भगवद्गीता नेपाली

अध्याय ६ · ध्यानयोग

श्लोक १: भगवानले भन्नुभयो - कर्मफलप्रति आसक्ति रहित रहने र आफ्नो कर्तव्य कर्मको पालन गर्ने व्यक्ति नै वास्तव संन्यासी वा योगी हो। आगो नबाल्ने र कर्तव्य कर्म पनि नगर्नी कोही पनि संन्यासी वा योगी हुन सक्दैन।


श्लोक २: हे पाण्डुपुत्र ! जसलाई संन्यास भनिन्छ त्यसैलाई तिमी योग हो भन्ने जान र योग भनेकै भगवानसँग जोडिन पुग्नुको स्थिति हो । अनि इन्द्रियतृप्तिको इच्छा नत्यागी कोही पनि योगी बन्नसक्दैन ।


श्लोक ३: अष्टाङ्गयोगका नव साधकहरूलाई कर्म नै आत्मा उन्नतिको साधन हो भने योगसिद्ध पुरुषका लागि सबै भौतिक क्रियाकलापहरूको त्याग नै त्यो साधन हो।


श्लोक ४: जसले सबै भौतिक इच्छाहरू त्याग गरेको छ, जो इन्द्रियभोगका लागि कार्य गर्दैन र जो सकाम कर्ममा फँसेको छैन त्यस्तो मनुष्यलाई योगारूढ भनिन्छ।


श्लोक ५: मानिसले आफ्नो मनको सहायोगले आफ्नै उद्धार गरोस्। आफूलाई पतन हुन नदेओस्। यो मन बद्धजीवको साथी पनि हो र शत्रु पनि हो।


श्लोक ६: जसले मनलाई जितेको छ उसका लागि मन सर्वश्रेष्ठ मित्र हो र जसले मनलाई जित्न सकेको छैन त्यसका लागि मन नै एकदम ठूलो शत्रु पनि हो।


श्लोक ७: जसले आफ्नो मनलाई जितेको छ, त्यसले पहिले नै परमात्मालाई प्राप्त गरी सकेको हुन्छ र सबै शान्ति पनि प्राप्त गरिसकेको हुन्छ। यस्ता मानिसका लागि सुख-दुःख, जाडो-गर्मी र मान-अपमान सबै समान हुन्छन्।


श्लोक ८: आफ्नो आर्जित ज्ञान र आत्मानुभूतिका गुणहरुद्वारा पूर्णरुपमा आफैँमा सन्तुष्ट रहने र आत्मसाक्षात्कार भएको मानिसलाई नै योगी मानिन्छ। त्यस्तो मानिसले आफ्नो इन्द्रियहरुलाई आफ्नो वशमा राखेको हुन्छ र अध्यात्ममा अवस्थित हुन्छ। उसले ढुङ्गो, माटो या सुन जे भए पनि सबैलाई एकै समान देख्दछ।


श्लोक ९: जब मानिस हितैषीहरू, प्रिय मित्रहरू, तटस्थहरू, मध्यस्थहरू, ईर्ष्यालुहरू, शत्रु तथा मित्रहरू, साधु तथा पापीहरूप्रति पनि समान भावले हेर्न सक्ने हुन्छ तब उसलाई विशिष्ट मानिन्छ ।


श्लोक १०: योगीले सधैं आफ्नो शरीर, मन तथा आत्मालाई परमेश्वरमा लगाउनुपर्दछ, एकान्त स्थानमा बस्नुपर्दछ र सधैं सावधानी अपनाएर आफ्नो मनलाई वशमा राख्नुपर्दछ र साथै सबै इच्छाहरू र स्वामित्वभावबाट पनि मुक्त हुनुपर्दछ ।


