भगवद्गीता नेपाली
अध्याय १८ · उपसंहार: संन्यासको पूर्णता
श्लोक १: अर्जुनले भने- हे महाबाहु ! म त्याग र संन्यासको सत्यतथ्य जान्न चाहन्छु । हे हृषीकेश, हे केशिनिषूदन ! म संन्यास आश्रमको उद्देश्यकाबारे पनि जान्न चाहन्छु ।
श्लोक २: श्रीभगवानले भन्नुभयो- विद्वानहरु भौतिक इच्छामा आधारित कर्मको परित्यागलाई संन्यास भन्दछन् र बुद्धिमान् मनुष्यहरू समस्त कर्मका फलको त्यागलाई त्याग भन्दछन् ।
श्लोक ३: केही महान विचारकहरू सबै प्रकारका सकाम कर्मलाई दोष जस्तै ठानेर त्याग्नुपर्दछ भनेर घोषणा गर्दछन् तर केही ऋषिहरू भने यज्ञ, दान तथा तपस्या जस्ता कर्मलाई कहिल्यै पनि त्याग गर्न हुँदैन भन्छन् ।
श्लोक ४: हे भरतवंशी अर्जुन ! अब संन्यासका विषयमा मेरो निर्णय सुन । हे पुरुषहरूमा बाघ ! शास्त्रमा पनि तीन प्रकारका संन्यासको वर्णन पाईन्छ ।
श्लोक ५: यज्ञ, दान, तपस्या जस्ता कर्महरू त्याग गर्न हुँदैन । यी निश्चित रूपमा सम्पन्न गर्नैपर्ने कार्य हुन् । यज्ञ, दान र तपस्याले महात्माहरूलाई पनि पवित्र बनाउँदछन् ।
श्लोक ६: फलको कुनै आशा नराखी आसक्तिरहित भएर यी सबै कर्महरू गर्नुपर्दछ । हे पृथापुत्र ! यी कर्महरूलाई कर्तव्यका रुपमा गर्नुपर्दछ । यही नै मेरो अन्तिम मत हो ।
श्लोक ७: आफुँलाई निर्धारित गरिएका कर्मको त्याग कहिल्यै पनि गर्नुहुँदैन । यदि कसैले मोहवश आफ्नो कर्मको त्याग गर्दछ भने त्यस्तो त्यागलाई तामसी त्याग भनिन्छ ।
श्लोक ८: जसले शारीरिक कष्टका भयले आफ्नो निर्धारित कर्मलाई दुःखमय ठानेर त्यागिदिन्छ त्यस्तो त्यागलाई रजोगुणी त्याग भनिन्छ । त्यस्तो कर्मले मनुष्यलाई कहिल्यै त्यागको शिखरमा पुऱ्याउँदैन र त्यस्तो त्याग लाभदायक पनि हुँदैन ।
श्लोक ९: हे अर्जुन ! यस प्रकारले जसले आफुँले गर्नैपर्ने कर्त्तव्य मात्र ठानेर आफ्ना निर्धारित कर्महरू गर्दछ र सबै किसिमका फलको भौतिक आसक्ति त्यागिदिन्छ त्यस्तो त्यागलाई सात्त्विक त्याग भनिन्छ ।
श्लोक १०: जो न अशुभ कर्मलाई घृणा गर्दछ, न शुभ कर्मप्रति आसक्त नै रहन्छ त्यस्तो बुद्धिमान त्यागी व्यक्ति सतोगुणमा अवस्थित हुन्छ र ऊ कर्मका विषयमा संशयरहित रहन्छ ।
श्लोक ११: अवश्य नै एउटा देहधारी व्यक्तिका लागि सम्पूर्ण कर्महरूको परित्याग गर्नु सम्भव छैन । अतः जसले कर्मका फलको परित्याग गर्दछ त्यही नै वास्तविक त्यागी हो।
