भगवद्गीता नेपाली

अध्याय २ · गीताको सारसंक्षेप

श्लोक १: सञ्जयले भने- दयाले भरिएका, दुखि भएका र आँखाभरि आँसु लिएका अर्जुनलाई देखेर मधुसूदनले (श्रीकृष्णले) यी शब्दहरू भन्नुभयो ।


श्लोक २: श्रीभगवानले भन्नुभयो- हे अर्जुन ! तिमीमा यी उदासिनताहरू कहाँबाट आए ? अनार्यले (जीवनको मुल्य नबुझ्ने व्यक्तिले) गर्ने जस्तो कुरा गरेर स्वर्गको प्राप्ति हुदैन र अपकिर्ती रहन जान्छ ।


श्लोक ३: हे पृथापुत्र ! नपुंसकता नदेखाऊ, तिमी जस्तो योद्धालाई यो सुहाउदैन । हे शत्रु संहारक ! हृदयको तुच्छ कमजोरीलाई त्यागेर लड्न उठ ।


श्लोक ४: अर्जुनले भने- हे मधुसुदन, हे शत्रुहरुका संहारकर्ता ! कसरी युद्धभूमिमा पुजनीय पितामह भीष्म र गुरु द्रोणमाथि वाणहरुले प्रतिप्रहार गरूँ ?


श्लोक ५: गुरुहरूलाई महानुभावहरुलाई मार्नुभन्दा बरु यो संसारमा भीख मागेर खानु ठिक हो । भौतिक लाभका इच्छा भएपनि उनीहरू मेरा गुरुहरू हुन् । यदि उनीहरूलाई मार्यौ भने हामीले भोग गर्ने सबै वस्तु रगतले मुछिएको हुनेछ ।


श्लोक ६: न त यो पनि जान्दछौं कुन ठिक हो, हामीले उनीहरूलाई जिते राम्रो हुने हो वा उनीहरूले हामीलाई जिते राम्रो हुने हो । हामी जुन धृतराष्ट्रका पुत्रहरूलाई मारेर बाच्न चाहँदैनौँ ती सबै नै हाम्रा अगाडि रणभूमिमा खडा छन् ।


श्लोक ७: यतिखेर बौद्विक कमजोरीले गर्दा मैले मेरो कर्तव्य के हो निश्चय गर्न सकिरहेको छैन र म आफ्नो सम्पूर्ण धैर्यता पनि गुमाउँदैछु । यस्तो दशामा मैले हजुरसँग सोधिरहेको छु कि मेरा लागि सबैभन्दा कल्याणकारी के हुन्छ, त्यही भन्नुहोस् । म हजुरकै शिष्य हूँ र हजुरकै शरणमा आएको छु अतः दया गरेर मलाई समय उचित उपदेश दिनुहोस् ।


श्लोक ८: मेरा इन्द्रियहरूलाई सुकाउने यो शोक हटाउने कुनै तरिका म देख्दिन । स्वर्गमा देवताहरू जस्तै यो पृथ्वीमा शत्रु रहित र संसारभरिको धनले भरिपूर्ण राज्य पाए पनि म यो शोकलाई हटाउन सक्ने उपाय देख्दिन ।


श्लोक ९: सञ्जयले भने - यति भनेर शत्रुदमनकर्ता अर्जुनले हृषिकेशसँग "गोविन्द ! म युद्ध गर्दिन” भनेर चुपचाप भए ।


श्लोक १०: हे भरतवंशी ! त्यस क्षण दुवैतर्फका सैनिकहरूका मध्यमा शोकाकुल भएका अर्जुनलाई हृषिकेशले हाँस्दै यी शब्दहरू बोल्नुभयो ।


श्लोक ११: भगवानले भन्नुभयो - तिमी कुरा पण्डितका जस्ता गर्छौ तर शोक गर्न लायक नभएकाहरुका लागि शोक गरिरहेको छौ । विद्वानहरू न जिउँदाका लागि न मरेकाका लागि नै शोक गर्दछन् ।


