भगवद्गीता नेपाली

अध्याय १७ · श्रद्धाका प्रकार

श्लोक १: अर्जुनले सोधे - हे कृष्ण ! शास्त्रका विधिहरूको पालन नगरी आफ्नै मनगढन्त विचार अनुसार पूजा गर्नेहरूको स्थिति सत्त्वगुणी, रजोगुणी वा तमोगुणी कस्तो हुन्छ ?


श्लोक २: भगवानले भन्नुभयो - देहधारी जीवहरुले अर्जेको प्रकृतिको गुणअनुसार उसका श्रद्धा पनि सत्त्वगुणी, रजोगुणी र तमोगुणी गरी तीन प्रकारको हुनसक्छन् । अब यसबारेमा मबाट सुन ।


श्लोक ३: हे भरतवंशी अर्जुन ! आ-आफ्नो अस्तित्व र विभिन्न गुणअन्तर्गत मानिसले एउटा विशेष प्रकारको श्रद्धाको विकास गरेको हुन्छ । त्यो विशेष श्रद्धा पनि उसले आर्जन गरेका गुणअनुसारकै हुन्छ ।


श्लोक ४: सत्त्वगुणी व्यक्तिहरू देवताको पूजा गर्दछन्, रजोगुणीहरू यक्ष र राक्षसको पूजा गर्दछन् भने तमोगुणीहरू भूतप्रेतहरूको पूजा गर्दछन् ।


श्लोक ५-६: जो दम्भ र अहंकारले वशीभूत भएर शास्त्रविरुद्ध कठोर व्रत तथा तपस्या गर्दछन्, जुन कामवासना र आसक्तिद्वारा प्रेरित छन् र जो भौतिक शरीर तथा शरीरभित्र रहने परमात्मालाई नै कष्ट दिन्छन् त्यस्ता मूर्खहरू असुर मानिन्छन् ।


श्लोक ७: हरेक व्यक्तिले मन पराउने आहार पनि प्रकृतिको गुणअनुसार तीन प्रकारका हुन्छन् । यही कुरा यज्ञ, तपस्या र दानमा पनि लागू हुन्छ । अब तिनका बीचमा हुने भेदका बारेमा सुन ।


श्लोक ८: जुन भोजनले आयु बढाउँदछ, जीवन सत्त्व बनाउँदछ, बल, स्वास्थ्य, सुख तथा सन्तुष्टि प्रदान गर्दछ त्यस्तो भोजन सतोगुणी व्यक्तिहरूलाई मन पर्दछ । यस प्रकारको भोजन रसीलो हुन्छ, चिल्लो हुन्छ, हितकारी र स्वास्थ्यप्रद हुन्छ र हृदयलाई आनन्द प्रदान गर्ने किसिमको हुन्छ ।


श्लोक ९: अत्यन्त तीतो, अमीलो, नुनीलो, तातो, पीरो, सुख्खा तथा तातोपन उत्पन्न गराउने भोजन रजोगुणी व्यक्तिलाई मन पर्दछ । यस्तो भोजनले दुःख, शोक तथा रोग उत्पन्न गराउँदछ ।


श्लोक १०: खानुभन्दा तीनघण्टा पहिले पकाइएको, स्वाद रहित, बिग्रिएको, सडेको र जूठो तथा छुनै नहुने भोजन तमोगुणी मनुष्यलाई मन पर्दछ ।


श्लोक ११: फलको इच्छा बिना केवल कर्तव्य मानेर शास्त्रका विधिअनुसार गरिने यज्ञ नै सात्त्विक यज्ञ हो ।


श्लोक १२: हे भरतश्रेष्ठ ! दम्भ र अहंकार तृप्तिका लागि कुनै फल प्राप्तिको इच्छा राखेर गरिने यज्ञ राजसी यज्ञ हो भन्ने जान ।


श्लोक १३: शास्त्रीय विधिको पालन नगरी, प्रसाद नबाढी, वैदिक मन्त्रहरूको उच्चारण नगरी र पुरोहितलाई दानदक्षिणा नदिई श्रद्धारहित ढंगले गरिने यज्ञलाई तामसी यज्ञ मानिन्छ ।


श्लोक १४: भगवान, ब्राह्मण, गुरु, मातापिता आदि पुजनीयहरुको पूजा गर्नु र पवित्रता, सरलता, ब्रह्मचर्य तथा अहिंसाको पालन गर्नु शारीरिक तपस्या हो ।


