भगवद्गीता नेपाली

अध्याय ५ · कर्मयोग

श्लोक १: अर्जुनले भने, “हे कृष्ण ! मलाई हजुरले अगाडी सबै प्रकारको कर्मबाट सन्यास लिग भन्नुभयो । अहिले फेरि भक्तिमय कर्म गर भन्दै हुनुहुन्छ । अब निश्चित गरेर यी दुई मध्य मेरा लागि कुन चाँही सबैभन्दा लाभदायक हुन्छ त्यही भन्नुहोस् ।”


श्लोक २: श्रीभगवानले भन्नुभयो- मोक्षका लागि त संयास र कर्मयोग दुवै उत्तम छन् । तर यी दुईमध्ये संयासभन्दा भक्तिमय कर्म (कर्मयोग) नै महान छ ।


श्लोक ३: कर्मफललाई घृणा पनि नगर्ने र कर्मफल प्रति मोह पनि नराख्ने व्यक्तिलाई सधैँ संन्यासी मान्नुपर्दछ । हे महाबाहु ! यस्तो मानिसले सबै द्वेतभावबाट रहित भएर भवबन्धनलाई सजिलैसँग पार गर्दछ र यसबाट ऊ पूर्णरुपमा मुक्त नि हुन्छ ।


श्लोक ४: अल्पज्ञानीहरू भक्तिमय कर्मयोगलाई भौतिक जगतको विश्लेषणात्मक अध्ययन भन्दा फरक ठान्दछन् । तर जो वास्तवमा ज्ञानी छन् तिनीहरू अनुसार त यी दुईमध्ये कुनै एउटामा राम्ररी लाग्ने व्यक्तिले दुवै प्रकारको फल प्राप्त गर्दछ ।


श्लोक ५: साङ्ख्ययोगद्वारा जुन स्थितिलाई प्राप्त गर्न सकिन्छ त्यही स्थिति भक्तिमय कर्मद्वारा पनि पाउन सकिन्छ । तसर्थ जसले यी साङ्ख्य र कर्मयोग दुवैलाई एउटै देख्दछ त्यही व्यक्ति वास्तव दार्शनिक हो ।


श्लोक ६: हे महाबाहु ! भगवानको भक्ति नगरी केवल संन्यास मात्र लिने सुखी हुन सक्दैनन तर भक्तिसाथ कर्ममा लागेको बुद्धिमान व्यक्तिले भने परमेश्वरलाई छिट्टैनै प्राप्त गर्दछ।


श्लोक ७: भक्तिमा संलग्न रहेको विशुद्ध आत्मा, आत्म संयमी व्यक्ति जसले आफ्ना मन तथा इन्द्रियहरू वशमा राखेको छ त्यो सबैको प्रिय हुन्छ र प्रत्येक व्यक्ति उसका लागि प्रिय हुन्छन् । यस्तो व्यक्ति सदा कर्ममा संलग्न रहे पनि कर्मबन्धनमा बाँधिदैन ।


श्लोक ८-९: दिव्य चेतना भएको व्यक्ति न त हेर्दा, सुन्दा, छुँदा, सुँध्दा, खाँदा, हिँड्दा, सपना देख्दा वा सास फेर्दा नि आँफुले केही गरिरहेकै छैन भन्ने सोची रहेको हुन्छ । त्यसै गरी उसले कुराकानी गर्दा, विसर्जन गर्दा, ग्रहण गर्दा, आँखा हेर्दा या चिम्लिदाँसम्म पनि इन्द्रियहरू आ-आफ्ना विषयमा लागिरहेका छन् तर म यी सबैबाट अलग्ग छु भन्ने विचार गरिरहेको हुन्छ ।


श्लोक १०: जो आफ्नो सबै कर्महरुको फल भगवान माथि समर्पित गरेर आसक्तिहरु त्यागेर कर्म गर्दछ, उसलाई पापले त्यसरी नै छुन सक्दैन जसरी कमलको पातलाई पानीले भिजाउँन सक्दैन।


श्लोक ११: योगीहरू आसक्ति बिना शरीर, मन, बुद्धि तथा इन्द्रियहरूले मात्र आफ्नो आत्म शुद्धिका लागि कर्म गर्ने गर्छन् ।


श्लोक १२: निष्ठावान् भक्तले आफ्ना सबै कर्महरुका फलहरू म माथि अर्पण गरी पूर्ण शान्ति प्राप्त गर्दछ भने अभक्त व्यक्ति आफ्ना कर्मको फलमा आसक्त रही कर्मबन्धनमा पर्दछ ।


श्लोक १३: देहधारी जीवात्मा आफ्नो प्रकृतिलाई वशमा राखी मनले सबै कर्महरू त्यागी आफूले नि केही नगरी र अरूलाई नि केही नगराई नौ ढोका भएको भौतिक शरीर रूपी नगरमा सुखपूर्वक बास गर्दछ ।


श्लोक १४: शरीर रूपी नगरका स्वामी देहधारी जीवात्माले न कर्मको सृजना गर्दछ, न कसैलाई कर्म गर्न लगाउद्छ, न कर्मफलको रचना नै गर्दछ । यी सबै त प्रकृतिका तीन गुणहरूद्वारा पूर्ण हुन्छन् ।


श्लोक १५: भगवानले न त कसैको पाप स्वीकार गर्नुहुन्छ न त पुण्य नै तर सबै देहधारी जीवहरु अज्ञानले गर्दा मोहग्रस्त हुन्छन् र त्यही मोहले गर्दा तिनीहरूको वास्तविक ज्ञान ढाकिएको हुन्छ ।