श्लोक १२: कहिले पनि म नभएको, तिमी नभएको र यी राजाहरू नभएको समय थिएन र भविष्यमा पनि हामी सबै नभएको कुनै समय हुनेछैन ।


श्लोक १३: जसरी यो आत्मा रहेको शरिर निरन्तर बालक अवस्थाबाट युवा अवस्थामा र युवा अवस्थाबाट वृद्ध अवस्थातिर परिवर्तन भइरहन्छ, त्यसैगरी यो आत्मा एउटा शरीरको मृत्युपछि अर्को शरीरमा सर्ने गर्दछ । त्यस्ता कुरामा धीर व्यक्तिहरू भ्रमित हुँदैनन् ।


श्लोक १४: हे कुन्तीपुत्र ! दुःख सुख भन्ने कुरा समय समयमा आउने र जाने जाडो र गर्मी ऋतु जस्ता सामयिक हुन् र यी इन्द्रिय र विषयका सम्बन्धबाट उत्पन्न हुन्छन् । हे भरतवंशी अर्जुन ! यस्ता कुरालाई मानिसले स्थिर भइ सहन सिक्नुपर्दछ ।


श्लोक १५: हे पुरुष श्रेष्ठ अर्जुन ! जुन पुरुष सुख र दुःखमा विचलित हुँदैन र दुवै अवस्थामा समान रहन्छ, त्यो धीर पुरुष निश्चय नै मुक्तिका लागि योग्य हुन्छ ।


श्लोक १६: भौतिक शरीर सधैंभरि रहदैन र आत्माको कुनै परिवर्तन नै हुँदैन । यी दुवैका प्रकृतिको अध्ययन गरेर तत्त्वदर्शीहरूले यस्तो निष्कर्ष निकाले ।


श्लोक १७: जो सम्पूर्ण शरीरमा व्याप्त छ त्यसैलाई तिमीले नित्य सम्झनु । त्यो अविनाशी आत्मालाई कसैले पनि विनाश गर्न सक्दैन ।


श्लोक १८: नित्य, नाप्न नसकिने र सनातन जीवात्माको भौतिक शरीर नाशवान् छ, त्यसैले हे भरतवंशी अर्जुन ! तिमी लडाई गर ।


श्लोक १९: जो यस जीवात्मालाई मार्ने ठान्दछ र जो यसलाई मर्नेवाला ठान्दछ ती दुवै अल्पज्ञानी हुन् । यो आत्मा न त मर्छ न मारिन्छ ।


श्लोक २०: आत्मा न कहिल्यै जन्मन्छ न मर्छ । आत्माको कहिल्यै जन्म भएन, यो जन्मिदैन र कहिल्यै जन्मिनेछैन । यो अजन्मा छ, नित्य छ, शाश्वत सनातन छ, र सबैभन्दा पुरानो छ । शरीर मारिदा पनि यो मर्दैन ।


श्लोक २१: हे पार्थ ! जो यस आत्मालाई अविनाशी छ, सनातन छ, अनादि छ र अक्षय छ भन्ने जान्दछ त्यो व्यक्तिले कसरी कसैलाई मार्ला वा मार्न लगाउन सक्ला ?


श्लोक २२: जसरी मान्छेले फाटेका कपडाहरू त्यागेर नयाँ कपडा ग्रहण गर्दछ त्यसरी नै आत्माले पनि पुराना र थोत्रो शरीरलाई त्यागेर नयाँ शरीर ग्रहण गर्दछ ।


श्लोक २३: न यो आत्मालाई कहिल्यै कुनै हतियारले टुक्रा टुक्रा पारेर काट्न सकिन्छ, न त यसलाई आगोले डढाउन सकिन्छ, न त यो आत्मालाई पानीले भिजाउन सकिन्छ, न त हावाले नै सुकाउन सकिन्छ ।


श्लोक २४: यो आत्मा कहिल्यै फुट्दैन, डढ्दैन, भिज्दैन, पग्लिदैन र सुक्दैन । यो आत्मा नित्य छ, सर्वव्यापी छ, अपरिवर्तनशील छ, अचल छ र सनातन छ ।