श्लोक १५: सत्य, अन्यलाई मनपर्ने, लाभदायक र अरूलाई उत्तेजित नपार्ने वचन बोल्नु र वैदिक साहित्यको नियमित पाठ गर्नु वाणीको तपस्या हो ।


श्लोक १६: सन्तोष, सरलता, गाम्भीर्यता, आत्म-नियन्त्रण र आफ्नो अस्तित्वको शुद्धि, यी सबै मनका तपस्या हुन् ।


श्लोक १७: भौतिक लाभको इच्छा नभएका र सधैँ परमेश्वरको चिन्तनमा लागिरहेका मनुष्यहरूद्वारा दिव्य विश्वासका साथ सम्पन्न गरिने यी तीन प्रकारका तपस्यालाई सात्त्विक तपस्या भनिन्छ ।


श्लोक १८: आदर-सत्कार, मान-सम्मान र आराधना प्राप्त गर्नका लागि अहंकार र दम्भका साथ सम्पन्न गरिएको तपस्यालाई राजसी तपस्या भनिन्छ । यस्तो तपस्या क्षणिक र अस्थिर हुन्छन् ।


श्लोक १९: मूर्खतावश आफैँलाई पीडा दिएर अरूलाई क्षति पुऱ्याउन वा अरूको विनाश गर्नका लागि जुन तपस्या गरिन्छ त्यसलाई तामसी तपस्या भनिन्छ ।


श्लोक २०: जुन दान, कुनै प्रतिफलको अपेक्षा नगरी केवल कर्तव्य सम्झेर उचित समय र स्थानमा तथा योग्य व्यक्तिलाई दिईन्छ त्यस दानलाई सात्त्विक दान मानिन्छ ।


श्लोक २१: तर केही पाउने आशा राखेर वा कर्मफलको इच्छा राखेर मन नलागी नलागी तथा रिसमा दिइएको दानलाई राजसी दान भनिन्छ ।


श्लोक २२: अशुद्ध स्थानमा, अनुचित समयमा, कुनै अयोग्य पात्रलाई राम्रोसँग ध्यान नदिई र सम्मान बिना दिइएको दानलाई तामसी दान भनिन्छ ।


श्लोक २३: सृष्टिको प्रारम्भदेखि नै ‘ॐ-तत्-सत्’ यी तीन शब्द परब्रह्मका सूचक बन्दैआएका छन् । ब्रह्मलाई सन्तुष्ट पार्नका लागि यज्ञ गर्दा ब्राम्हणहरूले वैदिक मन्त्रहरूको पाठसँगै यी तीनवटा साङ्केतिक शब्दहरूको उच्चारण गर्दछन् ।


श्लोक २४: योगीहरूले ब्रह्म प्राप्तिका लागि शास्त्रीय नियमअनुसार यज्ञ, दान र तपका सम्पूर्ण क्रियाहरूको शुभारम्भ गर्दा सधैँ ॐ शब्दबाट गर्दछन् ।


श्लोक २५: मनुष्यले कर्मफलको इच्छा नराखी विभिन्न प्रकारका यज्ञ, तप तथा दानहरू गर्दा "तत्" शब्दको उच्चारणसाथ सम्पन्न गर्नुपर्दछ । यस्ता दिव्य कर्महरूको उद्देश्य भवबन्धनबाट मुक्ति प्राप्त गर्नु हो ।


श्लोक २६-२७: भक्तिमय यज्ञको लक्ष्य नै परमसत्य हो । यसैलाई “सत्” शब्दद्वारा सङ्केत गरिन्छ र हे पृथापुत्र ! यस्तो यज्ञ सम्पन्न गर्ने कर्तालाई पनि “सत्” भनिन्छ । यस प्रकार परमपुरुष भगवानलाई प्रसन्न पार्न गरिने यज्ञ, तप, दान आदि सबै कर्महरू “सत्” भनिन्छन् ।


श्लोक २८: हे पृथापुत्र ! भगवानमाथि श्रद्धाबिना सम्पन्न गरिएको यज्ञ, दान वा तप सबै अस्थायी हुन्छन् । त्यसलाई असत् भनिन्छ र त्यो यस जन्म र परजन्म दुवैका लागि व्यर्थ हुन्छ ।