भगवद्गीता नेपाली

अध्याय ४ · दिव्य ज्ञान

श्लोक १: भगवानले भन्नुभयो - मैले यो सनातन योग सबैभन्दा पहिले सूर्यदेवलाई भनेको थिएँ । सूर्यले मनुष्यका पिता मनुलाई भने र मनुले यही ज्ञान फेरि महाराज इक्ष्वाकुलाई भनेका थिए ।


श्लोक २: यस प्रकारले यो महाविज्ञान शिष्यपरम्पराबाट प्राप्त हुनआएको हो र महान राजर्षिहरूले जस्ताका त्यस्तै बुझे तर समयक्रममा यो परम्परा नष्ट हुनपुग्यो । तसर्थ यो विज्ञान जस्तो छ त्यस्तै नदेखिए जस्तो लाग्छ ।


श्लोक ३: म तिमीलाई आज, भगवानसँगको सम्बन्ध बुझाउने निकै पुरानो विज्ञान भन्दछु सुन । तिमी मेरा भक्त पनि हौ र मित्र पनि हौ अनि तिमी यो विज्ञानको दिव्य रहस्य पनि निश्चयनै बुझ्न सक्दछौ ।


श्लोक ४: अर्जुनले भने - भगवान सूर्यदेव विवस्वानको जन्म प्राचिन कालमा भएको हो, हजुरको जन्म बल्ल अहिले युगमा भएको छ भने यही विज्ञान हजुरले उनलाई धेरै अघि भन्नुभएको थियो भन्ने कुरा मैले कसरी जानूँ ?


श्लोक ५: भगवानले भन्नुभयो - हे अर्जुन ! मेरा धेरै जन्महरू बितिसके र तिम्रा पनि धेरै जन्महरु बितिसके । हे परन्तप ! मलाई ती सबै जन्मको याद छ तर तिमीलाई त्यो याद छैन ।


श्लोक ६: म अजन्मा छु, नित्य छु, मेरो दिव्य शरीर अविनाशी छ र म सबै जीवात्माहरूको एकमात्र परमेश्वर हूँ तैपनि प्रत्येक युगमा म आफ्नो वास्तविक दिव्य स्वरूपमा आफ्नो अन्तरंगा शक्तिद्वारा अवतार लिन्छु ।


श्लोक ७: हे भरतवंशी अर्जुन ! जहाँकहाँ र जहिलेतहिले धर्मको पतन र अधर्मको उत्थान हुन थाल्दछ त्यसत्यस समय र त्यसत्यस ठाउँमा म अवतार लिन्छु ।


श्लोक ८: भक्तहरूको उद्धारका लागि तथा दुष्टहरूको विनाशका लागि र धर्मको पुनर्स्थापनाका लागि म हरेक युगमा अवतार लिन्छु ।


श्लोक ९: हे अर्जुन ! जसले मेरो जन्म र कर्मको दिव्यतालाई यथार्थ रूपमा बुझ्दछ, त्यसले यो शरीर छोडेपछि फेरि अर्को जन्म लिनुपर्दैन बरु मलाई, मेरो धाम, नै प्राप्त गर्दछ ।


श्लोक १०: आसक्ति, भय र क्रोधबाट मुक्त भएर पूर्णरुपले ममा निर्भर भएर र मेरो शरणमा आएर गएका युगका धेरै महान् व्यक्तिहरू मेरो ज्ञानले पवित्र भए र यसरी तिनीहरूले मेरो दिव्य प्रेमभाव प्राप्त गरे ।


श्लोक ११: जो जसरी मेरो शरणमा आउँदछ, त्यसलाई म त्यसरी नै फल दिन्छु । हे पार्थ ! सबै प्राणीले सबै पक्षबाट मलाई नै पाउने प्रयास गर्दै हुन्छन ।


श्लोक १२: यो भौतिक संसारमा सकाम कर्मको पूर्णता वा भोग गर्न चाहनेहरूले देवीदेवताहरूको पूजा गर्दछन् र निश्चय नै यस लोकमा मानिसलाई उसका सकाम कर्मले सफलता तुरून्तै प्राप्त हुन्छ ।


श्लोक १३: गुण र कर्मको आधारमा मैले मानव समाजमा चार वर्णहरूको सृष्टि गरें । म यो सबैको कर्ता हूँ, पिता हुँ तापनि तिमी मलाई नित्य, अविनाशी अकर्ता (परमात्मा) नै मान ।


श्लोक १४: मलाई मोहित पार्ने कुनै कर्म छैन र ममा कुनै कर्मफलको इच्छा पनि छैन । जसले मलाई र यो परमसत्यलाई यस प्रकार जान्दछ त्यो व्यक्ति कर्मफलको मोहमा फस्दैन ।