श्लोक ११-१२: योगाभ्यास गर्नेले एकान्त ठाउँमा गएर भुइँमा कुश ओच्छ्याओस् र त्यसपछि त्यसलाई ढाक्ने गरी मृगचर्म वा नरम कपडा बिच्छ्याओस् । आसन धेरै अग्लो पनि नहोस् र धेरै होचो पनि नहोस् । पवित्र ठाउँ होस् । यसैमाथि बसेर योगीले दृढतापूर्वक मन, इन्द्रिय तथा कर्महरू वशमा राख्दै मनलाई एउटा विन्दुमा स्थिर गरेर हृदय शुद्धिका लागि योग अभ्यास गरोस् ।


श्लोक १३-१४: योगको अभ्यास गर्नेले आफ्नो शरीर, घाटी र शिरलाई सिधा राखेर नाकको टुप्पामा एक टक लाएर हेरिरहोस् र यसरी मनलाई संयमित तथा अविचलित बनाओस् । अनि इन्द्रियभोग गर्ने इच्छाबाट पूर्णरुपमा मुक्त भएर निडर भई मलाई नै परमलक्ष्य बनाएर हृदयमा मेरो चिन्तन गरोस् ।


श्लोक १५: यस प्रकार शरीर, मन र कर्मलाई नियंत्रित राख्ने अभ्यासमा लागेका, संयमित मन भएका योगीहरू यो भौतिक जगतको अन्त्य भएपछि भगवत्धाममा पुग्दछन् ।


श्लोक १६: हे अर्जुन ! जो एकदमै धेरै खान्छ वा खाँदैखाँदैन, जो एकदमै धेरै सुत्दछ वा सुत्दैसुत्दैन त्यो योगी हुन सक्दैन ।


श्लोक १७: खाने, सुत्ने, मनोरन्जन गर्ने र काम गर्ने ढंगमा जो सन्तुलित रहन्छ त्यही व्यक्तिले नै योगाभ्यासद्वारा सबै भौतिक क्लेशबाट छुट्कारा पाउन सक्दछ ।


श्लोक १८: जब कुनै योगी योगाभ्यासद्वारा आफ्ना मानसिक क्रियाकलापहरूलाई अनुशासित राखेर अध्यात्ममा स्थित हुन पुगेको हुन्छ र सबै प्रकारका भौतिक चाहनाबाट मुक्त हुनपुगेको हुन्छ तब त्यस योगीलाई योगमा स्थापित भएको मानिन्छ ।


श्लोक १९: जसरी हावा नलागेका ठाउँमा दिपक डगमगाउँदैन त्यसै गरी मनलाई वशमा राखेका योगी दिव्य अध्यात्मको ध्यानमा स्थिर रहन्छ ।


श्लोक २०-२३: जुन अवस्थामा योगाभ्यासद्वारा मानिसको मन भौतिक, मानसिक क्रियाबाट पूर्णरुपमा नियंत्रित हुन्छ, यही अवस्थालाई समाधि वा सिद्धिको अवस्था भनिन्छ । यसमा मानिसले शुद्ध मनले आफैलाई देख्न सक्दछ, स्वाद लिनसक्दछ र आफैमा आनन्दित हुन सक्दछ । यही नै पूर्णताको संकेत हो । त्यस आनन्दमय स्थितिमा ऊ आफ्ना दिव्य इन्द्रियहरूद्वारा अथाहा दिव्य सुखको अनुभूति गर्न सक्दछ । यसरी स्थित भएको मनुष्य कहिल्यै पनि सत्यबाट डग्दैन । यो सुख प्राप्त भएपछि उसलाई अरू कुनै प्रकारको सुखले आकर्षित गर्नै सक्दैन । यस्तो स्थितिमा अवस्थित हुन पुगेपछि मानिस ठूलाभन्दा ठूला कठिनाइहरूमा पनि विचलित हुँदैन । यो निःसन्देह भौतिक संसर्गका कारणले उत्पन्न सबैखाले दुःखहरूबाट हुने वास्तविक मोक्ष हो।


श्लोक २४: मनुष्य दृढ सङ्कल्प लिएर श्रद्धासाथ योग अभ्यास गर्नमा लागोस् र त्यस पथबाट विचलित नहोओस् । उसले आफ्नो कल्पनाबाट उत्पन्न सबै प्रकारका इच्छाहरू पनि त्याग गरोस् अनि यसरी मनको सहयोगद्वारा सबैतर्फबाट इन्द्रियहरूलाई वशमा राखोस ।


