भगवद्गीता नेपाली
अध्याय ८ · भगवत्प्राप्ति
श्लोक १: अर्जुनले सोधे - हे भगवान् ! हे पुरुषोत्तम ! ब्रह्म के हो ? आत्मा के हो ? सकाम कर्म के हो ? यो भौतिक जगत् के हो ? देवताहरु भनेको को हुन् ? मलाई कृपया यसको बारेमा वर्णन गर्नुहोस् ।
श्लोक २: हे मधुसूदन ! यज्ञको स्वामी को हो र ऊ शरीरमा कसरी रहन्छ ? अनि भक्तिमा लागेका व्यक्तिहरूले मृत्युकालमा कसरी हजुरलाई जान्न सक्दछन् ?
श्लोक ३: भगवान्ले भन्नुभयो - अविनाशी एवं दिव्य जीवलाई ब्रह्म भनिन्छ र उसको सनातन स्वभावलाई आत्मा भनिन्छ अनि भौतिक शरीरको विकाससँग सम्बन्धित क्रियाकलापलाई सकाम कर्म भनिन्छ ।
श्लोक ४: हे देह्धारीहरुमा श्रेष्ठ ! निरन्तर परिवर्तनशील यो भौतिक प्रकृति नै अधिभूत हो । सुर्य र चन्द्रलगायतका समस्त देवताहरु सहित भगवानको विराट स्वरूपलाई अधिदैव भनिन्छ र प्रत्येक देहधारीका हृदयमा परमात्मा रुपले निवास गर्ने म परमेश्वर नै अधियज्ञ वा यज्ञको स्वामी हुँ ।
श्लोक ५: जीवनका अन्त्यमा जसले मात्र मेरो स्मरण गर्दै शरीर त्याग गर्दछ त्यसले तत्काल मेरो स्वभावलाई प्राप्त गर्दछ । यसमा कुनै सन्देह छैन ।
श्लोक ६: हे कुन्तीपुत्र ! शरीर त्याग गर्ने समयमा मानिसले जुन जुन भावको स्मरण गर्दछ त्यसले निश्चित रूपमा मृत्युपछि त्यही स्थिति प्राप्त गर्दछ ।
श्लोक ७: तसर्थ हे अर्जुन ! तिमीले सधैँ कृष्ण रूपमा मेरो चिन्तन गर्नुपर्दछ र साथै युद्ध गर्ने आफ्नो कर्त्तव्य पनि पूरा गर्नुपर्दछ । आफ्ना कर्महरू मलाई अर्पण गरेर मन र बुद्धिलाई ममा नै अर्पण गर्यौ भने तिमीले निश्चय नै मलाई प्राप्त गर्नेछौ ।
श्लोक ८: हे पार्थ ! जो मनुष्य आफ्नो मनले निरन्तर मेरो स्मरण गरिरहन्छ र अविचलित भावले भगवान्का रूपमा मेरो ध्यान गर्दछ त्यसले निश्चित रूपमा मलाई प्राप्त गर्न पुग्द्छ ।
श्लोक ९: जो सर्वज्ञ हुनुहुन्छ, प्राचीनतम हुनुहुन्छ, नियन्त्रक हुनुहुन्छ, सानोभन्दा सानो हुनुहुन्छ, सबैका पालनकर्ता हुनुहुन्छ, जो सबै भौतिक धारणाभन्दा पर हुनुहुन्छ, जो अज्ञेय हुनुहुन्छ, जो सधैँ एउटा पुरुषका रूपमा हुनुहुन्छ जो सूर्यसमान प्रकाशवान् हुनुहुन्छ र यो भौतिक प्रकृतिभन्दा पर दिव्य स्वरूपका हुनुहुन्छ, उनै परमपुरुषको ध्यान मनुष्यले गर्नुपर्दछ ।
श्लोक १०: जसले मृत्युको समयमा दुवै आँखीभौँका बीचमा प्राण स्थिर गरेर योगशक्तिद्वारा मनलाई अविचलित बनाई पूर्ण भक्तिसहित आफूलाई परमेश्वरको स्मरणमा लगाउँदछ, त्यसले निश्चित रूपमा म भगवानलाई प्राप्त गर्दछ ।
श्लोक ११: जो वेदका ज्ञाता छन्, जो ॐकारको जप गर्दछन् र जो ठूला-ठूला संन्यासी ऋषि छन् तिनीहरू ब्रह्ममा प्रवेश गर्दछन् । यस्तो सिद्धिको इच्छा गर्नेहरू ब्रह्मचर्यव्रतको अभ्यास गर्दछन् । अब म तिमीलाई संक्षेपमा त्यो विधि भन्दछु जसद्वारा मानिसले मुक्ति प्राप्त गर्न सक्दछ ।
श्लोक १२: इन्द्रियका सबै क्रियाकलापमा अनासक्त रहनु नै यौगिक अवस्था हो । इन्द्रियका सबै द्वारहरू बन्द गरेर मनलाई हृदयमा र प्राणवायुलाई शिरको उच्च भागमा केन्द्रित गरेर मनुष्यले आफूलाई योगमा स्थापित गर्न सक्द्छ ।
श्लोक १३: जसले योगअभ्यासमा स्थित रहेर, ॐकारको उच्चारण गर्दै भगवान्को चिन्तन गर्दछ र आफ्नो शरीर त्याग गर्दछ, त्यसले निश्चित रूपमा आध्यात्मिक लोक प्राप्त गर्दछ ।