श्लोक १२: त्याग नगर्नेहरूले मृत्युपछि इच्छित, अनिच्छित र मिश्रित गरी तीन प्रकारका कर्मफल भोग्नुपर्दछ तर संन्यासी वा त्यागीलाई भने सुख र दुःखका यस्ता प्रतिफलहरू भोग्नुपर्दैन ।
श्लोक १३: हे महाबाहु अर्जुन ! वेदान्तअनुसार सम्पूर्ण कर्महरू सम्पन्न हुनका लागि पाँचवटा कारणहरू छन् । अब मबाट तिनीहरूको बारेमा सिक ।
श्लोक १४: कर्मस्थान शरीर, कर्ता, विभिन्न इन्द्रियहरू, धेरै प्रकारका चेष्टाहरू र , अन्त्यमा परमात्मा, यिनीहरू नै कर्मका पाँचवटा कारकतत्त्व हुन् ।
श्लोक १५: मानिसले आफ्नो शरीर, मन र वचनले जेजति राम्रा नराम्रा कामहरू गर्दछ ती सबै यी पाँच तत्त्वहरूका कारणले नै सम्पन्न हुन्छन् ।
श्लोक १६: यी पाँच कारणहरूलाई नमानेर जसले आफैलाई कर्ता ठान्दछ त्यो व्यक्ति निश्चय नै बुद्धिमान होइन । त्यस्ता व्यक्तिले वस्तुलाई यथार्थ रूपमा देख्न सक्दैनन् ।
श्लोक १७: जो मिथ्या अहंकारबाट प्रेरित हुँदैन, जसको बुद्धि आसक्त छैन त्यसले यो संसारमा मानिसलाई मारेर पनि नमारेको जस्तो हुन्छ र ऊ आफ्नो कर्मद्वारा पनि बाँधिदैन ।
श्लोक १८: ज्ञान, ज्ञानको विषय र ज्ञाता यी तीन तत्त्वहरू कर्म गर्न प्रेरित गर्ने कारण हुन् भने इन्द्रियहरू (करण), कर्म र कर्ता यी तीन तत्त्व कर्मका अङ्ग हुन् ।
श्लोक १९: प्रकृतिका भिन्दाभिन्दै तीन गुणअनुरूप नै ज्ञान, कर्म र कर्ताका तीन तीन भेद भएका हुन्, अब मबाट तिमी तिनका विषयमा सुन ।
श्लोक २०: जुन ज्ञानद्वारा असङ्ख्य रूपमा विभाजित सम्पूर्ण जीवात्मामा एउटै अविभाजित आध्यात्मिक स्वभाव देखिन्छ त्यो ज्ञान सात्त्विक ज्ञान हो भनेर जान ।
श्लोक २१: जुन ज्ञानद्वारा मानिसले हरेक भिन्न शरीरमा भिन्दाभिन्दै किसिमको जीवात्मा देख्दछ त्यस्तो ज्ञानलाई तिमी राजसी ज्ञान भनेर जान ।
श्लोक २२: यदि मानिस सत्यको जानकारीबिना एकै प्रकारको अति तुच्छ कार्यलाई नै सबै कुरा मानेर त्यसैमा आसक्त हुन्छ भने त्यस्तो ज्ञान तामसी हो ।
श्लोक २३: फलको इच्छा नराखी राग, द्वेष र आसक्तिरहित भएर नियमित रूपले गरिने कर्मलाई सात्त्विक कर्म भन्दछन् ।
श्लोक २४: तर आफ्नै इच्छापूर्तिका लागि अहंकारको भाव राखेर कठिन परिश्रमपूर्वक गरिएको कर्मलाई रजोगुणी वा राजसी कर्म भन्दछन् ।
श्लोक २५: शास्त्रका आदेशहरूसँग असम्बन्धित भई भावी बन्धनको वास्ता नगरी हिंसा वा अर्कालाई दुःख दिनका लागि मोहवश गरिने कर्म तामसी हो ।
श्लोक २६: जो व्यक्ति प्रकृतिका गुणहरूको सम्पर्कबाट मुक्त भएर, निरहंकारी बनेर तथा धैर्यशील र अत्यन्त उत्साही बनेर सफलता र असफलतामा विचलित नभई कर्म गर्दछ त्यसलाई सतोगुणी कर्ता भनिन्छ ।
