भगवद्गीता नेपाली
अध्याय १ · कुरुक्षेत्रका युद्धभुमिमा सैन्य निरिक्षण
श्लोक १: धृतराष्ट्रले भने - हे संजय ! धार्मिक क्षेत्र कुरुक्षेत्रमा युद्ध गर्ने इच्छाले जम्मा भएका मेरा छोराहरु र पाण्डुका छोराहरुले के गरे ?
श्लोक २: सञ्जयले भने - हे राजन ! पाण्डुका छोराहरूले गरेको सेनाको सैन्य रचना देखेर राजा दुर्योधन आफ्ना गुरुका नजीक गएर यसो भने ।
श्लोक ३: हे आचार्य ! हजुरको बुद्धिमान् शिष्य, द्रुपदको पुत्रले, व्यवस्थित गरेको पाण्डवहरूको विशाल सैन्यबललाई एकपटक हेर्नुहोस् ।
श्लोक ४: यस पाण्डवसेनामा भीम र अर्जुन समानका युद्ध गर्ने महारथी युयुधान, विराट तथा द्रुपद जस्ता धेरै धनुर्धारीहरु छन् ।
श्लोक ५: महान् वीरहरु तथा धृष्टकेतु, चेकितान, काशिराज, पुरुजित, कुन्तिभोज र शैव्य जस्ता शक्तिशाली योध्याहरु पनि त्यहाँ छन।
श्लोक ६: त्यहाँ पराक्रमी युधामन्यु, अति शक्तिशाली उत्तमौजा, सुभद्राको पुत्र र द्रौपदीका पुत्रहरु छन् । यी सबै योद्धाहरु महारथीहरु हुन् ।
श्लोक ७: हे द्विजश्रेष्ठ ! हजुरको जानकारीको लागि म सैनिकहरुको नेतृत्वमा विशिष्ट दक्ष भएका मेरा सेनापतिहरुका बारेमा पनि केहि भन्छु ।
श्लोक ८: मेरा तर्फमा सर्वविजेता - हजुर, भीष्म, कर्ण, कृपाचार्य, अश्वत्थामा, विकर्ण र सोमदत्तका छोरा भूरिश्रवा आदि हुनुहुन्छ।
श्लोक ९: मेरा लागि आफ्ना प्राणसम्म पनि दिन तयार भएका अरु योद्धाहरु पनि छन । ती सबै अनेक प्रकारका हातहतियारहरुले सजिएका तथा युद्ध विद्यामा कुशल पनि छन् ।
श्लोक १०: हाम्रो बल अथाहा छ र हामी भीष्म-पितामहद्वारा पूर्णरुपमा संरक्षित छौँ तर यो भीमद्वारा राम्ररी संरक्षित पाण्डवहरुको शक्ति सीमित छ ।
श्लोक ११: तपाईंहरु सबैले यो सैन्यसंरचनामा आ-आफ्नो ठाउँ वा मोर्चामा रहेर सबै तिरबाट पितामह भीष्मलाई सहयोग गर्नुहोस् ।
श्लोक १२: दुर्योधनको हर्ष बढाउदै कुरूवंशका अत्यन्त साहसिलो वयोवृद्ध तथा महान योद्धाहरुका हजुरबुबा भीष्मले आफ्नो शङ्खलाई सिंह गर्जे जस्तै गरि अत्यन्त ठुलो स्वरमा बजाउनुभयो ।
श्लोक १३: त्यसपश्चात शङ्खहरु, ढोलहरु, नगराहरु, सिङहरु सबै एकाएक बज्न थाले र त्यो सबै मिलेको स्वर एकदम डरलाग्दो सुनियो ।
श्लोक १४: त्यसपश्चात सेता घोडाहरु बाँधिएको विशाल रथमा विराजनु भएका श्रीकृष्ण र अर्जुनले आ-आफ्ना अलौकिक शङ्खहरु बजाए ।
श्लोक १५: भगवान हृषीकेशले आफ्नो पाञ्चजन्य शङ्ख बजाउनुभयो, अर्जुनले देवदत्त नामको शङ्ख बजाए र असामान्य कार्य गर्ने र ठुलो आहार गर्ने भीमले पनि पौण्ड्र नामक भीषण शङ्ख बजाए ।
श्लोक १६-१८: हे राजा ! कुन्तीपुत्र युधिष्ठिरले अनन्तविजय नामको शङ्ख बजाए, नकुल र सहदेवले सुघोष र मणिपुष्पक नामका शङ्खहरु बजाए । महाधनुर्धारी काशिराज, महायोद्धा शिखण्डी, धृष्टध्युम्न, विराट, अजय सात्यकी, द्रुपद, द्रौपदीका पुत्रहरु र सुभद्राका बलवान पुत्रहरु सबैले अलग-अलग आफ्ना शङ्खहरु बजाए ।
श्लोक १९: थरीथरीका शङ्खहरु बज्दा भएको त्यो कोलाहलपूर्ण ध्वनीले आकाश र पृथ्वीलाई प्रतिध्वनित बनाउदै धृतराष्ट्रका छोराहरुको छाती चिर्न थाल्यो ।
