भगवद्गीता नेपाली

अध्याय १३ · प्रकृति, पुरुष र चेतना

श्लोक १-२: अर्जुनले भने, “हे केशव ! म प्रकृति र पुरुष, क्षेत्र र क्षेत्रज्ञ अनि ज्ञान र ज्ञेयका बारेमा जान्न चाहन्छु ।" भगवानले भन्नुभयो, “हे कुन्तीपुत्र ! यो शरीरलाई क्षेत्र भनिन्छ र जो क्षेत्रलाई जान्दछ त्यसलाई क्षेत्रज्ञ भनिन्छ ।”


श्लोक ३: हे भरतवंशी अर्जुन ! म सम्पूर्ण शरीरहरूको ज्ञाता हूँ, यति बुझ । यो शरीर र यसको ज्ञातालाई जान्नु नै ज्ञान हो भन्ने मेरो विचार छ ।


श्लोक ४: यो कर्मक्षेत्र भनेको के हो, यो कसरी बन्छ, यो कतिको परिवर्तनशील छ, यसको श्रोत कहाँ छ, यो कर्मक्षेत्रलाई जान्ने को हो र यसको कतिको प्रभाव छ ? यसका विषयमा अब मबाट सारांशमा सुन ।


श्लोक ५: बुद्धिमान ऋषिहरूद्वारा विभिन्न वैदिक ग्रन्थहरूमा कर्मक्षेत्रको ज्ञान र कर्मका ज्ञाताको विषयमा वर्णन गरिएका छन् । विशेष गरी वेदान्त सूत्रमा कर्म र कारणको सबै तर्क प्रस्तुत गरिएको छ ।


श्लोक ६-७: पञ्च महाभूत, मिथ्या अभिमान, बुद्धि, अव्यक्त प्रकृति, एघार इन्द्रियहरु, पाँच इन्द्रियका विषयहरू, इच्छा, द्वेष, सुख, दुःख, समस्त, प्राणशक्ति र धैर्यः यी सबैलाई संक्षेपमा कर्मक्षेत्र तथा यसका अन्तर्क्रियाहरू मानिन्छन् ।


श्लोक ८-१२: विनम्रता, अभिमानरहित, अहिंसा, सहनशीलता, सरलता, सुयोग्य गुरुको शरणमा जानु, पवित्रता, दृढता, आत्मसंयम, इन्द्रियतृप्तिका विषयहरूमा वैराग्य, अहंकारको शुन्य, जन्म, मरण, वृद्धावस्था र रोगजन्य दोषहरूको अनुभूति गरेको, आसक्त नभई, सन्तती, पत्नी, घर आदिहरूको जञ्जालबाट मुक्त, शुभ र अशुभहरूमा समभाव, मप्रतिको निरन्तर तथा शुद्ध भक्ति, एकान्तबासको इच्छा, भौतिकवादीहरुबाट टाढा रहने चाहना, आत्मसाक्षात्कारको महत्त्वलाई स्वीकार्नु र दार्शनिक रूपले परमसत्यको खोजी गर्नु जस्ता सम्पूर्ण कार्यलाई म ज्ञान मान्दछु र यसबाहेक अरु सबै अज्ञानका कुरा हुन भनेर म घोषण गर्दछु ।


श्लोक १३: अब म तिमीलाई जान्नयोग्य विषयका बारेमा वर्णन गर्दछु, जुन कुरा जानेपछि तिमीले सनातन अमृततत्त्वको आस्वादन गर्नेछौ । मेरा अधीनमा रहेको अनादि जीवात्मा (ब्रह्म) यो भौतिक जगतको कारण र प्रभावभन्दा पर छ ।


श्लोक १४: उहाँका हातहरु, पाउहरु, आँखाहरु, शिरहरु, अनुहारहरु र कानहरु संसारभर फैलिएका छन् । यसरी परमात्मा हरेक वस्तुमा व्याप्त भएर बस्नुभएको छ ।


श्लोक १५: परमेश्वर सबै इन्द्रियहरूका मूल स्रोत भएर पनि इन्द्रियविहीन हुनुहुन्छ । सबै जीवात्माका पालनकर्ता भएर पनि अनासक्त हुनुहुन्छ र प्रकृतिका गुणहरूभन्दा पर रहेर पनि सबै गुणहरूका स्वामी हुनुहुन्छ ।


श्लोक १६: परमात्मा सम्पूर्ण चराचर प्राणीहरूका भित्र तथा बाहिर पनि अवस्थित हुनुहुन्छ । अति सूक्ष्म हुनुभएको हुनाले उहाँलाई भौतिक इन्द्रियहरूद्वारा देख्न वा बुझ्न सकिदैन । उहाँ निकै टाढा हुनुहुन्छ तैपनि सबैका लागि अत्यन्त नजिक पनि हुनुहुन्छ ।


श्लोक १७: परमात्मा सबै जीवात्माहरूबीच विभाजित हुनुभएजस्तो देखिए पनि उहाँ कहिल्यै विभाजित हुनुहुन्न । उहाँ एकै स्वरूपमा अवस्थित हुनुहुन्छ । उहाँ हरेक जीवात्माका पालनकर्ता भए पनि उहाँले सबैको विनाश पनि गर्नुहुन्छ र विस्तार पनि गर्नुहुन्छ भन्ने कुरा बुझ ।


श्लोक १८: भगवान सम्पूर्ण प्रकाशवान वस्तुका प्रकाशका स्रोत हुनुहुन्छ । उहाँ यो भौतिक अन्धकारभन्दा पर हुनुहुन्छ र अप्रकट हुनुहुन्छ । उहाँ नै ज्ञान हुनुहुन्छ । उहाँ नै ज्ञानका विषय र लक्ष्य पनि हुनुहुन्छ । उहाँ हरेकका हृदयमा अवस्थित हुनुहुन्छ ।


