भगवद्गीता नेपाली

अध्याय ११ · विराट-स्वरूप

श्लोक १: अर्जुनले भने - हजुरले ममाथि कृपा गरेर दिनुभएको अध्यात्म सम्बन्धि अत्यन्त गोपनीय ज्ञानहरू सुनेर मेरो भ्रमहरु हटे ।


श्लोक २: हे कमलनयन ! मैले हजुरबाट हरेक जीवात्माको उत्पत्ति र विनाशका बारेमा विस्तारतापूर्वक श्रवण गरेँ र हजुरको अविनाशी महिमाको अनुभव पनि गरेँ ।


श्लोक ३: हे परमेश्वर ! मैले मेरा सामु हजुरले बयान गरेजस्तै हजुरकै वास्तविक स्वरूपमा हजुरलाई देखिरहेको छु । हे पुरुषोत्तम ! हजुर यो विशाल ब्रह्माण्डभित्र कसरी प्रवेश गरेर बस्नुभएको छ, म हजुरको त्यो रूपको पनि दर्शन गर्न चाहन्छु ।


श्लोक ४: हे प्रभु ! यदि मलाई हजुरको विराटरूपको दर्शन गर्न योग्य ठान्नुहुन्छ भने ममाथि दया गरेर हे योगेश्वर ! मलाई हजुरको त्यो असीम विश्वरूपको दर्शन गराउनुहोस् ।


श्लोक ५: भगवानले भन्नुभयो - हे पृथापुत्र ! तिमी मेरा ऐश्वर्यहरू तथा अनेक रंग र आकृतिका सयौं हजारौं दिव्य रूपहरूलाई हेर ।


श्लोक ६: हे भारत ! यहाँ बाह्र आदित्यहरू, आठ वसुहरू, एघार रुद्रहरू, दुई अश्विनीकुमारहरू, उनन्चास वायुहरु र अन्य देवताहरूका विभिन्न रूपहरूलाई तिमी हेर र अरू पनि कैयौं आश्चर्यजनक कुराहरूलाई हेर जसलाई योभन्दा पहिले न कसैले देखेको थियो न सुनेको थियो ।


श्लोक ७: हे अर्जुन ! तिमी जेजे कुरा हेर्न चाहन्छौ त्यो सबै अहिले यो मेरो विशाल शरीरमा हेर । वर्तमान र भविष्यको बारेमा पनि तिमी जेजे जान्न चाहन्छौ त्यो यही मेरो विराट-स्वरूपमा देख्न सक्नेछौ । सबै चर र अचर वस्तुहरू तिमी यहाँ एकै ठाउँमा देख्नेछौ ।


श्लोक ८: तर तिमी तिम्रा यी नेत्रले मेरो यो रुप देख्न सक्दैनौ त्यसैले म तिमीलाई दिव्य नेत्र दिन्छु, तिनै दिव्य नेत्रले मेरो यो योग-ऐश्वर्यलाई हेर ।


श्लोक ९: सञ्जयले भने - हे राजन ! यति भनि महायोगेश्वर भगवान् श्रीकृष्णले अर्जुनलाई आफ्नो दिव्य विश्वरुप देखाउनुभयो ।


श्लोक १०-११: अर्जुनले भगवानको त्यस विश्वरूपमा कैयौं मुख, आँखा र धेरै धेरै आश्चर्यजनक दृश्यहरू देखे । विश्वरूपमा भगवान अनेक दिव्य आभूषणहरूद्वारा सुशोभित हुनुहुन्थ्यो । उहाँ अनेक दिव्य हतियारहरूद्वारा सुसज्जित हुनुहुन्थ्यो, दिव्य मालाहरूले विभूषित हुनुहुन्थ्यो र अनेक प्रकारका दिव्य सुगन्धित अत्तरहरूले लेपन गरिएको थियो । सबै चीज आश्चर्यजनक थियो, तेजोमय थियो, असीमित थियो र जताततै फैलिएको थियो ।


श्लोक १२: यदि आकाशमा एकैपटक हजारौं सूर्यहरू उदाए भने तिनका प्रकाशको ताप र उज्ज्वलता जति होलान् त्यत्ति नै जाज्वल्यमान् प्रकाश विश्वरूपधारी भगवान श्रीकृष्णको थियो ।