श्लोक २५: विस्तारै पूर्ण आत्मविश्वासपूर्वक बुद्धिका माध्यमद्वारा क्रमशः समाधिमा स्थिर होस् अनि यसरी मनलाई अध्यात्ममा स्थिर गराओस र अरू सबै सोच्न बन्द गरोस् ।


श्लोक २६: मन चन्चल र अस्थिर स्वभावको भएका कारणले जता जता डुल्न पुग्दछ त्यसलाई त्यता त्यताबाट तानेर आफ्नो वशमा ल्याउनुपर्दछ ।


श्लोक २७: जुन योगीको मन ममा स्थिर रहेको छ त्यसले निश्चय नै परम सुखको सर्वोच्च स्थिति प्राप्त गर्दछ । त्यो योगी रजोगुणभन्दा माथि उठेको हुन्छ । त्यसले परमात्मासँग रहेको आफ्नो गुणात्मक एकताको वोध पनि गर्दछ । यसरी त्यो योगी आफ्ना पूर्वजन्मका सबै प्रकारका कर्मफलबाट मुक्त हुन्छ ।


श्लोक २८: यसरी लगातार योगाभ्यासमा लागिरहने आत्मसंयमी योगी सबैखाले भौतिक कल्मषबाट मुक्त भई भगवानको दिव्य प्रेमाभक्तिमा रहेर पूर्ण सुखको परम अवस्था प्राप्त गर्दछ ।


श्लोक २९: एउटा वास्तविक योगीले सबै जीवहरूमा मलाई देख्दछ र ममा नै सबै जीवहरूलाई देख्दछ । आत्मदर्शन गरेको व्यक्तिले निःसन्देह मलाई नै सर्वत्र विद्यमान परमेश्वरका रूपमा देख्दछ ।


श्लोक ३०: जसले सबै ठाउँमा मलाई देख्दछ र सबैलाई मैमा देख्दछ, उसका निमित्त न म कहिल्यै अज्ञात हुन्छु न त मेरा लागि ऊ अज्ञात हुन्छ ।


श्लोक ३१: जुन योगी मलाई र परमात्मालाई एउटै हुन् भन्ने ठानेर भक्तिपूर्वक परमात्माको सेवा गर्दछ त्यो सधैँभरि ममा नै विराजमान रहन्छ ।


श्लोक ३२: हे अर्जुन ! जसले आफ्नो आत्मासँग तुलना गरेर सबै प्राणी तथा तिनीहरूका सुख र दुःखलाई वास्तविक समानभावले देख्नसक्दछ त्यो नै मात्र पूर्ण योगी हो ।


श्लोक ३३: अर्जुनले भने - हे मधुसुदन ! तपाईंले संक्षेपमा वर्णन गर्नुभएको यो योगपद्धति चञ्चल र अस्थिर मन भएका कारणले मेरा लागि अव्यवहारिक लागेको छ ।


श्लोक ३४: हे कृष्ण ! यो मन चञ्चल छ, स्वेच्छाचारी छ, हठी तथा अति बलवान् छ । यसलाई वशमा गर्नु हावालाई वशमा राख्नु जस्तै कठीन छ भन्ने मलाई लागेको छ ।


श्लोक ३५: भगवान् श्रीकृष्णले भन्नुभयो - हे महाबाहु ! चञ्चल मनलाई वशमा राख्न कठिन छ भन्ने कुरामा कुनै सन्देह छैन तर हे कुन्तीपुत्र ! अभ्यास र वैराग्यद्वारा यसलाई वशमा राख्न सकिन्छ ।


श्लोक ३६: जसको मन अनियन्त्रित छ, उसका लागि आत्मसाक्षात्कार भनेको कठिन कार्य हुनजान्छ । तर जसको मन संयमित छ र जो प्रयासशील पनि छ उसको सफलता निश्चित छ । यो मेरो मत हो ।


श्लोक ३७: अर्जुनले भने - हे कृष्ण ! जो प्रारम्भमा श्रद्धापूर्वक आत्मसाक्षात्कारको विधि ग्रहण गर्दछ तर पछि भौतिक प्रभावले गर्दा विचलित भएर योग सिद्धिबाट वञ्चित हुनपुग्दछ त्यस्तो असफल योगीको के स्थिती हुन्छ ?