श्लोक १९: यसरी मैले कर्मक्षेत्र, ज्ञान र जान्नयोग्य विषयका बारेमा सारांशमा वर्णन गरें । मात्र मेरा भक्तहरूले यसलाई राम्रोसँग बुझ्न सक्दछन् र यति बुझेर सहजै मेरो प्रकृतिलाई प्राप्त गर्दछन् ।


श्लोक २०: भौतिक प्रकृति र जीवात्मालाई अनादि सम्झ । तिनका विकारहरू र तिनका तीन गुणहरू पनि प्रकृतिकै उत्पादन हुन् ।


श्लोक २१: प्रकृतिलाई समस्त भौतिक कार्य र कारणको माध्यम मानिन्छ र जीवात्मालाई संसारका अनेक सुख र दुःख भोगको माध्यम मानिन्छ ।


श्लोक २२: यसरी जीवात्माले भौतिक प्रकृतिमा रहेर प्रकृतिकै तीन गुणहरूको भोग गर्दै आफ्नो जीवनकाल बिताउँदछ । प्रकृतिसँगको सङ्गतले गर्दा उसको यो स्थिति भएको हो र यसै गरी उसलाई राम्रा र खराब योनिहरूमा जन्म लिगिरहनु पर्दछ ।


श्लोक २३: यो शरीरभित्र एउटा अर्को पनि दिव्य परमभोक्ता हुनुहुन्छ उहाँ सबैको साक्षी र कार्यको स्वीकृति दिने परमस्वामी तथा परमेश्वर हुनुहुन्छ र उहाँ परमात्मा भनेर चिनिनु हुन्छ ।


श्लोक २४: जसले प्रकृति, जीवात्मा र प्रकृतिका तीन गुणहरूको अन्तर्क्रिया दर्शाउने दर्शन जान्दछ त्यसले अवश्य मोक्ष पाउँदछ । वर्तमान अवस्था जस्तो भए पनि त्यसले फेरी अर्को जन्म लिदैन ।


श्लोक २५: कोही ध्यानद्वारा परमात्मालाई आफैँभित्र देख्दछन्, कोही दार्शनिक छलफलद्वारा र अरू निष्काम कर्मद्वारा पनि परमात्माको दर्शन पाउँदछन् ।


श्लोक २६: आध्यात्मिक ज्ञानबाट अनभिज्ञ रहेका व्यक्तिहरूले अरूबाट सुनेर भगवानको पूजा गर्न थाल्दछन् । प्रामाणिक व्यक्तिहरूबाट सुन्ने मन भएका ती व्यक्तिहरूले पनि जन्म र मृत्युको चक्रलाई पार गर्दछन् ।


श्लोक २७: हे भरतर्षभ ! तिमीले यति जान, यो अस्तित्वमा भएका चर-अचर प्राणीहरू जे-जति तिमीले देखिरहेका छौ त्यो सबै कर्मक्षेत्र र कर्मक्षेत्रका ज्ञाताको मेल मात्र हो ।


श्लोक २८: जसले समस्त शरीरमा विद्यमान जीवात्मालाई परमात्माका साथमा देख्दछ र नश्वर शरीरमा रहने आत्मा र परमात्मा दुवैलाई अविनाशी देख्दछ त्यसले यथार्थ देखेको हुन्छ ।


श्लोक २९: जसले परमात्मालाई समानभावले सर्वत्र सबै जीवात्मामा देख्दछ त्यसले आफ्नो मनद्वारा आफूलाई अधोगति हुन दिदैन । त्यसपछि ऊ परमलक्ष्य तिर अघि बढ्छ ।


श्लोक ३०: जसले यो भौतिक प्रकृतिबाट उत्पन्न भएको शरीरद्वारा नै समस्त कार्यहरू गरेको देख्दछ र आत्माले केही नगरेको देख्दछ, त्यसले नै वास्तवमा देख्दछ ।


श्लोक ३१: जसले विभिन्न भौतिक शरीरका कारणले बनेका अनेक स्वरूपलाई विभिन्न नदेखेर एउटै देख्दछ र सबैतिर जीवात्मा फैलिएको देख्दछ त्यसले ब्रह्मभाव प्राप्त गर्दछ ।


श्लोक ३२: शाश्वत दृष्टि भएका मनुष्यले यो अविनाशी आत्मा दिव्य छ, सनातन छ र भौतिक गुणहरूभन्दा पर छ भन्ने देख्न सक्दछ । हे कुन्तीपुत्र ! भौतिक शरीरको सम्पर्कमा रहेको भएपनि यो आत्माले केही गर्दैन र कुनै वस्तुमा पनि लिप्त रहदैन ।


श्लोक ३३: सर्वव्यापी आकाश, अत्यन्त सूक्ष्म हुनाले, कुनै वस्तुमा लिप्त रहदैन, त्यसै गरी ब्रह्मदृष्टिमा स्थित भएको आत्मा शरीरभित्र रहेर पनि शरीरप्रति लिप्त हुँदैन ।


श्लोक ३४: हे भरतपुत्र ! जसरी एउटा सूर्यले यो सारा ब्रह्माण्डलाई उज्यालो राख्दछ त्यसै गरी शरीरमा रहेको यो आत्माले पनि चेतनाद्वारा सारा शरीरलाई उज्यालो राख्दछ ।


श्लोक ३५: ज्ञानका नेत्रले कर्मक्षेत्र र कर्मक्षेत्रको ज्ञाताबीच रहेको भिन्नतालाई देख्न सक्ने र सांसारिक जालझेलबाट मुक्त हुने विधि जान्ने व्यक्तिले परमलक्ष्य प्राप्त गर्न सक्दछ ।