श्लोक १३: त्यस समय अर्जुनले भगवानको विराट रूपमा हजारौँ-हजार भागमा विभाजित भएर रहेको ब्रह्माण्डको असङ्ख्य विस्तारलाई त्यहाँ एकै ठाउँमा देखे ।


श्लोक १४: त्यसपछि भ्रमित, चकित र हर्षले रोमाञ्चित भएका अर्जुनले शिर झुकाएर भगवानलाई प्रणाम गरे र हात जोडेर उहाँको यसरी प्रार्थना गर्न थाले ।


श्लोक १५: अर्जुनले भने - प्रिय भगवान कृष्ण ! मैले त हजुरका शरीर भित्र सारा देवताहरू र अनेक प्रकारका अन्य जीवात्माहरू एकत्र भएको देख्दैछु । मैले यहाँ कमलमा विराजमान ब्रह्माजी, शिवजी, सम्पूर्ण ऋषिहरू र दिव्य नागहरूलाई पनि देख्दैं छु ।


श्लोक १६: हे विश्वेश्वर, हे विश्वरूप ! मैले त हजुरका शरीरमा चारैतर्फ फैलिएका धेरै धेरै हातहरू, पेटहरू, मुखहरू र आँखाहरू देखिरहेको छु । मैले हजुरको आदि, मध्य र अन्त्य केही देख्न सकिन ।


श्लोक १७: जलिरहेको अग्नि वा सूर्यको अनन्त प्रकाश जस्तै चारैतर्फ फैलिएको जाज्वल्यमान तेजका कारणले मलाई हजुरको रूप देख्न गाह्रो भई रहेको छ । तैपनि सबैतर्फ फैलिएको हजुरको कैयौं मुकुटहरू, गदाहरू र चक्रहरूले विभूषित तेजोमय स्वरूपलाई देखिरहेको छु ।


श्लोक १८: मेरो विचारमा हजुर नै प्रथम जान्नलायक विषय हुनुहुन्छ, हजुर नै सम्पूर्ण विश्व-ब्रह्माण्डका परमआश्रयस्थल हुनुहुन्छ, हजुर अविनाशी हुनुहुन्छ, परमपुरुष हुनुहुन्छ र हजुर नै यो शाश्वत-सनातन धर्मका पालनकर्ता हुनुहुन्छ ।


श्लोक १९: हजुर आदि, मध्य र अन्त रहित हुनुहुन्छ, हजुरको महिमा अनन्त छन्, हजुरका धेरैधेरै हातहरू छन्, सूर्य र चन्द्रमा हजुरकै नेत्र हुन्, मैले त हजुरलाई मुखबाट आगोका ज्वाला निस्किरहेको र आफ्नै तेजले संसारलाई डढाउन लागिरहेको जस्तो देख्दैछु ।


श्लोक २०: हजुर एक हुनुहुन्छ तापनि आकाशमा, विभिन्न लोकहरूमा र बीचका सारा भागहरूमा सबै तिर फैलिनुभएको छ । हे महापुरुष ! हजुरको यो डरलाग्दो र अद्भुत रूप देखेर तीनै लोकका प्राणीहरु विचलित भइरहेका छन् ।


श्लोक २१: सारा देवगणहरू हजुरको शरण ग्रहण गर्दै हजुरमा प्रवेश गरिरहेका छन् र तीमध्ये केही एकदम डराउँदै हात जोडेर प्रार्थना गरिरहेका छन् । महर्षिहरू तथा सिद्धहरू मङ्गल होस् भन्दै वेदका ऋचाहरू उच्चारण गरेर हजुरको स्तुति गरिरहेका छन् ।


श्लोक २२: भगवान शिवका एघार रुद्रले, आदित्यहरूले, वसुहरूले, साध्यहरूले, विश्वेदेवहरूले, दुई अश्विनीकुमारहरूले, वायुहरूले, पितृहरूले, गन्धर्वहरूले, यक्ष, असुर तथा सिद्ध देवताहरूले आश्चर्य मानेर हजुरलाई नै हेरिरहेका छन् ।


श्लोक २३: हे महाबाहु ! धेरै अनुहार, आँखा, हात, जाँघ, गोडा, पेट र भयङ्कर दाँतहरूसहितको हजुरको विराट रूपलाई देखेर देवताहरूका साथै सबै लोकका प्राणीहरु विचलित भइरहेछन् र मेरो पनि त्यही अवस्था छ ।