श्लोक ३८: हे महाबाहु कृष्ण ! भगवद्प्राप्तिको मार्गबाट च्यूत भएको व्यक्ति आध्यात्मिक तथा भौतिक दुवै सफलताबाट वञ्चित पो हुने हो कि ? ऊ कतै छिन्नभिन भएको बादल जस्तै नष्ट हुने त होइन ? के उसलाई कुनै लोकमा ठाउँ मिल्न सक्ला ?


श्लोक ३९: हे कृष्ण ! हजुरबाहेक मेरो यो सन्देह हटाउन सक्ने अरू कोही छैन तसर्थ मेरो जिज्ञासालाई पूर्णतया हटाइदिनुहुन हजुरसँग मेरो अनुरोध छ ।


श्लोक ४०: भगवानले भन्नुभयो - हे पृथापुत्र ! कल्याण कार्यमा लागिरहने योगीको विनाश यस लोकमा पनि हुँदैन र परलोकमा पनि हुँदैन । हे मित्र ! असल काम गर्नेलाई खराब तत्त्वबाट कहिल्यै पराजित हुनु पर्दैन ।


श्लोक ४१: असफल योगी पवित्र आत्माहरूको लोकमा अनेक वर्षसम्म निवास गरेपछि सदाचारी पुरुषका परिवारमा वा धनवानका कुलमा जन्म लिन पुग्दछ ।


श्लोक ४२: या त्यो व्यक्ति त्यस्तो योगीको कुलमा जन्म लिन्छ जो निकै बुद्धिमान् हुन्छ । निश्चय पनि यस्तो जन्म संसारमा दुर्लभ छ ।


श्लोक ४३: हे कुरुनन्दन ! यस्तो जन्म पाएपछि त्यस व्यक्तिले आफ्नो पूर्वजन्मकै दैवी चेतनालाई पुनः प्राप्त गर्दछ । अनि उसले पूर्ण सफलता प्राप्त गर्ने उद्देश्य लिएर फेरि अघि बढ्ने प्रयास गर्दछ ।


श्लोक ४४: आफ्नै पूर्वजन्मको दैवी चेतनाका गुणले गर्दा नचाहेर पनि ऊ आफैँ योगमार्गतिर आकर्षित हुन पुग्दछ । यस्तो जिज्ञासु योगी शास्त्रीय सिद्धान्तभन्दा माथि पुग्दछ ।


श्लोक ४५: समस्त कल्मषहरूबाट शुद्ध भएर उत्तरोत्तर प्रगति गर्ने कार्यमा गम्भीरतापूर्वक लागेको योगी अनेकौं जन्मको कठिन अभ्यासपछि सिद्धि प्राप्त गरेर परमलक्ष्यमा पुग्न सफल हुन्छ ।


श्लोक ४६: योगी तपस्वी र ज्ञानीभन्दा पनि ठूलो हुन्छ र सकामकर्मी (फलको इच्छा राखेर काम गर्नी) भन्दा पनि महान् हुन्छ, त्यसैले हे अर्जुन ! सबै परिस्थितिमा तिमी योगी बन।


श्लोक ४७: सबै योगीहरूमध्ये पनि जुन योगी अत्यन्त श्रद्धालु छ, जो सदा ममा शरणागत छ, जसले आफ्नो अन्तःकरणमा मेरै चिन्तन गरिरहन्छ, जो मेरो दिव्य भक्तिमा संलग्न छ त्यो नै घनिष्ट रूपले योगमा मसँग संयुक्त हुन्छ त्यो नै परमयोगी हो। यो मेरो विचार हो।