श्लोक १६: जब कुनै व्यक्ति अविद्याको विनाश गर्ने ज्ञानमा पारङ्गत हुन्छ तब उसको त्यो ज्ञानद्वारा दिनमा सूर्यका किरणले सबै चिजहरू देखिने भए झैँ हरेक वस्तु छर्लङ्ग हुन्छन् ।


श्लोक १७: जब मानिसको बुद्धि, मन, श्रद्धा तथा आश्रय सबैकुरा भगवान्‌मा स्थिर हुन्छ तब मात्र पूर्ण ज्ञानद्वारा ऊ सबै पापकर्मबाट शुद्ध हुन्छ, त्यसपछि नै ऊ मुक्तिका बाटोमा अग्रसर हुनथाल्दछ ।


श्लोक १८: विनम्र सिक्षित मनुष्य आफ्नो वास्तविक ज्ञानबाट प्राप्त गुणका कारणले एउटा विद्वान् तथा शिष्ट ब्राह्मणलाई र गाई, हात्ती, कुकुर तथा चाण्डाललाई पनि समान दृष्टिले हेर्दछ ।


श्लोक १९: आफ्नो मनलाई सन्तुलन वा एकत्वमा राखेका व्यक्तिहरूले आफ्नो जन्म र मृत्युको अवस्थालाई अगाडीनै जितिसकेका हुन्छन् । तिनीहरू ब्रह्म जस्तै दोषरहित हुन्छन् र यसरी सधैं भगवानमै स्थित हुन्छन् ।


श्लोक २०: जो राम्रो वस्तु पाएर रमाउँदैन र नराम्रो वस्तु पाउँदा दुखी हुँदैन, जसको बुद्धि स्थिर छ, जो मोहित हुँदैन र जसमा भगवत्-विद्याको ज्ञान छ त्यो व्यक्तिलाई अगाडी देखि नै ब्रह्ममा स्थित रहेको मान्नुपर्दछ ।


श्लोक २१: यस्तो मुक्त आत्मा इन्द्रिय-सुखतिर आकर्षित नभई सदैव समाधिमा रहेर आफैँभित्र आनन्दको अनुभव गर्दछ । यसरी आत्मसाक्षात्कार गरेको व्यक्ति ब्रह्ममा एकाग्र रहि असीम सुखको भोग गर्दछ ।


श्लोक २२: इन्द्रियहरूको स्पर्शबाट उत्पन्न हुने दुःखको कारणमा बुद्धिमान मनुष्य रमाउँदैन । हे कुन्तीपुत्र ! यस्ता इन्द्रिय भोगहरूको सुरुवात र अन्त्य हुने हुनाले त्यस्ता विषयमा बुद्धिमानीहरू रुचि राख्दैनन् ।


श्लोक २३: यो भौतिक शरीर त्याग गर्नुभन्दा अगी इन्द्रियहरुबाट उत्पन्न हुने इच्छा एवं क्रोधको वेग सहन सक्ने मानिस नै संसारमा सुखी रहन सक्दछ ।


श्लोक २४: जो भित्रैदेखि सुखको अनुभव गर्दछ, जो मिहिनेती छ र आफैँभित्र नै रमाउँदछ र जसको लक्ष्य आफुँ भित्रनै परम् सत्यलाई खोज्नु रहेको छ त्यो यथार्थमै पूर्णयोगी हो । त्यो ब्रह्ममुक्त हो र त्यसले अन्त्यमा परब्रह्मलाई नै प्राप्त गर्दछ ।


श्लोक २५: जो संदेहबाट उत्पन्न हुने द्वैतभावभन्दा पर छन्, जसको मन आत्म साक्षात्कारमा तल्लिन भएको छ, जो सबै जीवहरूको कल्याण गर्नमा सधैँ व्यस्त रहन्छन् र जो सबै पापले मुक्त छन् तिनीहरूले नै ब्रह्म निर्वाण प्राप्त गर्दछन् ।


श्लोक २६: जो सबै इच्छा तथा क्रोधबाट मुक्त छन्, जसको मन आफ्नो नियन्त्रणमा छ, जो स्वरूपसिद्ध छन्, र पूर्णताका लागि निरन्तर प्रयत्नशील छन्, तिनीहरूको मुक्ति छिट्टै निश्चित छ ।


श्लोक २७-२८: समग्र भौतिक इन्द्रियका विषयहरूलाई बिर्सेर, दृष्टिलाई आँखीभौंको माझमा केन्द्रित गरी, प्राण र अपान वायुलाई नाकभित्रै रोकी अनि मन, इन्द्रिय र बुद्धिलाई वशमा राख्दै मोक्षलाई लक्ष्य बनाएको योगी, इच्छा, भय र क्रोधबाट मुक्त हुन्छ । जो सधैं यस्तो स्थितिमा रहन्छ त्यो निश्चय नै मुक्त हो ।


श्लोक २९: मलाई नै समस्त यज्ञ तथा तपस्याका परमभोक्ता जानी, मलाई नै सबै लोकहरू र देवताहरूका पनि परमस्वामी मानी र मलाई नै सबै प्राणीहरुका उपकारी वा हितैषी ठानी, मेरै भक्तिभावनाले पूर्ण भएको व्यक्तिले भौतिक कल्मषहरूको पीडाबाट सुख र शान्ति प्राप्त गर्दछ ।