श्लोक २४: हे सर्वव्यापी भगवान विष्णु ! ठूलाठूला ज्योतिर्मय आँखा भएको, मुख खोलेको र अनेकौं तेजिला रंगरूपले आकाशलाई छोइरहेको हजुरको विराट स्वरूपलाई देखेर डरले मेरो मन विचलित भई रहेको छ । यस समय न मैले धैर्य धारण गर्न सकिरहेको छु न त मानसिक शान्ति नै प्राप्त गर्न सकिरहेको छु ।


श्लोक २५: हजुरको यस प्रकारको डरलाग्दा दाँतहरु र मृत्युरुपी दन्किरहेको अग्नि समान मुखहरु देखेर म सबैतिरबाट दिग्भ्रमित भएको छु । हे देवेश ! हे जगन्निवास ! दया गरेर मबाट प्रसन्न हुनुहोस् ।


श्लोक २६-२७: धृतराष्ट्रका सबै छोराहरूसँगै, सबै सहयोगी राजाहरू, पितामह भीष्मदेव, गुरु द्रोण, कर्ण र हाम्रा तर्फका प्रमुख योद्धाहरू समेत हजुरको डरलाग्दो मुखमा प्रवेश गरिरहेका छन् । अझैँ कसैका शिर हजुरका दाँतका बीचमा पिसिएर धूलो भएको पनि देखिरहेको छु ।


श्लोक २८: जसरी नदीका प्रवाह समुद्रमा मिसिन्छन्, त्यसै गरी यी सबै महान् राजाहरू पनि हजुरको प्रकाशशील मुखमा प्रवेश गर्दैछन् ।


श्लोक २९: जसरी पुतलीहरू आफै नष्ट हुनका लागि जलिरहेको आगोमा अत्यन्त वेगपुर्वक प्रवेश गर्दछन् त्यसै गरी सबै मानिसहरू अत्यन्त जोडका साथ हजुरका मुखमा प्रवेश गरिरहेका छन् ।


श्लोक ३०: हे विष्णु ! हजुरले आफ्ना आगोको झिल्का निस्किरहेको मुखहरूद्वारा चारै दिशाबाट सबै मानिसहरूलाई निलिरहनुभएको छ । आफ्नो तेजहरुद्वारा समस्त ब्रह्माण्डलाई ढाकेर चर्काचर्का किरणसहीत उग्र रूपमा प्रकट हुनुभएको छ ।


श्लोक ३१: हे देवताहरूका पनि देवता ! यति भयानक रूपमा प्रकट हुनुभएका तपाई को हुनुहुन्छ कृपया मलाई भन्नुहोस् । म हजुरलाई नमस्कार गर्दछु कृपया मदेखि प्रसन्न हुनुहोस् । हजुर आदिपुरुष हुनुहुन्छ म हजुरको बारेमा जान्ने इच्छा राख्दछु । हजुरको उद्देश्य के हो म जान्दिन ।


श्लोक ३२: भगवानले भन्नुभयो - म संसारको संहार गर्ने काल हूँ, म अहिले सबैको नाश गर्न यहाँ आएको हुँ । तिमीबिना पनि दुवैतिरका यी सबै सैनिकहरू मारिने छन् ।


श्लोक ३३: अतः तिमी उठ, लड्नका लागि तयार होऊ, विजयको यश, कीर्ति प्राप्त गर, शत्रुहरूलाई रणभूमिमा जितेर समृद्ध राज्यको भोग गर । तिनीहरू सबैलाई मैले अगाडि नै मृत्युका मुखमा पुऱ्याइदिसकेको छु । त्यसैले हे सव्यसाची ! तिमी यस युद्धको एउटा माध्यम मात्र बनिदेऊ ।


श्लोक ३४: द्रोण, भीष्म, जयद्रथ, कर्ण र अरु महान् योद्धाहरूलाई मैले पहिले नै मारिसकेको छु, त्यसैले तिमी तिनलाई मार, व्याकुल नहोऊ, केवल युद्ध गर । तिमीले यस युद्धमा आफ्ना शत्रुहरू माथि विजय प्राप्त गर्नेछौ ।


श्लोक ३५: सञ्जयले भने - हे राजन ! भगवान कृष्णका यी वचनहरू सुनेर अर्जुनले थरथर काँम्दै हात जोडेर फेरिफेरि पनि नमस्कार गरे अनि डराईडराई अवरुद्ध स्वरमा यसो भने ।