श्लोक १५: बितेका युगहरुमा सबै मुक्ति पाएका महात्माहरूले मेरो दिव्यतालाई जानेरै कर्म गरेका थिए । तिमीले पनि तिनीहरूकै चरणचिन्हको अनुसरण गर्दै स्वधर्म पालन गर ।


श्लोक १६: कर्म भनेको के हो र अकर्म भनेको के हो भन्ने कुरा छुट्याउने काममा बुद्धिमान व्यक्तिहरू पनि अल्मलिने गर्छन् तसर्थ म तिमीलाई कर्मको अर्थ भन्छु सुन । यति जान्यौ भने तिमीले सबै प्रकारका अशुभबाट छुटकारा पाउनेछौ ।


श्लोक १७: मानिसले कर्म, वर्जित कर्म र अकर्म के हो भन्ने कुरा राम्ररी बुझ्नुपर्दछ । यो कर्मको गहिरो अर्थलाई बुझ्न अति कठीन छ ।


श्लोक १८: जो व्यक्ति कर्ममा अकर्म र अकर्ममा कर्म देख्न सक्षम छ, त्यो व्यक्ति मनुष्यहरूमै बुद्धिमान् हो र त्यस्तो व्यक्ति सबै कर्ममा संलग्न भएर पनि दिव्यावस्थामा स्थित हुन्छ ।


श्लोक १९: जो सबै कर्म इन्द्रियतृप्ति गर्ने इच्छाले रहित भएर गर्छ, ज्ञानीहरू त्यस्ता कर्तालाई पूर्ण ज्ञानरूपी अग्निद्वारा आफ्ना कर्महरु भस्म गराउने पण्डित मान्दछन् ।


श्लोक २०: कर्मफलका सबै आसक्तिहरू त्यागेर सधैँभरी सन्तुष्ट रहने मनुष्य सबै प्रकारका कर्ममा संलग्न रहेर पनि सकाम कर्मबाट टाडा रहेको हुन्छ ।


श्लोक २१: जसले आफ्नो मन र बुद्धि वशमा राखी फलको इच्छा रहित भै कर्म गर्दछ, आफ्ना सम्पत्तिमाथिको स्वामित्वभावलाई पनि त्यागिदिन्छ र केवल आफ्नो जीवन निर्वाहका लागि मात्र कर्म गर्दछ, त्यसरी कर्म गर्ने व्यक्तिले पापपूर्ण कर्मफल पाउँदैन ।


श्लोक २२: जो मनुष्य आफैँ प्राप्त हुन आएको लाभबाट सन्तुष्ट रहन्छ, द्वन्दबाट पर रहन्छ, डाह गर्दैन र सफलता र असफलतामा पनि एकचित्त रहन्छ, त्यो व्यक्ति कर्म गरेर पनि कर्मफलमा बाँधिदैन ।


श्लोक २३: प्रकृतिका गुणमा अनासक्त रहेको र पूर्ण रूपले दिव्य ज्ञानमा अवस्थित रहेको मुक्त पुरुष यज्ञका (कृष्णका) लागि कर्म गर्ने हुनाले उसका सबै कर्महरू ब्रह्ममा लीन हुन जान्छन् ।


श्लोक २४: भग्वद्भक्तिमा पूर्णरुपमा एकाग्र भएको मनुष्यले आफ्नै आध्यात्मिक कर्मले भगवद्धाम प्राप्त गर्दछ, किनकी उसका कर्ममा हवन र हवि दुवै ब्रह्ममय हुन पुग्दछन ।


श्लोक २५: केही योगीहरू थरीथरीका यज्ञहरू गरी राम्ररी देवताहरूको पूजा गर्दछन भने केही योगीहरू यज्ञमा परमब्रह्मरूपी अग्निमा अर्पण गर्दछन ।


श्लोक २६: केही श्रवण प्रक्रिया र इन्द्रियहरूलाई मनको नियन्त्रण रूपी अग्निमा होमिदिन्छन् भने केही इन्द्रियका विषयहरूलाई इन्द्रियरूपी अग्निमै चढाईदिन्छन् ।


श्लोक २७: मन तथा इन्द्रियलाई नियन्त्रणमा राखेर आत्मसाक्षात्कार गर्न इक्षुकहरूले सबै इन्द्रियहरू र प्राणवायुका कार्यहरूलाई पनि संयमित योगरूपी अग्निमा होमिदिन्छन् ।


श्लोक २८: दृढ व्रत धारण गरेका योगीहरू कोही धनसम्पत्तिको दानद्वारा, कोही कठोर तपस्याद्वारा, कोही अष्टाङ्गयोगद्वारा र कोही वेदहरूको अध्ययनद्वारा विद्वान बन्दछन् ।


