भगवद्गीता नेपाली
अध्याय १५ · पुरुषोत्तम-योग
श्लोक १: भगवानले भन्नुभयो - भनिन्छ, एउटा शाश्वत पीपलको वृक्ष छ जसको जरा माथितिर र हाँगाहरू तलतिर फैलिएका छन् र जसका पातहरु वेदका ऋचाहरू हुन् । जसले यस वृक्षलाई जान्दछ, त्यही वेदको असल ज्ञाता हो ।
श्लोक २: यस वृक्षका हाँगाहरू तल र माथितिर फैलिएका छन् । प्रकृतिका तीन गुणहरूबाट यो वृक्षको विकास भएको छ । यसका सानासाना हाँगाबिँगाहरु इन्द्रियका विषयहरू हुन् । यस वृक्षका जराहरू पनि तलतिर फैलिएका छन् र ती मानव समाजका सकाम कर्महरुले बाँधिएका छन् ।
श्लोक ३-४: यस रूखको वास्तविक स्वरूपको अनुभव यस भौतिक संसारमा गर्न सकिदैन । यसको अन्त कहाँ छ, आदि कहाँ हो र जग कहाँ छ भन्ने कुरा कसैलाई थाहा छैन । तर मनुष्यले दृढ सङ्कल्पका साथ विरक्तिरूपी हतियारद्वारा यो बलियोसँग जरा गाडेको रूखलाई काट्नै पर्दछ र त्यसपछि उसले यस्तो स्थानको खोजी गर्नुपर्दछ जहाँ पुगेपश्चात् कहिल्यै यस जगतमा फर्कनुपर्दैन । त्यस ठाउँमा पुगेर मनुष्य भगवानका शरणमा पर्दछ, जहाँबाट अनादिकालदेखि हरेक चिजको आरम्भ र विस्तार पनि हुँदै आएको छ ।
श्लोक ५: जो झूटा मान, मोह तथा कुसंगतिबाट मुक्त छन्, जो कामवासनाबाट मुक्त छन्, जो सुख र दुःखको द्वन्द्वबाट मुक्त छन् र जो मोहरहित भएर भगवानका शरणमा पर्न जानेका छन् तिनीहरुले नै शाश्वत धाम प्राप्त गर्नसक्दछन् ।
श्लोक ६: त्यो मेरो दिव्य परमधाम न सूर्यद्वारा न चन्द्रमाद्वारा न अग्नि वा विद्युतद्वारा नै प्रकाशित छ । जो एकपटक त्यहाँ पुग्दछन् तिनीहरू फेरि कहिल्यै फर्केर यस पृथ्वीमा आउँदैनन् ।
श्लोक ७: यस बद्ध जगतका समस्त जीवहरू मेरै सनातन अंश हुन् । बद्ध जीवन प्राप्त गरेका कारणले तिनीहरू मनसहित छवटा इन्द्रियहरूसँग कडा सङ्घर्ष गरिरहेका छन् ।
श्लोक ८: पवनले सुगन्धलाई एक ठाउँबाट अर्को ठाउँमा उडाएर लगे जस्तै यस संसारमा जीवात्माले पनि आफ्नो देहात्मबुद्धिको अवधारणालाई एक शरीरबाट अर्को शरीरमा लिगेर जान्छ । यसरी जीवात्माले एउटा शरीर प्राप्त गर्दछ अनि त्यसलाई त्यागेर फेरि अर्को शरीर पहिरन्छ ।
श्लोक ९: यस प्रकार दोस्रो स्थूल शरीर ग्रहण गरेर जीवले मनका वरिपरि रहेका विशेष प्रकारका कान, आँखा, जिब्रो, नाक र स्पर्श इन्द्रियहरू प्राप्त गर्दछ । यसरी उसले विशेष प्रकारका इन्द्रियविषयहरूको भोग गर्दछ ।
श्लोक १०: मूर्ख मनुष्यहरू जीवले कसरी आफ्नो देह त्याग्दछ भन्ने कुरा बुझ्दैनन् न तिनीहरू प्रकृतिको तीन गुणका अधीनमा रहेर कस्तो प्रकारको शरीर जीवले भोग गर्दछ भन्ने नै बुझ्दछन् तर ज्ञानरुपी आँखाले भने यी सम्पूर्ण कुराहरू देख्न सक्दछन् ।
श्लोक ११: प्रयासशील अध्यात्मवादी योगीहरूले यी सबै कुरा स्पष्ट रूपमा देख्न सक्दछन् । तर जसको मन विकसित भएको छैन र जो अध्यात्ममा स्थित पनि भएको छैन, तिनीहरूले प्रयास गरे पनि कहाँ के भइरहेको छ भन्ने देख्न सक्दैनन् ।
श्लोक १२: समस्त संसारको अंधकार नाश गर्ने सूर्य मबाट नै प्रकाशित हुन्छ र त्यसै गरी अग्नि र चन्द्रमामा हुने तेज पनि मबाट नै उत्पन्न हुन्छन् ।
श्लोक १३: म हरेक लोकमा प्रवेश गर्दछु र मेरै शक्तिले सारा लोकहरू आ-आफ्नो कक्षमा स्थित छन् । म चन्द्रमा भएर सबै वनस्पतिहरुलाई जीवनको रस प्रदान गर्दछु ।
श्लोक १४: म सम्पूर्ण जीवका शरीरमा रहने पाचन- अग्नि हूँ र मैले नै स्वास-प्रश्वास मिलेर बनेको प्राणवायुमा मिली चार थरिका खाद्यहरूलाई पचाउने कार्य गर्दछु ।
श्लोक १५: म हरेक जीवका हृदयमा स्थित छु । मबाट नै स्मृति, ज्ञान र विस्मृतिहरू हुन्छन् । म नै वेदहरूबाट जान्न योग्य छु । वास्तवमा म नै वेदान्तको संकलनकर्ता हूँ र म नै सम्पूर्ण वेदको ज्ञाता पनि हूँ ।
श्लोक १६: जीव दुई प्रकारका हुन्छन् । एउटा च्युत अनि अर्को अच्युत । यो भौतिक संसारमा हरेक जीव च्युत हुन्छ भने आध्यात्मिक जगतमा हरेक जीव अच्युत हुन्छ ।
श्लोक १७: यी दुवैबाट भिन्न एउटा सर्वश्रेष्ठ अविनाशी परमपुरुष (भगवान) परमात्मा हुनुहुन्छ जो तीनै लोकमा प्रवेश गरी ती सबै लोकको लालनपालन गरिरहनुहुन्छ ।
श्लोक १८: म सर्वोत्तम तथा दिव्य भएको हुनाले च्युत र अच्युत दुवैभन्दा पर छु तथा यस जगतमा र वेदमा पनि परमपुरुषका रूपमा प्रसिद्ध छु ।
श्लोक १९: जसले संशयबिना मलाई नै पुरुषोत्तम भगवानको रूपमा जान्दछ त्यसलाई सर्वज्ञाता मानिन्छ । हे भरतवंशी ! त्यस्तो व्यक्तिले आफूलाई सधैँ सबै प्रकारले मेरै पूर्ण भक्तिमा लगाइराख्दछ ।
श्लोक २०: हे निष्पाप अर्जुन ! यो ज्ञान, जुन अहिले मैले भने, यो वैदिक शास्त्रको अत्यन्त गोपनीय अंश हो । हे भरतवंशी अर्जुन ! जसले यसलाई राम्रोसँग बुझ्दछ त्यो बुद्धिमान् हुनजान्छ र उसका सबै प्रयासहरू पूर्ण हुनजान्छन् ।