श्लोक ३६: अर्जुनले भने - हे हृषीकेश ! हजुरको नाम सुनेर सारा संसार हर्षित भइरहेको छ र हरेक व्यक्ति हजुरप्रति मोहित भइरहेको छ । असुरहरू डरले यता र उता भागाभाग गरिरहेका छन् भने सिद्ध पुरुषहरू हजुरलाई सादर प्रणाम गरिरहेका छन् । यो सबै उचित हो ।


श्लोक ३७: हे महापुरुष ! हजुर ब्रह्माभन्दा पनि ठूला, साराका परमश्रष्टा हुनुहुन्छ अनि असल मानिसहरूले हजुरलाई सादर प्रणाम किन नगरून् ? हे अनन्त ! हे देवेश ! हे जगन्निवास ! हजुर समस्त कारणहरूका पनि कारण र अविनाशी स्रोत हुनुहुन्छ अनि यो भौतिक जगतभन्दा पर, दिव्य, हुनुहुन्छ ।


श्लोक ३८: हजुर सबैभन्दा प्राचीन आदिदेव हुनुहुन्छ, हजुर नै परमपुरुष हुनुहुन्छ, यो संसारको परमआश्रय हुनुहुन्छ । हजुर नै सबैका ज्ञाता हुनुहुन्छ र स्वयं सम्पूर्ण रूपले जान्न योग्य पनि हुनुहुन्छ । हजुर भौतिक गुणहरूभन्दा पर रहने सबैका मूल आधार हुनुहुन्छ । हे अनन्तरूप ! यो सम्पूर्ण सृष्टिमा हजुर व्याप्त भएर रहनु भएको छ ।


श्लोक ३९: हजुर नै वायु, यमराज, अग्नि, वरुण, चन्द्रमा, ब्रह्मा (शृष्टिका प्रथम जीव) र जीज्यु बुबा पनि हुनुहुन्छ । अतः हजुरलाई हजार पटक नमस्कार छ र फेरिफेरि पनि नमस्कार छ ।


श्लोक ४०: हजुरलाई अगाडि, पछाडि र चारैतर्फबाट नमस्कार छ । हे अनन्तशक्ति ! हजुर त असीमित पुरुषार्थका स्वामी हुनुहुन्छ र सर्वव्यापी हुनुहुन्छ । यसरी हजुर सबै वस्तु हुनुहुन्छ ।


श्लोक ४१-४२: हजुरलाई मात्र एउटा साथी मानेर हजुरको ऐश्वर्यलाई नजानी मैले हजुरलाई दुःसाहसपूर्ण शब्द प्रयोग गरेर हे कृष्ण ! हे यादव ! हे सखा ! भनेर बोलाए । प्रेमले या पागलपनले मैले जे गरें त्यसमा माफी पाऊँ । अझ सँगै विश्राम गर्दा, सुत्दा, बस्दा वा सँगसँगै खाना खाँदा, कहिले एक्लै र कहिले अरु साथीहरूका बीचमा मजाकका रूपमा निकै पटक मैले हजुरको अनादर गरेँ होला । हे अच्युत ! मेरा यी सबै पापहरू माफ गरिदिनु होला ।


श्लोक ४३: हजुर यो सम्पूर्ण चराचर जगतका पिता हुनुहुन्छ । हजुर नै महिमाशाली र पूजनीय गुरु हुनुहुन्छ । हजुरको बराबर कोही छैन र कोही हुन पनि सक्दैन । हे अचिन्त्य शक्तिशाली ! यो तीनै लोकमा हजुरभन्दा ठूलो अरू को हुनसक्दछ ?


श्लोक ४४: हजुर प्रत्येक जीवात्माका पूजनीय भगवान हुनुहुन्छ त्यसैले म हजुरलाई सादर प्रणाम गर्दछु र हजुरको कृपा याचना गर्दछु । जसरी एउटा पिताले पुत्रको गल्तीलाई, जसरी एउटा मित्रले आफ्नो मित्रको अशिष्टतालाई र पतिले आफ्नो प्रिय पत्नीको त्रुटीलाई सहीदिन्छ, त्यसै गरी हजुरले पनि दया गरेर मेरा गल्तीहरूलाई सहन गरिदिनुहोस् ।