श्लोक २५: यो आत्मालाई अदृश्य, अकल्पनीय र अविकारी भनिन्छ । यो कुरा बुझेर पनि तिमीले यो भौतिक शरीरका लागि शोक गर्नु ठिक हुँदैन ।


श्लोक २६: हे महाबाहु ! तापनि यदि तिमीले यो आत्मालाई सधैं जन्मने र सधैँ मर्ने ठान्छौ भने पनि तिमीले यसका सम्बन्धमा शोक गर्नु पर्ने कुनै कारण छैन ।


श्लोक २७: जन्म लिनेको निश्चय नै मृत्यु हुन्छ र मरेपश्चात फेरि निश्चय जन्मन्छ, त्यसैले आफ्नो अनिवार्य कर्म तिमीले गर्नैपर्दछ र यसमा निराश हुनुहुँदैन ।


श्लोक २८: समस्त प्राणीहरु जन्म अगाडी अव्यक्त अवस्थामा हुन्छन्, जन्मेर नमरुन्जेलको बीचको अवस्थामा तिनीहरू व्यक्त हुन्छन् र मरेपश्चात अव्यक्त नै हुन्छन्, त्यसैले यसमा चिन्ता के कारणले गर्नु पर्यो ?


श्लोक २९: कोही यसलाई आश्चर्यका रूपमा हेर्दछन्, कोही यसलाई आश्चर्यका रूपमा वाचन गर्दछन्, कोही यसलाई आश्चर्यका रूपमा यसका बारेमा सुन्दछन् तर पनि कोही यसका बारेमा सुनेर पनि केही बुझ्न सक्दैनन् ।


श्लोक ३०: हे भरतवंशी ! देहमा स्थित यो देहका स्वामीलाई नित्य रुपमै मार्न सकिदैन तसर्थ कुनै पनि प्राणीका लागि तिमीले शोक गर्नु ठिक होइन ।


श्लोक ३१: एउटा क्षत्रियले अनिवार्य गर्नुपर्ने आफ्नो कर्तव्यलाई विचार गरेर धर्मयुद्ध गर्नुभन्दा श्रेष्ठ अरू कुनै कर्म छैन भन्ने कुरा तिमीले बुझ र युद्ध गर्न तिमीले कुनै सङ्कोच नमान ।


श्लोक ३२: हे पार्थ ! स्वतः प्राप्त हुन आएको खुलेको स्वर्गद्वार जस्तो यो युद्धको अवसर एकदमै भाग्यमानि क्षत्रियहरूले मात्रै पाउँद्छन ।


श्लोक ३३: यदि केही गरी तिमीले यो युद्ध धर्म पूरा गरेनौ भने तिमीलाई आफ्नो कर्म पालन नगरेको पाप लाग्ने छ र तिमीले योद्धाका रूपमा पाएको किर्ति पनि गुमाउनेछौ ।


श्लोक ३४: मान्छेहरू सधैं तिम्रा अकिर्तीको वर्णन गर्नेछन् । एउटा इज्जत भएको व्यक्तिका लागि अकिर्ति भन्ने चिज मृत्युभन्दा पनि बढी कष्टदायी हुन्छ ।


श्लोक ३५: ठुलाठुला महारथीहरू जजसले तिम्रो अत्यन्त आदर गरेका छन्, तिनैले तिमीलाई रणभुमिबाट डराएर भागेको ठानेर तिमीलाई निच ठान्नेछन् ।


श्लोक ३६: तिम्रा शत्रुहरू तिम्रो निन्दा गर्दै धेरै दुर्वचनहरू भन्नेछन, त्योभन्दा दुखदायी कुरा तिम्रा लागि के होला र ?


