भगवद्गीता नेपाली

अध्याय १४ · प्रकृतिका तीन गुण

श्लोक १: भगवानले भन्नुभयो - अब फेरि म तिमीलाई सबै ज्ञानहरूमा उत्तम परमज्ञान भन्दछु जसलाई जानेर सबै मुनिहरूले यस संसारबाट परमसिद्धि प्राप्त गरे ।


श्लोक २: यो ज्ञानमा आश्रित भएर मनुष्यले मेरो दिव्य प्रकृतिलाई प्राप्त गर्नसक्दछ । यसरी ज्ञानमा आश्रित भएको मनुष्य सृष्टिको आरम्भमा उत्पन्न हुँदैन, प्रलय कालमा व्याकुल हुँदैन ।


श्लोक ३: हे भरतपुत्र ! ब्रह्म नामक सम्पूर्ण भौतिक वस्तु नै जन्मस्रोत हो र मैले त्यही ब्रह्मलाई गर्भधान गरिदिन्छु, यसरी सबै जीवात्माको जन्म सम्भव हुन्छ ।


श्लोक ४: हे कुन्तीपुत्र ! तिमी यति बुझ कि यो भौतिक संसारमा जे जति पनि जीवयोनिहरू जन्म लिन सम्भव देखिएका छन् ती सबैको बिउ प्रदान गर्नी पिता म नै हूँ ।


श्लोक ५: हे महाबाहु अर्जुन ! भौतिक प्रकृति सत्त्व, रज र तम गरि यी तीन गुणले बनेको छ । जब अविनाशी जीवात्माहरू यस प्रकृतिका सम्पर्कमा आउँदछन् तब ती गुणहरूले तिनलाई बाँध्दछन् ।


श्लोक ६: हे निष्पाप अर्जुन ! सतोगुण यस संसारमा अन्य गुणहरूभन्दा पवित्र हुने हुनाले यो प्रकाशयुक्त छ र यसले सम्पूर्ण पापकर्महरूबाट मनुष्यलाई मुक्त बनाउँदछ । यस गुणमा स्थित मनुष्य सुख र ज्ञानभावद्वारा बाँधिएको हुन्छ ।


श्लोक ७: हे कुन्तीपुत्र ! असीमित इच्छा वा कामबाट रजोगुणको उत्पन्न हुन्छ । यसतो सकामकर्मका कारणले शरीरधारी जीवात्मा भौतिक कर्मबन्धनमा बाँधिन्छ ।


श्लोक ८: हे भारतपुत्र ! तर अज्ञानबाट उत्पन्न तमोगुण नै सबै शरीरधारी जीवहरुको मोह हो । यसका परिणाम पागलपन, अल्छीपन र निद्रा हुन् र यिनले जीवात्मालाई भौतिक जगतमा बाँध्दछन् ।


श्लोक ९: हे भरतपुत्र ! सतोगुणले मनुष्यलाई सुखमा बाँधिदिन्छ, रजोगुणले सकाम कर्ममा बाँध्दछ र तमोगुणले ज्ञानलाई ढाकेर मनुष्यलाई पागलपनतिर बाँध्दछ ।


श्लोक १०: हे भरतवंशी अर्जुन ! कहिले रजोगुण र तमोगुणलाई जितेर सतोगुण प्रधान हुन्छ, कहिले रजोगुणले सतोगुणलाई र तमोगुणलाई पराजित गरेर रजोगुण प्रधान हुन्रछ भने कहिले सतोगुण र रजोगुणलाई तमोगुणले पराजित गरि तमोगुण प्रधान हुन्छ । यस प्रकार जहिले प्रमुख बन्नका लागि गुणहरू बीच प्रतिस्पर्धा भइरहन्छ ।


श्लोक ११: जब शरीरका सबै द्वारहरू ज्ञानका प्रकाशले प्रकाशवान् हुन्छन् त्यतिखेर सतोगुण प्रकट भएको अनुभव गर्न सकिन्छ ।


श्लोक १२: हे भरतवंशीमा श्रेष्ठ ! रजोगुण प्रधान हुँदा अति लोभी, सकाम कर्म, तीव्र कोसिस, अनियन्त्रित चाहना र अनेक इच्छाहरुको वृद्धि भएका लक्षणहरु देखापर्दछन् ।


श्लोक १३: हे कुरुनन्दन ! तमोगुणको प्रधानता हुँदा अन्धकार, मूर्खता, पागलपन र भ्रम जस्ता लक्षणहरू प्रकट हुन्छन् ।