श्लोक ४५: पहिले कहिल्यै नदेखेको हजुरको विराट रूप देखेर म हर्षित छु तर मेरो मन डरले व्याकुल भएको छ, त्यसैले हे देवेश ! हे जगन्निवास ! ममाथि दया गरेर मलाई फेरि हजुरको त्यही पुरुषोत्तम रूप नै देखाउनुहोस् ।


श्लोक ४६: हे विराटरूप धारी ! हे सहस्रबाहु भगवान ! म हातमा शंख, चक्र, गदा, पद्म लिएको, शिरमा मुकुट लगाएको हजुरको त्यही चतुर्बाहु रूपको दर्शन गर्न चाहन्छु । हजुरको त्यही रूपको दर्शन गर्ने मेरो इच्छा छ ।


श्लोक ४७: भगवानले भन्नुभयो - प्रिय अर्जुन ! मैले तिमीप्रति प्रसन्न भएर आफ्नी अन्तरङ्गा शक्तिबाट यही भौतिक जगतमा मेरो दिव्य विश्वरूपको दर्शन गराएँ । योभन्दा पहिले अरू कसैले पनि यस्तो तेजोमय नित्य अनन्त रूप कहिल्यै देखेको थिएन ।


श्लोक ४८: हे कुरुश्रेष्ठ ! वेदाध्ययनद्वारा, यज्ञयागादिद्वारा, दानद्वारा, पुण्यकर्महरूद्वारा र कठोर तपास्याद्वारा यो भौतिक जगतमा कसैले पनि मलाई यस रूपमा देख्न सक्दैन ।


श्लोक ४९: मेरो यो घोर रूप देखेर तिमी डरायौ, भ्रममा पर्यौ, त्यसैले अब तिम्रो डर समाप्त होस् । हे प्रिय भक्त ! तिमी फेरि सारा चिन्ताबाट मुक्त भएर तिमीले इच्छाएको मेरो रूप हेर ।


श्लोक ५०: सञ्जयले धृतराष्ट्रलाई भने - यस प्रकार अर्जुनलाई भनेपछि भगवान श्रीकृष्णले आफ्नो वास्तविक चतुर्भुज रूप देखाउनुभयो र अन्त्यमा दुई भुजाधारी सुन्दर रूप देखाएर डराएर काप्दै गरेका अर्जुनलाई हिम्मत दिनुभयो ।


श्लोक ५१: अर्जुनले भने - हे जनार्दन ! हजुरको यो अत्यन्त सुन्दर मनुष्य स्वरूप देखेर म अहिले स्थिरचित्त भएको छु र आफ्नो सही चेतनामा फर्किएको छु ।


श्लोक ५२: भगवानले भन्नुभयो - तिमीले देखिरहेको मेरो यो रूप देख्न पाउन निकै गाह्रो छ । देवताहरू पनि सधैँ यो रूपको दर्शनाभिलाषी रहन्छन्, किनभने यो धेरै नै दुर्लभ छ ।


श्लोक ५३: आफ्ना दिव्य दृष्टिद्वारा मेरो जुन रूपको दर्शन तिमीले गरिरहेका छौ यसलाई वेदाध्ययनद्वारा, कठोर तपस्याद्वारा, दानपुण्यद्वारा र पूजापाठद्वारा बुझ्न सकिँदैन । यसरी कसैले पनि मलाई यस रूपमा देख्न सक्दैन ।


श्लोक ५४: हे अर्जुन ! जुन रूपमा अहिले म तिम्रा अगाडि उभिएको छु त्यस रूपमा मलाई बुझ्न मात्र अनन्य भक्ति चाहिन्छ । भक्तिद्वारा नै मलाई प्रत्यक्ष देख्न सक्दछौ । मात्र भक्तिले तिमी मसँग सम्बन्धित ज्ञानको रहस्यभित्र प्रवेश गर्न सक्दछौ ।


श्लोक ५५: हे पाण्डुपुत्र ! सकाम कर्महरू र मानसिक चिन्तनका कष्टबाट मुक्त भएर जो मेरो लागि कर्म गर्दछ, जसले मलाई आफ्नो जीवनको परमलक्ष्य बनाउँदछ, जो मेरो विशुद्ध भक्ति सेवामा लागेको छ र जसले हरेक जीवात्मासँग मैत्रीभाव राख्दछ त्यसले निश्चय नै मलाई प्राप्त गर्दछ ।