श्लोक ३७: हे कुन्तीपुत्र ! युद्धमा मारियौ भने तिमीले स्वर्गलोक पाउने छौ र यदि विजय भयौ भने पृथ्वीको राज्य पाउने छौ त्यसैले दृढ निश्चयका साथ उठ र लड ।


श्लोक ३८: सुख-दुःख, लाभ-हानि, जय-पराजय दुवैमा समानभाव राखि तिमी युद्ध गर, यसो गर्दा तिमीलाई कुनै पाप लाग्ने छैन ।


श्लोक ३९: यसरी विश्लेषणद्वारा मैले तिमीलाई यो ज्ञानको वर्णन गरें । अब म बुद्धि योगको व्याख्या गर्छु, सुन । हे पार्थ ! यदि तिमीले यो ज्ञानमा रहेर कर्म गर्यौ भने तिमीले आफूलाई कर्मबन्धनबाट मुक्त हुन सक्नेछौ ।


श्लोक ४०: यस योगमा परिश्रम गर्नमा न कुनै हानि छ न बिघ्नबाधा नै । यो मार्गमा गरिएको थोरै उन्नतिले पनि मानिसलाई अत्यन्त ठुलो भयबाट मुक्त गर्दिन्छ ।


श्लोक ४१: हे कुरुनन्दन ! जो यस मार्गमा लागेका छन्, जो आफ्नो लक्ष्यमा दृढनिश्चयी छन् तिनको उद्देश्य एउटा हुन्छ तर जो दृढनिश्चयी छैनन् तिनीहरूको बुद्धि भने अनेक हाँगाबिँगाहरूमा विभाजित भएको हुन्छ ।


श्लोक ४२-४३: अज्ञानी मानिसहरू वेदका आलंकारिक शब्दहरूमा एकदम आसक्त हुन्छन् । त्यहाँ स्वर्ग प्राप्त गराउने र राम्रो घरमा जन्म, शक्ति, सामर्थ्य र यस्तै अन्य कुराहरू प्राप्त गराउने किसिमका सकाम कर्महरू बताइएका छन् । इन्द्रियतृप्ति र सुखी जीवनको इच्छा राख्ने मानिसहरू योभन्दा बढी अरू केही छैन भन्ने गर्छन ।


श्लोक ४४: इन्द्रियतृप्ति र भौतिक सुखप्रति अति आसक्त मन भएका तथा जसलाई यस्ता वस्तुहरूले मुग्ध गर्दछ त्यस्ता व्यक्तिहरू भगवानको भक्तिमा दृढ निश्चयी हुन सक्दैनन् ।


श्लोक ४५: वेदमा मुख्य गरी यस भौतिक प्रकृतिका तीन गुणहरूसँग सम्बन्धित वस्तु उल्लेख छन, तसर्थ, हे अर्जुन ! तिमी यी तीन गुणभन्दा माथी उठ । द्वैतभाव मुक्त होऊ, लाभ र सुरक्षाका चिन्तनबाट पनि मुक्त होऊ र आफ्नो आत्मामा स्थित होऊ।


श्लोक ४६: एउटा सानो कूवाको काम विशाल जलाशयबाट तुरुन्त पूरा भए जस्तै, त्यसै गरी मनुष्यले वेदका पछाडि रहेको परमब्रह्मलाई जानेपछि आफै पूर्ण ज्ञानी हुन्छ ।


श्लोक ४७: तिम्रो अधिकार निश्चय नै आफ्नो निर्धारित कर्ममा मात्र छ, तर त्यस कर्मको फल पाउने वा नपाउने कुरा तिम्रो वशमा छैन । तिमीले आफूलाई कर्मफलको कारण पनि नसोच र कर्म गर्नबाट सङ्कोच पनि कहिल्यै नलिउ ।


श्लोक ४८: हे धनञ्जय ! सम्पूर्ण आसक्तिलाई त्यागेर समभावमा रहेर आफ्नो कर्म गर र सफलता वा असफलता होस् दुवैमा समान भाव राखेर आफ्नो कर्म पूर्ण गर । यही समान भाव हुनुलाई नै योग भनिन्छ ।


श्लोक ४९: हे धनञ्जय ! सबै निन्दित कर्मबाट टाढा रह र बुद्धि योगको अनुशरण गर्दै भगवानको शरणमा जाने प्रयास गर । फलका इच्छाले कर्म गर्नेहरु कृपण हुन् ।