श्लोक २७: कर्म र कर्मफलप्रति आसक्त हुँदै फल भोग्न चाहने लोभी, सदैव ईर्ष्यालु, अपवित्र र सुख र दुःखमा विचलित हुने कर्तालाई राजसी भनिन्छ ।
श्लोक २८: सधैँ शास्त्रनियम विरूद्ध काम गर्न तत्पर, भौतिकतावादी, एकोहोरे जिद्दी, ठग र अर्काको अपमान गर्न निपुर्ण, सधैँ खिन्न भइरहने, ढीलो काम गर्ने तथा अल्छी कर्तालाई तमोगुणी भनिन्छ ।
श्लोक २९: हे धनञ्जय ! भौतिक प्रकृतिका तीन गुणअनुसार हुने विभिन्न प्रकारका ज्ञान र धृतिका विषयमा अब म तिमीलाई विस्तारपूर्वक भन्दछु सुन ।
श्लोक ३०: हे पार्थ ! जुन बुद्धिद्वारा मानिसले के गर्नुपर्दछ र के गर्नुहुँदैन, केसँग डराउनुपर्दछ केसँग डराउनुहुँदैन, के कुराले बन्धनमा पार्दछ र कुन कुराले मुक्ति दिन्छ भन्ने जान्दछ, त्यसलाई सात्त्विक बुद्धि भन्दछन् ।
श्लोक ३१: हे पार्थ ! धर्म र अधर्म छुट्याउन नसक्ने तथा गर्नुपर्ने कार्य र गर्न नहुने कार्य छुट्याउन नसक्ने बुद्धि राजसी हो ।
श्लोक ३२: हे पृथा पुत्र ! अज्ञानको अन्धकार र भ्रमका अधीनमा परेर धर्मलाई अधर्म र अधर्मलाई धर्म मान्ने तथा सधैँ गलत दिशातिर जान प्रयत्न गर्ने बुद्धिलाई तामसी बुद्धि भन्दछन् ।
श्लोक ३३: हे पार्थ ! त्यो संकल्पलाई सात्त्विक भनिन्छ जो अखण्ड हुन्छ, जसद्वारा योगाभ्यास अचल भएर धारण गरिन्छ र जसले मन प्राण र इन्द्रियहरूका क्रियाकलापलाई नियन्त्रण गर्दछ ।
श्लोक ३४: तर हे अर्जुन् ! जुन धारणाले गर्दा मानिस धर्म, अर्थ र कामको प्रतिफलमा लिप्त रहन्छ त्यो धारणा राजसी हो ।
श्लोक ३५: हे पार्थ ! जुन सङ्घल्प स्वप्न, डर, शोक, विषाद र मोहभन्दा माथि उठ्न सक्दैन त्यस्तो बुद्धिविहीन सङ्कल्प तामसी वा तमोगुणी हो ।
श्लोक ३६: हे भरतश्रेष्ठ ! अब मबाट तीन प्रकारका सुखका बारेमा सुन, बद्ध जीव अभ्यासद्वारा प्रथमतः ती सुखहरूमा रमाउँदछ र कहिलेकहीँ तिनैद्वारा ऊ सबै प्रकारका दुःखको अन्त्यसम्म पनि पुग्दछ ।
श्लोक ३७: जो सुरुमा विष जस्तो लागे पनि अन्त्यमा अमृत समान हुन्छ र मानिसलाई आत्मसाक्षात्कारका लागि उठाउँदछ त्यस्तो सुखलाई सात्त्विक सुख भनिन्छ ।
श्लोक ३८: विषयसँग इन्द्रियहरूको सम्पर्क हुँदा इन्द्रियहरूबाट जुन सुख प्राप्त हुन्छ र जुन सुख सुरुमा अमृत जस्तो भए पनि अन्त्यमा विष जस्तो दुःखदायी हुन्छ, त्यो रजोगुणी सुख हो ।