श्लोक १४: जब सतोगुणी मनुष्यको मृत्यु हुन्छ तब उसले महर्षिहरूको पवित्र, उच्च लोक प्राप्त गर्दछ ।


श्लोक १५: जब कोही मनुष्यले रजोगुणमा स्थित भई शरीर त्याग गर्दछ तब उसले सकाम कर्मीहरूका बीचमा जन्म लिन्छ । त्यसरी तमोगुणमा शरीर त्याग गर्नेले पशुमध्यमा जन्म लिन्छ ।


श्लोक १६: पुण्यकर्मको फल विशुद्ध हुन्छ र त्यो सतोगुणी हुन्छ । रजोगुणमा स्थित रहि गरिएका कर्मको फल दुःखदायी हुन्छ भने तमोगुणमा स्थित भई पूर्ण गरिएका कर्मको फल अर्थहीन हुन्छ ।


श्लोक १७: सतोगुणबाट वास्तविक सत्य ज्ञानको वृद्धि हुन्छ, रजोगुणबाट लोभको वृद्धि हुन्छ र तमोगुणबाट अज्ञानता, पागलपन र मोहको वृद्धि हुन्छ ।


श्लोक १८: सतोगुणी मनुष्यहरू माथिल्ला उच्च लोकहरूमा जान्छन्, रजोगुणीहरू यसै पृथ्वीलोकमा रहनछन् र तमोगुणीहरू तलका नारकीय लोकहरूमा जान्छन् ।


श्लोक १९: जसले यी सबै कार्य गर्नेहरुको कर्ता प्रकृतिका तीन गुणहरूबाहेक अरू कोही होइन भन्ने कुरा राम्ररी देख्दछ, त्यसले यी सारा गुणहरूभन्दा पर रहेको परमेश्वरलाई जान्दछ र अन्त्यमा गएर मेरै आध्यात्मिक स्वभावलाई प्राप्त गर्दछ ।


श्लोक २०: शरीरसँग सम्बन्धित प्रकृतिका यी तीन गुणहरूलाई पार गर्न सक्ने शरीरधारी मनुष्य जन्म, मृत्यु र बुढेसकाल तथा त्यसबाट हुने पीडाबाट पनि मुक्त हुन्छ र यसै जीवनमा अमृत भोग गर्न सफल हुन्छ ।


श्लोक २१: अर्जुनले सोधे - हे भगवान् ! कस्ता लक्षण देखेर हामी “यो मनुष्य प्रकृतिका तीन गुणहरूभन्दा पर छ" भनेर जान्दछौँ ? त्यस्तो मानिसको आचरण कस्तो हुन्छ र भौतिक प्रकृतिका यी गुणहरूलाई उसले कसरी पार गर्दछ ?


श्लोक २२-२५: भगवानले भन्नुभयो- जसले प्रकाश, आसक्ति तथा मोह जस्ता चिज उपस्थित हुँदा तिनीहरूप्रति घृणा पनि गर्दैन र फेरि यी वस्तुहरू हराउँदा तिनको इच्छा पनि गर्दैन, प्रकृतिका गुणहरूका यी सारा प्रतिक्रियाबाट जो अविचलित रहन्छ, मात्र गुणहरू क्रियाशील रहन्छन् भन्ने जानेर जो दिव्य र तटस्थ रहन्छ, सुखदुःखलाई समान ठानेर जो आफैँमा स्थित रहन्छ, जसले माटोको डल्लो, ढुङ्गो र सुनलाई समान नजरले हेर्दछ, इच्छित र अनिच्छित स्थितिमा पनि जो समभावमा रहन्छ, जो धीर छ, जो निन्दा र प्रशंसा, मान-अपमानमा पनि समान रहन्छ, जसले शत्रु र मित्र दुवै पक्षप्रति एकै समान व्यवहार गर्दछ, जसले सबै भौतिक क्रियाकलापको परित्याग गरेको छ त्यस्तो मनुष्यलाई यो भौतिक प्रकृतिका गुणहरूदेखि पर रहेको भनिन्छ ।


श्लोक २६: सधैँ अविचलित भावले पूर्णरुपमा भगवद्भक्तिमा लागेको मनुष्यले भौतिक प्रकृतिका गुणहरूलाई एकैपटकमा पार गरेर ब्रह्मको स्तरमा पुग्दछ ।


श्लोक २७: अनि म नै त्यो निराकार ब्रह्मको आधार हुँ, जो अमर, अविनाशी र शाश्वत छ र परम सुखको संवैधानिक स्थिति हो ।