श्लोक २९: केही योगीहरू समाधिमा रहनका लागि प्राणायमद्वारा स्वासलाई रोकिराख्नी योग गर्दछन् । अपानवायुमा प्राणवायुलाई र प्राणमा अपानवायुलाई होम्ने अभ्यास गर्दागर्दै अन्त्यमा प्राण र अपान दुवैलाई रोकेर समाधिमा प्रवेश गर्दछन् । त्यस्तै केही योगी आफ्नो आहारलाई नियन्त्रण गर्दै प्राणलाई प्राणमै होमिदिन्छन् ।


श्लोक ३०: यिनीहरु सबै यज्ञकर्ताहरू यज्ञ गर्नुको उद्धेश्य जान्नाले पापकर्मबाट मुक्त हुन्छन् र यज्ञको फलरूपी अमृत चाखेर शास्वत, सनातन परमधाम तर्फ अघि बढ्दछन् ।


श्लोक ३१: हे कुरुश्रेष्ठ ! यज्ञ नगर्ने मनुष्य यो लोकमा, यो जुनीमा त सुखी रहन सक्दैन भने अर्को जुनीमा झन् कसरी सुखी रहला ?


श्लोक ३२: यसरी धेरै थरीका यज्ञहरू वेदद्वारा प्रतिपादित छन् र सबै यज्ञहरू थरीथरी प्रकारका कर्मका कारणले उत्पन्न हुन्छन् । यसलाई यसरी बुझ्यौ भने तिमीले मोक्ष पाउँनेछौ ।


श्लोक ३३: हे शत्रु दमनकर्ता ! ज्ञान यज्ञ द्रव्य यज्ञभन्दा श्रेष्ठ छ । हे पार्थ ! अन्तत: सारा कर्म यज्ञको समाप्ति दिव्य ज्ञानमा स्थापित भएर हुन्छ ।


श्लोक ३४: गुरुका समक्ष गएर सत्यलाई बुझ्ने कोसिस गर । गुरुका समक्ष आफ्ना विनम्र जिज्ञासाहरू राख, सेवा गर ततपश्चात सत्यको दर्शन पाएका विद्वान गुरुले तिमीलाई वास्तव ज्ञान प्रदान गर्नेछन् ।


श्लोक ३५: हे पाण्डुपुत्र ! यसरी वास्तव ज्ञान पाइसकेपछि तिमी फेरि कहिल्यै मोहमा पर्नेछैनौ किनकी यो ज्ञानद्वारा तिमीले सबै जीवात्मा परमात्माका अंश हुन् वा तिनीहरू सबै मेरै अंश हुन् भन्ने अनुभव गर्न सक्नेछौं।


श्लोक ३६: यदि तिमी सबै पापीहरूभन्दा पनि महापापी छौ भने पनि दिव्य ज्ञानरूपी डुंगामा चढ्न पुग्यौ भने यो दुःखरुपी सागरलाई सहजै पार गर्नेछौ ।


श्लोक ३७: हे अर्जुन ! जसरी दाउरालाई जलिरहेको आगोले खरानी पार्दछ त्यसरी ज्ञानरूपी अग्निले सकाम कर्मका सारा फललाई डढाएर खरानी पार्दछ ।


श्लोक ३८: यस जगतमा दिव्य ज्ञान जत्तिको पवित्र वस्तु अरू केही छैन । त्यस्तो ज्ञान सारा योगको पाकेको फल हो । जो व्यक्ति भक्तिमय सेवामा पूर्ण छ त्यो हरेक समय आफैंभित्र यो ज्ञानको आनन्द लिन्छ ।


श्लोक ३९: श्रद्धावान मनुष्य दिव्य ज्ञानका पछी लागेको र इन्द्रियहरूलाई आफ्नो वशमा राखेको हुन्छ र ऊ नै यो ज्ञान प्राप्त गर्ने अधिकारिक पात्र हो र यस्तो ज्ञान पाउनाले उसले तुरून्तै परम शान्ति पाउँदछ ।


श्लोक ४०: वैदिक शास्त्रप्रति शंका गर्ने मुर्ख, अज्ञानी र श्रद्धाविहीन मनुष्यले दैवीय चेतना प्राप्त गर्न सक्दैन । त्यस्तो व्यक्ति पतन भएर जान्छ । शंकालु व्यक्तिले न त यस जगतमा सुख पाउँदछ न त अरु कुनै लोकमा नै ।


श्लोक ४१: आफ्ना कर्मफललाई त्यागेर भग्वद्भक्तिमा लागेको र दिव्य ज्ञानको विकासद्वारा आफ्ना सन्देहहरू नष्ट भएको मनुष्य नै आत्मपरायण हो । हे धनञ्जय ! यस्तो मनुष्य कर्मफलका बन्धनमा बाँधिदैन ।


श्लोक ४२: त्यसैले हे भरतवंशी अर्जुन ! तिम्रा हृदयमा अज्ञानताका कारणले जुन शंका उठेको छ त्यसलाई ज्ञानरूपी तरवारले काटेर र योगमा स्थित भई युद्ध गर्नका निम्ति उठ ।