श्लोक २०: त्यसपछी हे राजा ! हनुमानको चित्र अंकित ध्वज भएको रथमा चढेर पाण्डुपुत्र अर्जुनले आफ्नो धनु उठाएर वाण वर्षाउनै लागेका थिए धृतराष्ट्रका पुत्रहरुलाई सैनिक संरचनामा उभिएको देखेर भगवान कृष्णलाई यी कुराहरु भने ।
श्लोक २१-२२: अर्जुनले भने - हे अच्युत ! यो मेरो रथ दुवै सेनाहरुका बीचमा लगेर अड्याउनुहोस् । त्यहाँबाट यो युद्धभुमिमा युद्ध गर्ने इच्छा लिएर भेला भएका, को कोसँग मैले युद्ध गर्नुपर्ने रहेछ हेरौँ ।
श्लोक २३: धृतराष्ट्रको कुबुद्धि भएका पुत्र दुर्योधनलाई खुसी पार्नका लागि जो यिनीहरु यहाँ लडाई गर्न आएका छन, तिनलाई म हेर्न चाहन्छु ।
श्लोक २४: संजयले भने - हे भरतवंशी राजन ! अर्जुनद्वारा यसरी सम्बोधन गरिएपछी भगवान कृष्णले त्यो सबैभन्दा राम्रो रथलाई दुवै पक्षका सैनिकहरुका बीचमा लगेर उभ्याउनुभयो ।
श्लोक २५: भीष्म, द्रोण, र सारा विश्वभरिका राजाहरुका सामु भगवान श्रीकृष्णले अर्जुनलाई भन्नुभयो - हे पार्थ ! यहाँ यसरी जम्मा भएका सम्पूर्ण कुरूवंशलाई हेर ।
श्लोक २६: दुवै पक्षका सैनिकहरुका बीचमा उभिएर हेर्दा अर्जुनले त्यहाँ आफ्ना बुबा पर्नेहरु, हजुरबुबाहरु, गुरुहरु, मामाहरु, दाजुभाईहरु, छोराहरु, नातिहरु, मित्रहरु, ससुराहरु, र शुभचिन्तकहरुलाई देखे ।
श्लोक २७: विभिन्न थरिका यी साथी-सम्बंधिहरुलाई युद्धभूमिमा देखेपछी कुन्तिपुत्र अर्जुन दयाले अभिभूत भएर यसो भन्नथाले ।
श्लोक २८: अर्जुनले भने - हे कृष्ण ! युद्ध गर्नका लागी मेरा अगाडी उपस्थित भएका यी आफ्नै आफन्तहरुलाई देखेर मेरो शरीरका अंगहरु कापिरहेका छन् र मेरो मुख पनि सुकिरहेको छ ।
श्लोक २९: मेरो सारा शरीरभरमा कम्पन भइरहेको छ, रौँहरु ठाडीइरहेका छन, मेरो गाण्डीव हातबाट चिप्लिंदै छ र मेरो छाला पोलिरहेको छ ।
श्लोक ३०: हे केशव ! अब यहाँ धेरै समय उभिने शक्ति पनि ममा छैन । मैले आफैंलाई बिर्सदैछु, मेरो मन डुलीरहेको छ, म त केवल सबै अशुभ मात्र देखिरहेको छु ।
श्लोक ३१: हे कृष्ण ! रणभूमिमा आफ्ना आफन्तहरुलाई मारेर न म आफ्नो कुनै कल्याण देख्दछु न त जितपश्चात पाइने राज्य र राज्यसुखको मोह नै ममा छ ।
श्लोक ३२-३५: हे गोविन्द ! जसका लागी हामीलाई राज्य, सुख वा जीवन चाहिएको हो तिनीहरु आफ्नो प्राण र धनको आशा मारेर यसरी युद्ध गर्न युद्धभुमिमा उभिएका छन भने त्यसरी जितिएको राज्य, सुख, र जीवन समेतले हामीलाई के लाभ होला? तसर्थ हे मधुसूदन ! मलाई विजय पनि चाहिएन, राज्य, र सुख पनि चाहिएन । गुरुहरु, हजुरबुबाहरु, बुबाहरू, छोराहरु, नातिहरु, मामाहरु, साला-जेठानहरु, ससुराहरु, काकाहरु, र अन्य आफन्तहरू आफ्नो जीवन र सम्पत्तीको दाउ लगाएर मेरो सामु युद्ध लड्न उभिएका छन् । पृथ्वीको राज्यको के कुरा स्वर्ग, मर्त्य, र पाताल यी त्रिलोककै राज्य पाए पनि म यिनीहरुलाई मार्न चाहन्न । यिनीहरुले मलाई मार्न चाहन्छन त मारुन । यी सबै धृतराष्ट्रका सन्तानहरुलाई मारेर हामीलाई के आनन्द होला र?