श्लोक ५०: भगवद्भक्तिमा तल्लिन भएको व्यक्ति यही जीवनमा नै आफूलाई शुभ र अशुभ कर्मबाट मुक्त गराउँदछ, त्यसैले तिमी भक्तियोग हासिल गर्ने प्रयास गर, किनभने सारा कर्ममा कुशल नै योग हो ।


श्लोक ५१: भगवान्‌को भक्तिमा प्रयासरत रहेर महान ऋषिहरुले आफूलाई सकाम कर्मका प्रतिफलबाट मुक्त गर्दछन् र यसरी नै जन्म र मृत्युका बन्धनबाट मुक्त भएर तिनीहरूले सम्पूर्ण दुःखकष्टभन्दा पर रहेको भगवद्धाम प्राप्त गर्दछन् ।


श्लोक ५२: जब तिम्रो बुद्धिले भ्रमको घना वनलाई पार गर्नेछ, तब तिमी पहिल्यै सुनिसकेका र सुन्न बाँकी सबै कुराहरुप्रति विरक्त हुनेछौ ।


श्लोक ५३: जब तिम्रो बुद्धि वेदका आलङ्कारिक शब्दहरुबाट विचलित हुनेछैन र आत्मसाक्षातकारमा एकाग्र भएर स्थिर रहने छ तब मात्र त्यो दिव्य चेतना पाउने छौ ।


श्लोक ५४: अर्जुनले सोधे - हे केशव ! स्थितप्रज्ञको पहिचान के हो ? तिनी कसरी बोल्दछन ? तिनको भाषा कस्तो हुन्छ ? तिनी कसरी बोल्दछन्, बस्दछन् र कसरी हिडदछन् ?


श्लोक ५५: भगवानले भन्नुभयो - हे पार्थ ! जब व्यक्तिले मानसिक चिन्तनबाट इन्द्रियभोगका लागि उठ्ने सम्पूर्ण थरिका चाहनाहरूलाई बिर्सीदिन्छ र त्यसरी विशुद्ध मनले आफ्नै आत्मामा परम् आनन्द प्राप्त गर्नथाल्दछ त्यही व्यक्तिनै स्थितप्रज्ञ हो ।


श्लोक ५६: दुखै-दुखहरूका बीचमा रहँदा पनि जसको मन निरास हुँदैन अथवा सुख हुँदा जसको मन हर्षित हुँदैन र जो डर, क्रोध र आसक्तिबाट पनि मुक्त छ त्यसैलाई स्थितप्रज्ञ भनिन्छ ।


श्लोक ५७: जो सबै ठाउँमा स्नेहरहित रहन्छ, जसले शुभ हुँदा हर्षित हुने र अशुभ हुँदा घृणा गर्ने गर्दैन त्यही नै पूर्ण ज्ञानी हो ।


श्लोक ५८: कछुवाले आफ्ना अङ्गहरूलाई खुम्च्याएर खोलभित्र लुकाएझैँ जो आफ्ना इन्द्रियहरूलाई तिनका चिन्तनबाट खिच्न सफल छ त्यही व्यक्ति नै स्थितप्रज्ञ हो ।


श्लोक ५९: एउटा शरीरधारी प्राणी इन्द्रियभोगबाट मुक्त भए पनि उसमा त्यसको इच्छा भने रहिरहन्छ तर यदि त्योभन्दा उत्कृष्ट रसको स्वाद उसले पायो भने इन्द्रियतृप्तिको चाहना समाप्त हुन्छ र ऊ भग्वद्भक्तिमा स्थिर हुन्छ ।


श्लोक ६०: हे कुन्तिपुत्र ! इन्द्रियहरू कति शक्तिशाली छन् भने तिनीहरूलाई वशमा गर्न प्रयासरत विवेकशिल मानिसको मनलाई पनि त्यसले बलपूर्वक चोरी दिन्छन् ।


श्लोक ६१: जसले आफ्ना इन्द्रियहरूलाई सबै तिरिकाले नियन्त्रणमा राखेर र आफ्नो बुद्धिलाई ममा स्थिर गरेको छ त्यही मान्छे स्थितप्रज्ञ हो ।