श्लोक ३९: जुन सुख आत्मसाक्षात्कारप्रति अन्धो छ, जो सुरुदेखि अन्त्यसम्म मोहकारक छ र जो निद्रा, आलस्य र मोहबाट उत्पन्न हुन्छ त्यो तामसी सुख हो ।
श्लोक ४०: यो लोकमा होस् वा स्वर्गमा देवताहरूका बीचमा होस्, प्रकृतिका तीन गुणहरूबाट पूर्णरुपले मुक्त जीव कोही पनि छैन ।
श्लोक ४१: ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्रहरू प्रकृतिका गुणअनुसार र तिनका आफ्नै स्वभावबाट उत्पन्न गुणहरूद्वारा विभाजित छन् ।
श्लोक ४२: शान्तिमयता, आत्मसंयम, तपस्या, पवित्रता, सहनशीलता, इमानदारिता, ज्ञान, विज्ञान र धार्मिकता यी ब्राह्मणका स्वाभाविक गुण हुन्, जसद्वारा ब्राह्मणले काम गर्दछन् ।
श्लोक ४३: वीरता, शक्ति, सङ्कल्प, उद्यमशीलता, युद्धमा उत्साह, उदारता र नेतृत्व यी क्षत्रीयकर्मका स्वाभाविक गुण हुन् ।
श्लोक ४४: कृषि, गाईपालन, व्यापार, यी वैश्यहरूका स्वाभाविक कर्म हुन् भने शारीरिक परिश्रम र अरूको सेवा शूद्रका स्वाभाविक कर्म हुन् ।
श्लोक ४५: आफ्ना आफ्ना कर्मका गुणहरूको अनुसरण गर्दै गएमा हरेक व्यक्तिले सिद्धि प्राप्त गर्दछ । कृपया ती कर्महरू कसरी गरिन्छन् भन्ने कुरा अब तिमीले मबाट सुन ।
श्लोक ४६: आफ्नो स्वभावअनुसारको कर्मद्वारा सम्पूर्ण प्राणीहरूका उद्गमस्रोत तथा सर्वव्यापक भगवान्को अर्चना गरेर मानिसले सिद्धि पाउँदछ ।
श्लोक ४७: राम्रोसँग सम्पन्न गरिएको अर्काको कर्म वा व्यवसायलाई अपनाउनुभन्दा त्रुटिपूर्ण ढंगले गरिएको भए पनि आफ्नै कर्ममा लाग्नु राम्रो हुन्छ । आफ्नो स्वभावअनुसार निर्देशित कर्म कहिल्यै पनि पापबाट प्रभावित हुँदैन ।
श्लोक ४८: हे कुन्तीपुत्र ! दोषपूर्ण नै भए पनि आफ्नो स्वभावका साथमा उत्पन्न भएको कर्म परित्याग गर्न हुँदैन, किनभने जुनसुकै उद्यम पनि धूवाँले आगो ढाकिए जस्तै दोषले ढाकिएका हुन्छन् ।
श्लोक ४९: कुनै पनि किसिमको भौतिक भोगको वास्ता नगर्ने आत्मसंयमी तथा अनासक्त व्यक्तिले संन्यासको अभ्यासद्वारा कर्मफलबाट मुक्तिको सर्वोच्च अवस्था प्राप्त गर्नसक्दछ ।
श्लोक ५०: हे कुन्तीपुत्र ! यसरी कर्म गरेर यस्तो सिद्धि पाएको व्यक्तिले कसरी परमसिद्ध अवस्था, ब्रह्मलाई अर्थात् ज्ञानको सर्वोच्च स्तरलाई प्राप्त गर्न सक्दछ, यो । म संक्षेपमा भन्दछु तिमीले बुझ ।
