालु तथा क्रूर छन्, जो मनुष्यहरूमा सबैभन्दा नराधम छन्, त्यस्ताहरुलाई म सदा भवसागरका विभिन्न राक्षसी योनिहरूमा फालिदिन्छु।


श्लोक २०: हे कुन्तीपुत्र ! राक्षसी योनिहरुका बीचमा बारम्बार जन्म लिई, त्यस्ता मनुष्यहरूले मलाई कहिल्यै पनि प्राप्त गर्न सक्दैनन् । बिस्तारै तिनीहरू सबैभन्दा अधम शरीरमा पुग्दछन् ।


श्लोक २१: नरकमा जाने तीनवटा ढोकाहरु छन् – काम, क्रोध र लोभ । प्रत्येक विवेकी मानिसले यी कुराहरू त्याग्नु पर्दछ, किनकि यिनले आत्माको पतनतर्फ लैजान्छ ।


श्लोक २२: हे कुन्तीपुत्र ! नरकका यी तीन द्वारबाट मुक्ति पाएको मनुष्यले आत्मसाक्षात्कारका लागि कर्म गर्दछ र यसरी क्रमशः परम गन्तव्यमा पुग्दछ ।


श्लोक २३: जसले शास्त्रको आदेशको अवहेलना गरेर आफ्नो इच्छा अनुसार कार्य गर्दछ उसलाई न पूर्णता प्राप्त हुन्छ, न सुख प्राप्त हुन्छ, न त परम गन्तव्य नै प्राप्त हुनसक्दछ ।


श्लोक २४: त्यसैले मनुष्यले शास्त्रको विधिअनुसार के कार्य हो र के अकार्य हो भन्ने बुझ्नुपर्दछ । शास्त्रीय विधिविधानलाई जानेर यस संसारमा त्यसै अनुसार कर्म गर्नुपर्दछ जसले गर्दा मनुष्य विस्तारै माथि उठ्न सकोस् ।