भगवद्गीता नेपाली

अध्याय ७ · परमज्ञान

श्लोक १: भगवानले भन्नुभयो- हे पार्थ ! आफ्नो मनलाई ममा आसक्त गरेर मेरै भावनाले पूर्ण भएर चेतनासहित योगाभ्यासमा लागेको व्यक्तिले सन्देह रहित भई कसरी मलाई बुझ्न सक्दछ, त्यो सुन ।


श्लोक २: अब म तिमीलाई पूर्ण रूपमा व्यवहारिक तथा दिव्य ज्ञानको वर्णन गर्दछु जसलाई बुझेपछि तिमीले बुझ्न पर्ने अरू कुनै कुरा बाँकी रहँदैन ।


श्लोक ३: हजारौं मनुष्यहरूमध्ये कुनै एउटाले सिद्धिका लागि प्रयास गर्दछ र ती सिद्धि प्राप्त गर्नेहरूमध्ये पनि जटिलता पूर्वक कुनै एउटाले मात्र यथार्थमा मलाई बुझ्दछ ।


श्लोक ४: पृथ्वी, जल, अग्नि, वायु, आकाश, मन, बुद्धि र अहंकार यी आठ मेरै विभिन्न भौतिक शक्तिहरू हुन् ।


श्लोक ५: हे महाबाहु अर्जुन ! यसबाहेक मेरो एउटा उत्कृष्ट वा परा शक्ति पनि छ जसद्वारा भौतिक वा अपरा शक्तिका साधनहरूलाई उपभोग गर्ने जीवात्माहरू पर्दछन् ।


श्लोक ६: समस्त प्राणीहरूका जन्मको स्रोत मेरा यिनै दुई शक्ति वा प्रकृतिहरू हुन् । यो जगतमा भएका सम्पूर्ण भौतिकता र आध्यात्मिकता तथा तिनको उत्पत्ति र अन्त्य दुवै अवस्थाको कारण मै हूँ भन्ने जान ।


श्लोक ७: हे धनञ्जय ! मभन्दा ठूलो अर्को कुनै सत्य छैन । जसरी मोतीका दाना धागोमा उनिएका हुन्छन् त्यसैगरी सबै कुरा ममाथि नै आश्रित छन् ।


श्लोक ८: हे कुन्तीपुत्र ! म जलको स्वाद हूँ, सूर्य-चन्द्रको प्रकाश हूँ, सबै वेदहरुका वैदिक मन्त्रमा प्रणव: ओंकार हूँ, म आकाशमा ध्वनि हूँ र मनुष्यमा शक्ति र सामर्थ्य हूँ ।


श्लोक ९: पहिलो, म पृथ्वीमा विद्यमान् सुगन्ध हूँ र अग्निको ताप वा प्रकाश हूँ । म सबै जीवहरूको जीवन तथा सम्पूर्ण तपस्वीहरूको तपस्या हूँ ।


श्लोक १०: हे पृथापुत्र ! म नै सबै अस्तित्वको मूल बीउ हूँ । बुद्धिमानहरूको बुद्धि र सबै तेजस्वी पुरुषहरूको तेज पनि म नै हूँ ।


श्लोक ११: हे भरतश्रेष्ठ अर्जुन ! म बलवानहरूको काम र आसक्ति विहिन बल हूँ । म त्यो कामवासना हूँ जुन धर्मको नियम विरुद्ध छैन ।


श्लोक १२: यी सबै सत्त्व, रजो र तमोगुणका अवस्थाहरू मेरै प्रकृतिबाट प्रकट हुन्छन् भन्ने जान । एक अर्थमा म सबै हूँ तर म स्वतन्त्र छु । म प्रकृतिका गुणहरूको अधीनमा छैन बरु ती गुणहरू मेरा अधीनमा छन्, मभित्रै छन् ।


श्लोक १३: सत्त्व, रज र तम यी तीन गुणले मोहित भएको यो सारा संसार गुणातीत र सनातन मलाई चिन्दैनन् ।


श्लोक १४: प्रकृतिका तीन गुणले युक्त मेरी दैवी मायाशक्तिबाट पार पाउन अत्यन्त जटिल छ । तर जो मेरा शरणमा पर्दछन् तिनीहरूले भने यसलाई सजिलैसँग पार गर्न सक्दछन् ।


श्लोक १५: जो नितान्त मूर्ख छन्, जो मानिसहरू मध्ये सबैभन्दा अधम छन्, जसको ज्ञान मेरी मायाशक्तिद्वारा मोहग्रस्त छ र जो दानव जस्तो नास्तिक स्वभावका छन् त्यस्ता दुष्टहरू मेरा शरणमा आउँदैनन् ।


श्लोक १६: हे भरतश्रेष्ठ अर्जुन ! यी चार प्रकारका - विपत्तिमा परेका, ज्ञानको चाहना भएका, धनको चाहना भएका र ब्रह्मज्ञानको खोजीमा लागेका - पुण्यात्माहरूले मेरो सेवा गर्दछन् ।