श्लोक ५१-५३: आफ्नै बुद्धिद्वारा निर्मल भएर धैर्यपूर्वक मनलाई नियन्त्रण गर्दै इन्द्रियतृप्तिका सबै विषयहरूलाई त्यागेर, राग र द्वेषबाट मुक्त भएर जो एकान्त स्थलमा निवास गर्दछ, जो अल्प आहार गर्दछ, शरीर, मन र वाणीशक्तिलाई जसले नियन्त्रण गर्दछ, जो सधैँ समाधिमा रहन्छ, जो विरक्त छ, अहङ्कार, बल, घमण्ड, काम, क्रोध, भौतिक वस्तुको संग्रह र मिथ्या स्वामित्वभावबाट जो मुक्त छ, अनि जो शान्त छ त्यस्तो व्यक्ति निश्चय नै आत्मसाक्षात्कारको स्थितिमा आरूढ हुन्छ ।
श्लोक ५४: यसरी दिव्य स्थितिमा अवस्थित व्यक्तिले तुरुन्तै परमब्रह्मको अनुभूति गर्दछ र पूर्णतया आनन्दित हुन्छ । उसले कहिल्यै शोक पनि गर्दैन र कुनै वस्तुको चाहना पनि गर्दैन । उसले हरेक जीवात्माप्रति समभाव राख्दछ । त्यस अवस्थामा उसले मेरो शुद्ध भक्ति प्राप्त गर्दछ ।
श्लोक ५५: केवल भक्तिद्वारा मात्रै मानिसले म (भगवान्) लाई यथार्थ रूपमा बुझ्न सक्दछन् । यस प्रकारको भक्तिद्वारा पूर्णरूपले मेरै (भगवान्को) भावनामा भावित भएको व्यक्ति भगवद्धाममा प्रवेश गर्नसक्दछ ।
श्लोक ५६: मेरा शुद्ध भक्तहरू मेरा संरक्षणमा रहेर सबै प्रकारका कार्यहरू गर्दै मेरा कृपाले नित्य तथा अविनाशी धाममा पुग्दछन् ।
श्लोक ५७: समस्त कार्यका लागि ममा नै निर्भर होऊ, सधैँ मेरै संरक्षणमा कर्म गर । यस प्रकारको भक्तिमा रहेर मप्रतिको पूर्णतया चेतनाले युक्त होऊ ।
श्लोक ५८: यदि तिमी मेरो चेतनामा (कृष्णचेतनामा) आउँदछौ भने, मेरा कृपाले बद्ध जीवनका सम्पूर्ण विघ्नबाधाहरूलाई पार गर्नेछौ । यदि अहङ्कारवश यस्तो चेतनामा रहेर काम गर्दैनौ र मेरा बारेमा सुन्दैनौ भने तिमी नष्ट हुनेछौ ।
श्लोक ५९: यदि तिमी मेरो निर्देशनअनुसार काम गर्दैनौ र युद्ध गर्दैनौ भने तिमी गलत दिशातिर निर्देशित हुनेछौ । तिम्रो स्वभावले तिमीलाई युद्धमा लगाउने छ ।
श्लोक ६०: हे कौन्तेय ! अहिले तिमी मोहमा परेर मेरो निर्देशनअनुसार जुन काम गर्न मानिरहेका छैनौ त्यही काम तिम्रो आफ्नै स्वभावबाट उत्पन्न कर्मका बशमा परेर गर्न बाध्य हुनेछौ ।
श्लोक ६१: हे अर्जुन ! परमेश्वर हरेकका हृदयमा विराजमान हुनुहुन्छ र भौतिक शक्तिबाट बनेको यन्त्र जस्तो शरीरमा चढेर समस्त जीवात्मालाई आफ्नो मायाद्वारा घुमाइरहनु भएको छ ।
श्लोक ६२: हे भारत ! तिमी पूर्णरूपले उहाँको शरणमा जाऊ, उहाँको कृपाद्वारा तिमीले दिव्य शान्ति र परमशाश्वत धाम प्राप्त गर्नेछौ ।
श्लोक ६३: यस प्रकार मैले तिमीलाई गोपनीयभन्दा गोपनीय ज्ञान भने । यसलाई पूर्णतया चिन्तनमनन गर र त्यसपछि जे इच्छा हुन्छ त्यही गर ।