श्लोक १४: हे पृथापुत्र अर्जुन ! सधैँ मेरै भक्तिमा तल्लीन रहने र अनन्य भावले निरन्तर मेरो स्मरण गरिरहने योगीका निमित्त म सहजै प्राप्त हुन्छु ।
श्लोक १५: मलाई प्राप्त गर्ने भक्तियोगी महात्माहरू दुःखै-दुःखले भरिपूर्ण यो नश्वर जगत्मा फेरि कहिल्यै फर्केर आउँदैनन् किनभने तिनीहरूले परमसिद्धि प्राप्त गरिसकेका हुन्छन् ।
श्लोक १६: जन्म र मरणको चक्र चलिरहने ब्रह्मलोकदेखि भूलोकसम्मका सबै लोकहरू दुःखमय स्थानहरु हुन् । तर हे कुन्तीपुत्र ! जो मेरो धाममा पुग्दछ उसलाई भने फेरि कहिल्यै जन्मनु र मर्नु पर्दैन ।
श्लोक १७: मनवीय गणनाअनुसार एक हजार युग मिलेर ब्रह्माको एक दिन हुन्छ तथा त्यति नै समयको उहाँको एक रात्रि पनि हुन्छ ।
श्लोक १८: ब्रह्माका दिन सुरु हुँदा सबै जीवहरू अव्यक्त अवस्थाबाट व्यक्त हुने गर्दछन् अनि जब ब्रह्माको रात सुरु हुन्छ ती जीवहरू फेरि अव्यक्तमै विलीन हुन पुग्दछन् ।
श्लोक १९: जब जब ब्रह्माको दिन उदय हुन्छ सबै जीवहरू बारम्बार प्रकट हुन्छन् र ब्रह्माको रातको आगमनसँगै ती जीवात्माहरू निराश्रय भएर विलीन हुन्छन् ।
श्लोक २०: यसबाहेक एउटा अर्को अव्यक्त प्रकृति पनि छ जुन यो व्यक्त र अव्यक्त पदार्थभन्दा शाश्वत र दिव्य छ । त्यो कहिल्यै पनि नष्ट नहुने परा शक्ति हो । संसारका सबै वस्तु नष्ट हुँदा पनि त्यो जस्ताको तस्तै रहिरहन्छ ।
श्लोक २१: वेदान्तीहरू जसलाई अव्यक्त र अविनाशी भन्छन्, जो सबैको गन्तव्य पनि हो र जसलाई प्राप्त गरेपछि कोही पनि फर्केर आउँदैन, त्यही नै मेरो परमधाम हो ।
श्लोक २२: भगवान् सबैभन्दा महान् हुनुहुन्छ । उहाँलाई अनन्य भक्तिद्वारा मात्र प्राप्त गर्न सकिन्छ । उहाँ आफ्ना धाममा विराजमान हुनु भएर पनि सर्वव्यापी हुनुहुन्छ र उहाँमै सबै वस्तु अवस्थित छन् ।
श्लोक २३: हे भरत श्रेष्ठ ! अब म तिमीलाई ती विभिन्न समयहरूको वर्णन गर्दछु जुन समयमा योगीले यो संसारबाट विदा लिँदा ऊ पुनः यो संसारमा फर्कनुपर्दछ वा पर्दैन ।
श्लोक २४: अग्निदेवताका प्रभावमा, उज्यालो प्रकाशमा, दिनको शुभक्षणमा, शुक्लपक्षमा र सूर्य उत्तरायण भएका छ महिनामा शरीर त्याग गर्ने ब्रह्मज्ञानीहरूले ब्रह्मलाई प्राप्त गर्दछन् ।
श्लोक २५: धुँवा, रात्रि, कृष्णपक्ष र सूर्य दक्षिणायन भएको समयमा शरीर त्याग्ने योगी चन्द्रलोकसम्म पुगेर फेरि पृथ्वीमै फर्केर आउँछ ।
श्लोक २६: वैदिक मतानुसार यो संसारबाट प्रस्थान गर्ने दुईवटा मार्ग छन्- पहिलो हो प्रकाशमय मार्ग र दोस्रो हो अन्धकारमय मार्ग । प्रकाशमय मार्गबाट जाने व्यक्ति फर्केर आउदैन तर कृष्णमार्ग वा अन्धकारमय पथबाट जाने व्यक्ति भने फेरि पृथ्वीमा फर्केर आउदछ ।
श्लोक २७: मेरा भक्तहरू यी दुवै मार्गसँग परिचित हुने हुँदा कहिल्यै पनि मोहग्रस्त हुँदैनन् । तसर्थ हे अर्जुन ! तिमी सधैँ भक्तिमा स्थिर होऊ ।
श्लोक २८: जसले भक्तिमार्ग स्वीकारेको छ उसलाई वेदाध्ययन, तपस्या, दान, दार्शनिक चिन्तन, तथा सकाम कर्म गर्दा प्राप्त हुने फलबाट वञ्चित हुनुपर्दैन । केवल भक्तिले मात्र पनि उसले यी सबै फलहरू प्राप्त गर्दछ र अन्त्यमा ऊ परमनित्यधाममा पुग्दछ ।