श्लोक ६२: इन्द्रियका विषयहरूको ध्यान गर्दागर्दै मानिसको आसक्ति तिनै विषयमा हुन जान्छ यस्तो आसक्तिबाट काम इच्छाको विकास हुन्छ र काम इच्छाबाट क्रोध उत्पन्न हुन्छ ।


श्लोक ६३: क्रोधबाट पूर्णत: मोह उत्पन्न हुन जान्छ, मोहबाट स्मरणशक्ति भ्रमित हुन जान्छ, स्मरण शक्ति भ्रमित भएपश्चात बुद्धि नाश हुन्छ, जब बुद्धिको नाश हुन्छ तब मानिसको सर्वनाश (पतन) हुन्छ ।


श्लोक ६४: तर सबै प्रकारको आसक्तिबाट मुक्त भएको र स्वतन्त्र नियमहरूको साथ आफ्ना इन्द्रियहरूलाई नियन्त्रण गर्न सक्ने व्यक्तिले भगवानको पूर्णकृपा प्राप्त गर्दछ ।


श्लोक ६५: यसरी भगवानको अहैतुकी कृपा प्राप्त भएको व्यक्तिका सारा संसारिक दुखकष्ट नाश हुन जान्छ । यस किसिमको प्रसन्न चित्त भएको व्यक्तिको बुद्धि चाँडै नै स्थिर हुन जान्छ ।


श्लोक ६६: जो व्यक्ति भाग्वद्भक्तिमा लागेर भगवानसँग जोडिन सकेको छैन त्यो व्यक्तिको बुद्धि र मन दुवै स्थिर हुन सक्दैन । अस्थिर मन भएका व्यक्तिले शान्ति प्राप्त गर्न सक्दैन र अशान्ति व्यक्तिले सुख कसरी पाउन सक्ला र ?


श्लोक ६७: विचरणशील इन्द्रियहरू मध्य कुनै एकमा एकाग्र भएको मनले मानिसको बुद्धिलाई नै हरण गरिदिन्छ जसरी एउटा पानीमाथिको नाउलाई ठुलो हावाहुरीले हुत्याएर एकातिर पुयाइदिन्छ ।


श्लोक ६८: त्यस कारणले हे महाबाहु ! जसको इन्द्रियहरू आफ्ना विषयबाट पूर्णरुपमा हटेर वशमा आएका छन् त्यसै व्यक्तिको बुद्धिलाई स्थिर मान्नुपर्दछ ।


श्लोक ६९: जब सम्पूर्ण प्राणीहरूका लागि रात्री हुन्छ तब संयमी व्यक्ति जागृत रहन्छ र जब सम्पूर्ण प्राणीहरू जाग्ने समय हुन्छ तब आत्मदर्शी मुनिका लागि रात्री हुन्छ ।


श्लोक ७०: जसरी नित्य परिपूर्ण र अचल रूपमा रहेको समुद्रमा नदीहरुबाट बगेको पानी मिसिन जान्छन र त्यही बिलाउँदछन त्यसरी नै स्थिर मन भएका व्यक्तिका हृदयमा अनेक थरिका सबै इच्छाहरू प्रवेश गर्दछन् र हराउँदछन् । त्यस्तै स्थिर मन भएको व्यक्तिले मात्र शान्ति प्राप्त गर्दछन् तर इन्द्रियतृप्तिका इच्छा भएका व्यक्तिले त्यो शान्ति प्राप्त गर्दैनन् ।


श्लोक ७१: जो सम्पूर्ण इन्द्रियतृप्तिका इच्छाहरूलाई त्यागिदिन्छ, सबै प्रकारका इक्षारहित छ, जो सम्पूर्ण माया-ममतारहित छ र अहंकाररहित छ त्यही व्यक्तिले मात्र पूर्ण शान्ति पाउँदछ ।


श्लोक ७२: हे पार्थ ! यो आध्यात्मिक अवस्था हो यसलाई प्राप्त गरेपछि मानिस मोहित हुँदैन, जीवनको अन्त्यमा पनि यस्तो स्थितिमा पुग्ने मानिस भग्वद्धाममा प्रवेश गर्दछ ।