श्लोक १७: यिनीहरूमध्ये पनि जो ज्ञानवान छ र शुद्धभक्तिमा लागिरहेको छ, त्यही सर्वश्रेष्ठ हो किनभने म उसका लागि अत्याधिक प्रिय हुन्छु र ऊ पनि मेरा लागि अत्याधिक प्रिय हुन्छ ।


श्लोक १८: यी सबै भक्तहरू निःसन्देह उदार आत्माहरु हुन् तथापि जो मेरै ज्ञानमा अवस्थित छन् तिनीहरूलाई म आफैं समान ठान्दछु । मेरै दिव्य सेवामा संलग्न रहेर उसले सर्वोच्च तथा परम लक्ष्यका रूपमा निश्चय नै मलाई प्राप्त गर्नेछ ।


श्लोक १९: अनेकौं जन्मजन्मान्तरपछि वास्तविक ज्ञानवान भक्त मलाई नै सबै कारणहरूका पनि कारण ठानेर मेरै शरणमा आइपुग्दछ । त्यस्तो महात्मा अत्यन्त दुर्लभ हुन्छ ।


श्लोक २०: भौतिक आसक्तिद्वारा जसको बुद्धि मोहग्रस्त भएको छ तिनीहरू देवताहरूकै शरणमा जान्छन् र आ-आफ्ना स्वभावअनुसार पूजा उपासनाका निर्देषित विधि-विधानहरूको पालना गर्न थाल्दछन् ।


श्लोक २१: म प्रत्येक जीवका हृदयमा परमात्मा स्वरूपमा विराजमान छु । जस जसले जुनजुन देवताको पूजा गर्ने इच्छा राख्दछ त्यस त्यसले ती विशेष देवताको भक्ति गर्न सकोस् भनी म त्यही देवतामा उसको श्रद्धा स्थिर गरिदिन्छु ।


श्लोक २२: यस प्रकारको श्रद्धाले पूर्ण भएर उसले देवता विशेषको पूजा गर्ने प्रयास गर्दछ र आफ्नो आकांक्षा पुरा गर्दछ । तर वास्तवमा उसका यी सबै इच्छाहरू मैले नै पुरा गर्दछु ।


श्लोक २३: अल्पबुद्धि भएका मनुष्यहरूले देवताहरूको पूजा गर्दछन् र सीमित तथा क्षणिक फल पाउँदछन् । अन्तमा देवताको पूजा गर्नेहरू देवलोक जान्छन् र मेरा भक्तहरू मेरै परमधाममा आउँछन् ।


श्लोक २४: मलाई राम्रोसँग नचिन्नी बुद्धिहीन मनुष्यहरू म परमपुरुष श्रीकृष्णलाई पहिले निराकार भएको र अहिले साकार रूप धारण गरेर आएको भन्ने ठान्दछन् । अल्पबुद्धि भएका कारणले तिनीहरू मेरो परम अविनाशी र सर्वोच्च प्रकृतिलाई बुझ्न सक्दैनन् ।


श्लोक २५: मूर्ख तथा अल्पज्ञानीहरूका लागि म सधैँ अप्रकट अवस्थामा रहन्छु । तिनीहरूका लागि म आफ्नी योगमायाद्वारा ढाकिएको छु तसर्थ म अजन्मा र अविनाशी भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन ।


श्लोक २६: हे अर्जुन ! म भगवान भएका कारणले भूतकालमा घटेका, वर्तमान कालमा घटिरहेका र भविष्यमा घटित हुने सबै कुराहरू जान्दछु । म सबै जीवहरूलाई जान्दछु तर मलाई कसैले पनि जान्दैनन् ।


श्लोक २७: हे भरतवंशी ! हे शत्रुविजेता ! सबै जीवहरू मोहित स्थितिमा जन्म लिन्छन् र इच्छा तथा द्वेषबाट उत्पन्न द्वन्द्वमा परि भ्रमित हुन पुग्दछन् ।


श्लोक २८: जसले पूर्व जन्ममा र यो जन्ममा पनि पुण्यकर्म गरेका छन् र जसका पापहरू पूर्णरूपले निर्मूल भएका छन् तिनीहरू नै मोहको द्वन्द्वबाट मुक्त भई दृढतापूर्वक मेरा सेवामा तत्पर हुन्छन् ।


श्लोक २९: बृद्धावस्था र मृत्युबाट मुक्ति प्राप्त गर्न प्रयासशील रहने बुद्धिमान् भक्तहरू भक्तिपूर्वक मेरो शरणमा पर्दछन् । दिव्य कर्मका विषयमा तिनीहरूलाई पूर्ण ज्ञान रहने हुँदा वास्तवमा तिनीहरू ब्रह्म नै हुन् ।


श्लोक ३०: जसले मलाई परमेश्वर भनेर चिनेको छ र मलाई नै भौतिक प्रकृतिको नियन्त्रण गर्ने तत्त्व मानेको छ र जसले मलाई देवताहरूका नियन्ता तथा सबै यज्ञहरूका विधायक जानेको छ त्यस्तो एकाग्र चित्त भएको व्यक्तिले मृत्युकालमा म भगवानलाई जान्न र बुझ्न सक्दछन् ।