श्लोक ३६: यस्ता अत्याचारीहरुलाई मार्यौ भने हामीलाई पाप लाग्नेछ, त्यसैले धृतराष्ट्रका सन्तानहरु र अरु हाम्रा मित्रहरुलाई मार्नु हाम्रा लागी सहि छैन । हे माधव ! यी सम्बन्धिहरुलाई मारेर हामीलाई के लाभ होला र, के सुख होला र ?
श्लोक ३७-३८: हे जनार्दन ! यी मानिसहरुको बुद्धि लोभलालचले गर्दा भ्रष्ट भएको छ । यिनीहरु आफ्ना आफन्तलाई मार्ने र साथीहरुसँग झगडा गर्ने कुरामा पनि कुनै गलत देख्दैनन । तर कुलको विनाशमा ठुलो पाप देख्ने हामीहरु किन यी पापपूर्ण कर्ममा संलग्न हुने ?
श्लोक ३९: वंशको विनाशसंगै सनातन कुल परम्परा पनि नाश हुनजान्छ र यसरी बाँकी रहेको परिवार पनि अधर्मी हुनुपुग्दछन ।
श्लोक ४०: हे कृष्ण ! कुलमा अधर्म बढ्न सुरु भएपछी कुलका स्त्रीहरु प्रदूषित हुन्छन र यसरी स्त्रीहरुको सतीत्व पतन भएपछी, हे वृष्णीवंशी कृष्ण ! नचाहिएको सन्तानहरु जन्मिन्छन ।
श्लोक ४१: वर्णसंकर सन्तानहरुको उत्पत्तिबाट परिवारलाई र पुराना परम्परा दुवैलाई नाश गर्ने दुवै प्रकारका कुलघातीहरु जन्मिन्छन र पितृहरु पनि श्राद्ध तर्पण जस्ता पितृकार्यको लोप हुनाले नरकमा खस्दछन् ।
श्लोक ४२: आफ्ना कुल परम्परालाई नाश गर्ने व्यक्तिहरुको कुकृत्यबाट वर्णशंकर सन्तानहरु जन्मिन्छन र तिनका दुष्कृत्यहरुबाट सबै प्रकारका सामुदायिक योजनाहरु तथा पारिवारिक पुण्यका कार्यहरु समेत नष्ट हुन् पुग्दछन ।
श्लोक ४३: हे जनार्दन ! कुलधर्मलाई विनाश गर्नेहरु अनन्तकालसम्म नरकमै बास गर्छन भन्ने कुरा मैले गुरुबाट सुनेको छु ।
श्लोक ४४: ओहो ! कति दु:खको कुरा, हामी राजसुख भोग्ने लालचमा परेर आफ्नै सम्बन्धिहरुलाई मार्न तयार भई एकदम ठुलो पापकर्म गर्न लागिरहेका छौं ।
श्लोक ४५: हातमा शस्त्र लिएका धृतराष्ट्रपुत्रहरुले निशस्त्र र प्रतिरोध पनि नगर्ने मलाई मार्छन भने मारुन । मेरा लागि त्यो ठिक हुनेछ ।
श्लोक ४६: संजयले भने - रणभुमिमा अर्जुनले यी कुरा भनेर आफ्नो वाण र धनु एकातिर पन्छाएर शोकाविष्ट मनले फेरी रथमा बसे ।