श्लोक ६४: तिमी मेरा अत्यन्त प्रिय मित्र भएको हुनाले तिम्रो हितका लागि म तिमीलाई सबैभन्दा गोपनीय ज्ञान वा परमउपदेश दिदैछु, त्यो सुन ।
श्लोक ६५: सधैँभरि मेरो चिन्तन गर, मेरो भक्त बन, मेरो पूजा गर, मलाई नमस्कार गर । यसो गर्नाले तिमी मसँग आउने छौ । तिमी मेरा अत्यन्त प्रिय मित्र भएकाले तिमीलाई म यो वचन दिन्छु ।
श्लोक ६६: सबै थरिका धर्महरूलाई त्यागेर मेरा शरणमा आऊ, म तिमीलाई सबै पापकर्महरूबाट उद्धार गर्दछु, चिन्ता नलिउ ।
श्लोक ६७: असंयमीलाई, अभक्तलाई, भक्तिमा संलग्न नभएकालाई र मेरो द्वेष गर्नेलाई यो गोपनीय ज्ञान कहिल्यै नभन्नु ।
श्लोक ६८: जसले भक्तहरूलाई यो परमरहस्य भन्दछ त्यसले शुद्ध भक्ति प्राप्त गर्दछ र अन्त्यमा मेरो धाममा फर्किन्छ ।
श्लोक ६९: यो संसारमा मेरा लागि ऊ भन्दा प्रिय अर्को सेवक छैन, र पछि कहिल्यै पनि ऊ भन्दा प्रिय अर्को हुनेछैन ।
श्लोक ७०: साथै म के घोषणा गर्दछु भने जसले हामी दुईबीचको यो पवित्र वार्तालापको अध्ययन गर्दछ त्यसले आफ्नो बुद्धिद्वारा वा ज्ञानयज्ञद्वारा मेरो पूजा गर्दछ ।
श्लोक ७१: यसलाई जसले ईर्ष्यारहित र श्रद्धायुक्त भएर सुन्दछ त्यो व्यक्ति सम्पूर्ण पापकर्महरूबाट मुक्त हुन्छ र पुण्यात्माहरू निवास गर्ने पवित्र लोकमा पुग्दछ ।
श्लोक ७२: हे पार्थ, हे धनंजय ! तिमीले एकाग्र चित्तले यो ज्ञान सुन्यौ ? के अब तिम्रो अज्ञान र मोह नाश भयो ?
श्लोक ७३: अर्जुनले भने - हे कृष्ण ! हे अच्युत ! मेरो मोह नष्ट भयो, हजुरका कृपाले मैले फेरि मेरो स्मृति प्राप्त गरें । म अहिले दृढ छु संशयरहित भएको छु र हजुरको आदेशअनुसार काम गर्न तयार छु ।
श्लोक ७४: सञ्जयले भने - यस प्रकार मैले कृष्ण र अर्जुन यी दुई महापुरुषहरूको वार्तालाप सुनें र त्यो अत्यन्त अद्भुत सन्देशले मेरो शरीर रोमाञ्चित भइरहेछ ।
श्लोक ७५: व्यासका कृपाले मैले यी अत्यन्त गोपनीय वार्ताहरू योगेश्वर कृष्णबाट प्रत्यक्ष सुनें । कृष्ण स्वयं अर्जुनसँग यी कुरा भन्दै हुनुहन्थ्यो ।
श्लोक ७६: हे राजन् ! जब म बारम्बार कृष्ण र अर्जुनका बीच भएको यो अद्भुत तथा पवित्र वार्तालापलाई सम्झन्छु प्रतिक्षण गद्गद् हुँदै हर्षविभोर हुन्छु ।
श्लोक ७७: हे राजन् ! भगवान् कृष्णको अद्भुत रूप सम्झेर म झन् झन् आश्चर्यचकित हुन्छु र बारम्बार हर्षित हुन्छु ।
श्लोक ७८: जहाँ योगेश्वर कृष्ण हुनुहुन्छ र जहाँ परमधनुर्धारी अर्जुन छन् निश्चय नै त्यहाँ ऐश्वर्य, विजय, अलौकिक शक्ति र नैतिकता रहन्छन् भन्ने मेरो अटल विचार छ ।